सुनको खतरानक ‘सेटिङ’ र संरक्षण

सम्पादकीय

सामान्य नागरिक जो विदेशमा रेमिट्यान्सका लागि पुगेका छन्, उनीहरुले एक दुई थान मोवाइल लगायतका सामान ल्याउँदा पनि जाँचपड्ताल गरेर रोक्ने भन्सार र बिमानस्थलमा क्वीन्टल क्वीन्टल सुन कसरी नेपाल भित्रिन्छ ? बाह्य देशबाट अवैध रुपमा सामानहरु भित्राउने जालो कसको र कस्तो छ ? त्यसमा कति खतरानक सेटिङ हुन्छ ? भन्सार कर कसरी छली हुन्छ ? राज्य बिरुद्धको संगठित अपराधजन्य कार्यमा खुलेआम लाग्नेहरु किन अनुसन्धान र कारबाहीको दायरामा आउँदैनन् ? यदि कोही पक्राउ पर्दा पनि किन राज्यले अनेकन तर्क बितर्क गरेर संरक्षणमा उत्रिने दुस्साहस गर्छ ? यी र यस्ता गम्भिर प्रश्न र सवाल नेपाली समाजमा यतिबेला जल्दोबल्दो रुपमा उठेको छ । यसमा वर्तमान सरकारले केही सुशासनको सुरुवात गर्न सफल भएको छ । यद्यपि, त्यो कदम प्रयाप्त भने छैन । बेथितिले जकडिएको देशमा भ्रष्टाचार, कमिसनको खेल रोक्न सरकार मात्रको एकल पहल र प्रयासले सम्भव भने छैन ।

अहिले झण्डै एक क्वीन्टल सुन भन्सारबाट नेपाल भित्रिएको घटनाले पुरा देश तरंगित छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको जाँच पार गरेर निकालिसकेको अवस्थामा यति ठुलो परिणामको सुन बरामद हुनु प्रहरी अनुसन्धान र सक्रियताका हिसाबले महत्वपूर्ण उपलब्धि हो । तर, यहाँ सम्म कसरी भित्राइयो ? यस घटनामा कोको सम्लग्न छन् ? यसको कति ठुलो सञ्जाल छ ? कहिलेदेखि यस्तो दुस्साहसले निरन्तरता पाइरहेको थियो ? यी र यस्ता अनगिन्ती प्रश्न र विषय बहसमा छ । बरामद सुन मंगलबारको क्याथे फ्यासिफिकको उडानमार्फत काठमाडौं आएको थियो । हङकङबाट आएको सुन भारततर्फ तस्करी गरेर लैजान लागिएको आशंका गरिएको छ । मोटरसाइकल र स्कुटरको ब्रेक शुभित्र लुकाएर ल्याएको सुन बुधबार भन्सार जाँच पास गरेर अपराह्न २ बजे कटेको सूचना राजश्व अनुसन्धान विभागसम्म पुगेको थियो । त्यसपछि विभागले गरेको कारबाहीमा ठूलो परिमाणमा सुन बरामद भएको हो ।

नेपालको भन्सार जाँच कति गम्भिर सेटिङमा चलिरहेको रहेछ ? यो घटनाक्रमले सबै उदांगो बनाइदिएको छ । भन्सार जाँच पास भएर सिनामंगल पुगेको सुनबारे भन्सार विभाग र विमानस्थल भन्सार कार्यालयले अब जनतालाई यसबारे जरुर प्रष्ट पार्नुपर्नेछ । हुन त २०७४ सालमा चुडामणि उप्रेती ‘गोरे’ नेतृत्वको समूहले यूएईबाट ९ माघ २०७४ मा ल्याएको ३३ किलो सुन हराएको थियो । खोजीका क्रममा भरिया सनम शाक्य मारिएपछि सुरु भएको अनुसन्धानपछि गम्भीर मोड लिएको थियो । ८ पुस २०७९ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले जाँचका क्रममा एक जना सुडानी नागरिकको साथबाट १९ किलो सुन बरामद गरेको थियो । यो नै विमानस्थल स्थित भन्सारले समातेको सबैभन्दा ठूलो परिमाणको सुन थियो । यी र यस्ता अनुसन्धानहरु क्रमशः फितलो बन्ने, घटनामा सम्लग्नहरु कारबाहीको दायरामा नआउने र माथिल्लो तहबाटै सेटिङ र संरक्षण हुँदै आएको छ । अहिलेको घटना पनि त्यही नियति भोग्ने अवस्थामा नपु¥याइओस् । यसका लागि सरकारले अहिले भ्रष्टाचार बिरुद्ध थालेको कदमलाई थप प्रभावकारी बनाउनु पर्छ । सुनकाण्डमा जुनसुकै स्तरको व्यक्ति भए पनि संरक्षण होइन, कडा कारबाही गर्न सक्नुपर्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *