वन्यजन्तु, विनाश र विकल्प

सम्पादकीय
पछिल्लो समय देशको प्रमुख समस्या मध्येमा देखिएको छ बन्यजस्तु संरक्षण । वन्यजन्तुको यथोचित संरक्षण, रेखदेखमा गम्भिरतापूर्वक नसोच्दा त्यसले थुप्रै मानवीय क्षति बेहोर्नु परिरहेको अवस्था बिद्यमान छ । चाहे त्यो बाँदर जंगल छोडेर घर घर, खेतबारीमा आएर सताउने, बिनाश गर्ने समस्या होस् या बाघ, चितुवा लगायतका वन्यजन्तु गाउँ घरमा पसेर मान्छेहरुलाई आक्रमण गर्ने, ज्यान लिने घटना होस् । पछिल्ला दिनमा यी र यस्ता घटना बढ्दो क्रममा देखिन थालेको छ । जसको समाधान, व्यवस्थापनमा समयमै नलाग्ने हो भने त्यसले भोलिका दिनमा मानिसले थुप्रै क्षति बेहोर्नु पर्ने र जनजीवन भयभित बन्ने खतरा छ । मान्छे र वन्यजन्तु बीच थप द्धन्द्धको अवस्था सिर्जना भई थप क्षति हुने जोखिम छ ।

मानव वन्यजन्तुको द्धन्द्धको खतराका बिच शनिवार विश्व बाघ दिवस मनाइयो । दिवसका दिन पनि यही विषयमा ज्यादा चर्चा, चासो, चिन्ता र बहस केन्द्रित भयो । हुन पनि बाघ दिवसको यसवर्षको यो नारा नै तय गरिएको थियो ‘मानव–बाघ सहअस्तित्व’ । कारण मानव र बाघ बिचको बढ्दो द्धन्द्ध र त्यसको सही तबरले व्यवस्थापनमा जोड दिने ध्येय हो । अहिले बाघको संख्या वृद्धि भएको छ । यो सँगै थपिएको बाघको व्यवस्थापन र बढ्दो मानव–बाघ द्वन्द्वलाई व्यवस्थापन गर्ने चुनौती छ । सन् २०२२ मा गरिएको राष्ट्रिय बाघ गणना अनुसार नेपालमा हाल बाघको संख्या तीन सय ५५ पुगेको छ । सबैभन्दा धेरै बाघ चितवन राष्ट्रिय निकुञ्जमा एक सय २८ वटा र बर्दिया राष्ट्रिय निकुञ्जमा एक सय २५ बाघ थिए । साथै बाँकेमा २५, पर्सामा ४१ र शुक्लाफाँटामा ३६ वटा बाघ पाइएको विभागको तथ्यांक छ ।

वन्यजन्तु मानिसहरुको क्रियाकलापबाट जे जसरी असुरक्षित बनिरहेका छन्, उस्तै असुरक्षा र खतरा वन्यजन्तुबाट मानिसहरुलाई पनि बढेको छ । बाघकै आक्रमणको अवस्था हेर्ने हो भने नेपालमा पाँच वर्षमा ५८ जनाको मृत्यु भएको छ । हात्ती, बाघ, गैँडा, चितुवा, भालु, जंगली कुकुरलगायतका वन्यजन्तुको आक्रमणबाट पछिल्लो पाँच वर्षमा दुई सय मानिसको मृत्यु भएको तथ्यांक छ । साथै क्षतिपूर्तिवापत सरकारले ६० करोडभन्दा बढी रकम बेहोरिसकेको छ । वन्यजन्तुले मानिसलाई घाइते बनाउने, बालीनाली, घर, गोठको क्षतिलगायत घटना पनि बढ्दो क्रममा देखिन्छ । यी घटनालाई बिश्लेषण गर्दा मानव–वन्यजन्तु द्वन्द्व बढ्दो गतिमा देखिन्छ । यसको रोकथामका लागि जंगल वरपरका समुदायलाई जंगल नपस्ने गरी जीविकोपार्जनको विकल्प दिनुपर्ने, स्थानीयको वन्यजन्तुप्रति गर्ने व्यवहारमा परिवर्तन गर्नुपर्ने जरुरी देखिएको छ । अहिले बागलुङमै पनि जैमिनी नगरपालिकाले बाँदर पार्क, बागलुङ नगरपालिकाले प्राणी उद्यान (जुलोजिकल पार्क) बनाउने योजना अघि बढाएको छ । यो कदम बढ्दो मानव बन्यजन्तु द्धन्द्ध समाधानका लागि सकारात्मक छ । तर, यतिले मात्र समाधान हुने अवस्था देखिदैन । अतः वन्यजन्तुको वासस्थान, आहराको राम्रो व्यवस्थापन गरेर वन्यजन्तु गाउँघरमा नआउने, स्थानीय बासिन्दालाई पनि वैकल्पिक आयआर्जनमा प्रोत्साहित, जैविक प्रणालीमा सन्तुलन कायम गर्न तर्फ तीन तहको सरकारले योजनाबद्ध तयारी गर्न आवश्यक छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *