बानपामा कुकुर पाल्न दर्ता अनिवार्य


खेमराज गौतम, बागलुङ

बागलुङ नगरपालिकाले छाडा कुकुर, सामुदायिक कुकुर र घरपालुवा कुकुरहरुको व्यवस्थापनका लागि तगारुकताका साथ काम थालेको छ ।

बागलुङ नगरपालिकाले कुकुरलाई रेबिज विरुद्धको खोप प्रदान गर्ने, छाडा कुकुरहरु नियन्त्रण गर्न बध्याकरण गर्ने, घरपालुवा कुकुरहरुको तथ्याङ्क संकलन गर्ने, दर्ता गर्ने र निःशुल्क औषधी उपचार र परामर्श दिन थालेको हो ।

नगरपालिकाले नगरभित्रको समस्याका रुपमा रहेको छाडा कुकुरलाई व्यवस्थापन गर्न कुकुर व्यवस्थापन कार्यविधि समेत निर्माण गरेको छ ।

नगरपालिकाले घरपालुवा तथा सामुदायिक कुकुर व्यवस्थापन कार्यविधि २०७९ अनुसार कुकुर दर्ता, खोप तथा छाडा कुकुरलाई पाल्नका लागि कुकुर होस्टेल निर्माण र शव व्यवस्थापन गरिने भएको छ । जस अनुसार कुकुर दर्ता र खोप कार्यक्रम शुरु भएको छ भने चालु आर्थिक वर्षमै कुकुर होस्टेल स्थापना गरिनेछ ।

नगरपालिकाले चालु आर्थिक वर्षका लागि छाडा कुकुर नियन्त्रणका लागि कुकुरलाई होस्टेल निर्माण गर्न रु. १५ लाख बिनियोजन गरेको छ ।

नगरपालिकाले आर्थिक वर्षको पहिलो दिनबाटै कुकुर व्यवस्थापनका लागि घरपालुवा कुकुरहरुलाई अनिवार्य दर्ता गर्न थालेको छ ।

घरपालुवा कुकुरलाई दर्ता संगै भिटामिन, रेबिज र अन्य रोगको खोप प्रदान गर्न थालेको छ भने घरधनीलाई कुकुर दर्ता प्रमाणपत्र प्रदान गर्न थालिएको छ ।

बागलुङ नगरपालिकाको पशु सेवा शाखाका प्रमुख मित्रलाल सापकोटाका अनुसार कुकुर दर्ताका लागि रु. २०० तिर्नुपर्ने र नविकरणका लागि रु. १०० तिर्नुपर्ने र नगरपालिकाले दर्ता भएका कुकुरलाई एक वर्षमा रु. एक हजार भन्दा बढी सेवा सुविधा दिनेछ ।

“घरधनीले नगरपालिकामा लिएर कुकुरलाई दर्ता गर्नुपर्ने हुन्छ, दर्ता गरेको कुकुरलाई एक वर्षमा खोप, उपचार र आवश्यक परामर्श निःशुल्क गर्नेर्छौ, नगरपालिकाले दर्ता भइसकेका कुकुरलाई नगरपालिकाको दर्ता नम्बर सहितको बेल्ट समेत घाँटीमा बाँधेर पठाउछौं” पशु सेवा शाखा प्रमुख सापकोटाले भन्नुभयो “घरपालुवा कुकुर हराएमा खोज्न सजिलो हुनेछ भने छाडा कुकुर भएर कसैलाई टोकेमा घाँटीमा बानीएको बेल्टबाट कुकुरधनी पत्ता लगाउन सहज हुनेछ ।”

सापकोटाका अनुसार घरपालुवा कुकुरहरु स्वास्थ्यका कारण र अन्य कारणले छाडा कुकुर हुन सक्ने संभावना रहेकाले पहिचानका लागि दर्ता गर्न थालिएको हो । नगरपालिकाले कुकुरको घाँटीमा बाँधेको पेटीमा गरिएको संकेतका आधारमा कुकुर धनी पत्ता लगाइनेछ ।

नगरपालिकाले जिल्ला सदरमुकाम रहेको बागलुङ बजारमा छाडा कुकुरको समस्या बढेको भन्दै छाडा कुकुरलाई नियन्त्रणमा लिएर कुकुर होस्टेलमा राखेर पालन पोषण र उपचार समेत गर्ने नगरपालिकाको नीति रहेको छ ।

नगरपालिका भित्र छाडा कुकुरका कारण दुर्घटना बढेको तथा छाडा कुकुरले टोकेका कारण रोग फैलिएको घटना बढ्दै गएका कारण छाडा कुकुरलाई नियन्त्रण गर्न कुकुर होस्टेलमा राख्ने, हेरचाह गर्ने र कुकुर पाल्न चाहनेलाई दिने बागलुङ नगरले नीति लिएको बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

“नगरपालिकाले कुकुर व्यवस्थापन कार्य शुरु गरेको छ, नगरपालिका भित्रको प्रमुख गुनासो कुकुरको समस्या भएकाले कार्यविधि बनाएर कुकुर व्यवस्थापन गर्न थालिएको हो” नगरप्रमुख श्रेष्ठले भन्नुभयो “घरपालुवा कुकुरनै रोगी भएर, मानासिक असन्तुलन भएर लगायतका कारण छाडा कुकुर हुँने भएकाले कुकुरको दर्ता गरेपछि छाडा कुकुर भइसक्दा समेत कुकुर धनीको विषयमा जानकारी लिनका सहज हुनेछ । ”

नगरपालिकाले साउनको सोमबाट कुकुर दर्ता गर्न थालिएको बताउदै पहिलो दिन १२ वटा कुकुर दर्ता गरिएको बागलुङ नगरपालिकाको पशु सेवा शाखाले जानकारी दिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *