दुदिलाभाटीमा पुल बनेपछि एक घण्टाको यात्रा १० मिनेटमा


खेमराज गौतम, बागलुङ

बागलुङ जिल्लाको गलकोट नगरपालिका–१ दुदिलाभाटीमा गलकोट क्षेत्रकै लामो र अग्लो झोलुङ्गे पुल निर्माण सम्पन्न भएको छ ।

दुदिलाभाटी स्थित मध्यपहाडी लोकमार्गको काफालठुटादेखि गौदी गाउँ जोड्ने गरी मान्द्रेखोलामाथी २२७.२ मिटर लामो झोलुङ्गे पुल निर्माण गरिएको हो ।

निर्माण कम्पनीले समयमै काम नसक्दा निर्माण आयोजनाहरु अलपत्र परिरहेको सन्दर्भमा काफालठुटादेखि गौदी जोड्ने मान्द्रेखोलाको झोलुङ्गे पुल ठेक्का सम्झौता मिति भन्दा ६ महिना अगावै निर्माण सम्पन्न भएको छ ।

सस्पेन्सन वृजि डिभिजन कार्यालय काठमाण्डौ अन्र्तगत स्थानीय पूर्वाधार आयोजना कार्यालय कास्की संग २०७९ असार १५ गते बिएलपी कन्ट्रक्सन संग १८ महिनामा निर्माण सक्नेगरी ठेक्का सम्झौता भएकोमा ६ महिना अगावै निर्माण सम्पन्न भएको हो ।

रु. एक करोड २५ लाख लागतमा निर्माण गरिएको पुल असार मसान्तमै सकिएर हस्तान्तरणको तयारीमा पुगेको स्थानीय पूर्वाधार आयोजना कार्यालय कास्कीका इन्जिनियर निरज सापकोटाले जानकारी दिनुभयो ।

“१८ महिनामा सक्नुपर्ने काम एक वर्षमै सकियो, समयमै भुक्तानी गर्न सकेको भए अझ पहिलै सकिन्थ्यो, सम्झौता भन्दा अगावै निर्माण सक्नु सकरात्मक पक्ष हो” सापकोटाले भन्नुभयो “पुल निर्माण भएपछि गौदी हुँदै दुदिलाभाटी बजार, वडा कार्यालय पुग्न सहज हुने भयो, पुल अन्तिम प्राविधिक मुल्याङ्कनपछि हस्तान्तरण गरिने छ ।”
सापकोटाका अनुसार ‘डि’ टाईप मोडेलमा निर्माण भएको उक्त झोलुङ्गेपुलको उचाई ६० मिटर अग्लो रहेको छ ।

गलकोट नगरपालिका भित्र २२७ मिटर लामो झोलुङ्गे पुल पहिलोपटक निर्माण भएको हो ।
साविक दुदिलाभाटी गाउँको तीन वटा वडाका स्थानीयहरुलाई वडा कार्यालय जान, भाटी बजार पुग्न र वडाकार्यालय र भाटी बजारकालाई मध्यपहाडी लोकमार्गमा आउन सहज भएको स्थानीय धना खत्रीले बताउनुभयो । खत्रीका अनुसार पैदल यात्रुलाई काफलठुटा हुँदै, चाउथेखोला, मान्द्रेखोला तरेर गौदी पुग्न एक घण्टा लाग्नेमा पुल निर्माणपछि १० मिनेटमै पुग्न सकिने छ ।

“नगरपालिका भएपनि खोलाका कारण साविक दुदिलाभाटी गाविसकोे तीन वटा वडाका जनतालाई वडा कार्यालय जान एक घण्टा भन्दा बढी लाग्दथ्यो, हालैमात्र पुल बनेपछि सहज भएको छ, दुदिलाभाटीका जनता अब जिल्ला सदरमुकाम जान झोलुङ्गे पुल मार्फत सोझौ मध्यपहाडी लोकमार्ग आउने सक्नेछन्” खत्रीले भन्नुभयो “झोलुङ्गे पुल बनेपछि एक घण्टाको दुरी १० मिनेटमा छोट्टीएको छ, पुल मात्रै वारपार गर्न भने दुई मिनेट मात्रै लाग्नेछ ।” पाँच वर्षदेखिको अनवरत प्रयास र पहलपछि पुल निर्माण गर्न सफल भएको गलकोटका समाजसेवी ललिता थापाले जानकारी दिनुभयो । उहाँले पाँच वर्ष अघिदेखि झोलुङ्गे पुल निर्माण गर्न पहलभइरहेपनि अहिले मात्रै आएर जनताको माग अनुसार पुल निर्माण गर्दा यहाँका स्थानीय खुसी भएको बताउनुभयो ।

“मध्यपहाडीसंग छुटेको गाउँलाई झोलुङ्गे पुलले जोडेर सहज भएको छ, जिल्ला सदरमुकाम जानलाई यहाँका स्थानीयहरुको एक घण्टाको यात्रा छोटो भएको छ” थापाले भन्नुभयो “झोलुङ्गे पुल निर्माण संगै स्थानीयलाई स्वास्थ्यचौकी, विद्यालय र वडा कार्यालय आउ–जाउ गर्न सहज भएको हो ।”

झाँक्रीस्थान, काफलठूटा र चौराह लगायतका गाउँका स्थानीयहरुलाई दुदिलाभाटी बजार पुग्न सहज भएको छ । पुल निर्माण सम्पन्न भएको र साउन दोस्रो हप्ता प्राविधिक मुल्याङ्कन पछि हस्तान्तरण गरिने पुल निर्माणको जिम्मा पाएको निर्माण कम्पनी बिएलपी कन्ट्रक्सनका तीर्थाराम खड्काले जानकारी दिनुभयो । उहाँले पुल निर्माण सम्झौता मिति भन्दा छ महिना अघिनै सम्पन्न भएको जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *