सम्पादकीय
देशमा कहिले के, कहिले के ? अनेकन विपद्, महामारी, समस्या र प्रकोपबाट नेपाल र नेपाली आक्रान्त हुँदै आएका छन् । मौसम सिजन बदलीसँगै अनेकन किसिमका रोगव्याधीको प्रकोप देखिन्छ । चाहे त्यो गर्मी मौसममा होस् या जाडो मौसममा । सिजनल रुपमा देखा पर्ने रोगहरुले नेपालमा प्रकोपको रुप लिने र जसका कारण कैयनले अकालमै ज्यान गुमाउनु पर्ने बिबशता बन्ने गरेको छ । तर, यसतर्फ सरकारले समयमै पूर्व तयारी र सचेतता अपनाउने विकल्प हुँदा हुँदै पनि यसमा गम्भिरता देखिन गरेको छैन । यही कारण प्रकोपको रुप लिने र अकालमै ज्यान जाने खतरा आज पनि बिद्यमान छ । नेपालमा पहिलो पटक सन् २००४ मा एक जनामा देखिएको डेंगी अहिले पनि गम्भिर जोखिमको रुपमा देखिएको छ ।
अहिले बर्खायाम सुरु भए सँगै नयाँ रोगको संक्रमण जोखिम छ । पानी लगातार पर्न थालेपछि पछिल्लो समय डेंगी संक्रमण उच्च देखिन थालेको छ । इपिडिमियोलोजी तथा सरूवा रोग नियन्त्रण महाशाखाका अनुसार यही असार २७ गते सम्म एक हजार तीन सय ३७ संक्रमण भएकोमा साउन १ गते सम्म आइपुग्दा संख्या बढेर दुई हजार नौ सय ३० जनामा डेंगीको संक्रमण देखिएको छ । यसपटक कोशी प्रदेशमा संक्रमण बढेको छ । कोशी प्रदेशमा एक हजार सात सय ४६, बागमती प्रदेशमा चार सय ६८, सुदूरपश्चिम प्रदेशमा दुई सय ७९, गण्डकी प्रदेशमा दुई सय ६९, लुम्बिनी प्रदेशमा एक सय ३४, कर्णाली प्रदेशमा १८ जना र मधेस प्रदेशमा १६ जनामा संक्रमण देखिएको छ । जिल्लागत रुपमा हेर्दा १० जिल्लामा बढी संक्रमण छ । सबभन्दा बढी सुनसरी जिल्लामा एक हजार पाँच सय ७१, धादिङमा दुई सय ५६, दार्चुलामा एक सय ८८, कास्कीमा एक सय ४९, संखुवासभामा ५८, काठमाडौंमा ४६, कन्चनपुरमा ३९, भक्तपुरमा ३५, छिमेकी जिल्ला म्याग्दीमा ३५ र झापामा ३२ जनामा डेंगीका बिरामी भेटिएका छन् ।
डेंगी लामखुट्टेको टोकाइबाट लाग्ने रोग हो । लगातार परिरहेको पानीले गर्दा सरसफाइमा ध्यान नपुग्दा पानी जम्ने र जमेको पानीमा लामखुट्टेका लार्भा बढ्न थालेर संक्रमण दिनानुदिन बढिरहेको छ । यो अहिले मात्र होइन, हरेक वर्ष यसैगरी देखिन्छ यस समयमा । तर, सरकार यस्तो जोखिम र खतरा सहज रुपमा समाधान नियन्त्रण गर्नमा पूर्ववत तयारी र सचेतताका साथ लाग्दैन । डेंगीबाट बच्नका लागि सधैं झुल टाँगेर मात्र सुत्न, खेतबारीमा काम गर्दा लामो बाहुला भएको लुगा लगाउन, घरको झ्याल ढोकामा जाली हाल्ने लगायतका सचेतता अपनाउनु अपरिहार्य छ । अहिले १० जिल्लामा डेंगीको समस्या बढी देखिरहँदा अरु जिल्ला यसको सम्भावित जोखिमबारे कुनै चासो र गम्भिरता नदेखाउने समस्या छ । जसका कारण अरु धेरै जिल्लामा संक्रमण र प्रकोपको भयाबह फैलिने खतरा हुन्छ । रोग या संक्रमण सर्वत्र फैलिनु भन्दा अगाडि नै आवश्यक सचेतता, तयारी गरिनु पर्छ । यस दायित्वका निम्ति सरकार, सरोकारवाला निकाय कसैले पनि कञ्जुस्याई र बेवास्ता गर्नु हुँदैन ।