सुुन्तला खेतीबाटै चिनिएको मरेक


आदर्श अनलाइन, म्याग्दी

म्याग्दीको बेनी नगरपालिका–३ मरेक सुन्तला उत्पादनको हिसाबले निकै उत्कृष्ट स्थान हो । साविकको भकिम्लि गाविसको मरेक क्षेत्र पहिल्यै देखि सुन्तला उत्पादन हुने गर्दथ्यो । पछिल्लो समय उक्त क्षेत्रमा व्यवसायीक सुन्तला खेती गर्ने क्रम अझै बढ्दो छ ।

बेनी नगरपालिकाकी कृषि शाखाकी प्रमुख अधिकृत आकृति ढुंगानाका अनुसार गत वर्ष मरेक क्षेत्रबाट मात्रै ८६ मेट्रिक्टन सुन्तला बिक्री भएको थियो । बेनी नगरपालिका क्षेत्रमा सुन्तला उत्पादनको पकेट क्षेत्रको रुपमा रहेको बेनी नगरपालिका–३ को राखु, मरेक र बालम, वडा नं. ४ को बास्कुना, थामडाँडा हुन् । त्यस क्षेत्र मध्ये उच्च पहाड पर्ने मरेक तथा राखु म्याग्दी जिल्लाको सुन्तला उत्पादनका हिसाबले पुरानो क्षेत्र हो ।

अहिले मरेक क्षेत्रमा मात्रै १४ हजार भन्दा बढी सुन्तलाका बोट रहेको बताउनुहुन्छ मरेकका सुन्तला कृषक बिरबहादुर थापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष समेत रहेका थापाले सुन्तला उत्पादन भएको खण्डमा बजारको समस्या नहुने भएकाले पनि गाउँमा सबैले सुन्तला खेती तर्फ ध्यान दिएको बताउनुहुन्छ । थापाको बगानमा रहेका पाँच सय मध्ये एक सय ८० बोटले अहिले फल दिने गरेका छन् ।

गत वर्ष सुन्तला विक्रीबाट दुई लाख २० हजार रुपियाँ आर्जन गरेको बताउनुहुन्छ मरेकका अर्का कृषक कर्णबहादुर सुवेदी । सुवेदीको बगानमा कागती तथा सुन्तला गरी ८ सय बोट रहेका छन् । बेनी–थामडाँडडा–मरेक हुँदै डोले जोड्ने सडक निर्माणको क्रममा उहाँका ५० बोट सुन्तला नष्ट भएको कारणले उत्पादन कम भएको उहाँको भनाई छ । सुन्तला उत्पादन दिने राम्रा बोट सडकले मासियो तै पनि गत वर्ष ७० रुपियाँ प्रतिकिलो बेच्दा पनि राम्रै पैसा समातेको थिएँ उहाँले भन्नुभयो ।

बालम तथा मरेक क्षेत्रमा गरी १२ हजार बढी सुन्तलाको बोट लगाइएको छ । उक्त क्षेत्रमा प्रत्येक घरमा सुन्तलाको बोट छन् । कतिपयले उत्पादन दिने भए पनि कोही नयाँ छन् । पाँच देखि ८ वर्षबाट उत्पादन दिने सुन्तलाले लामो समय सम्म फल दिने भएकाले पनि सुन्तला खेती उत्कृष्ट व्यवसायका रुपमा लिन सकिन्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *