सुन तस्करमा संम्लग्नता, संरक्षण र सरकार

सम्पादकीय
पछिल्लो समय सुन काण्डले देश तरंगित छ । १ सय किलो भन्दा बढी सुन विमानस्थलबाट पास भएर पनि बाहिरिसकेको अवस्थामा काठमाण्डु सिनामंगलबाट पक्राउ गरियो । राजश्व अनुसन्धान विभागको पहलमा ठुलो मात्रामा सुन बरामद गरिए पछि यसको जालोको खोजी थालिएको छ । यति ठुलो परिणामको सुन अवैध बाटोबाट आयात गरिनुका पछाडि कुनै एक दुई व्यक्तिको मात्र सम्लग्नता कदापि छैन । त्यो पनि तल्लो स्तरका कर्मचारी, प्रहरी जवान मात्रैको आँट र सम्लग्नताले पनि सम्भव छैन, हुँदैन । नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारको साहसिक कदम र अनुसन्धानबाट वाहवाही मिलिरहँदा सुन तस्करमा पनि एक सफलता मिलेको छ । भलै सरकारको कडाई दृढताले यो सफलता मिलेको हो कि तस्करहरुको कमिसनको भागबण्डा नमिल्दा सूचना प्राप्त हुने अवस्था आएको हो ? यो प्रश्न र संशय कायमै छ ।

सुन काण्डमा ठुलो मात्रामा बरामद गरिए सँगै थुप्रै उच्च पदस्थ कर्मचारी, व्यवसायी, राजनीतिक नेतृत्व समेत मुछिन थालेका छन् । प्रहरीले अनुसन्धानको दायरा फराकिलो बनाउँदै जाने क्रममा तिब्बतीमुलका बेल्जियन नागरिक दावा छिरिङ पक्राउ परेका छन् । उनीसँग माओवादी नेतृत्वकै साठगाठ रहेको समाचार र तस्विरहरु यतिबेला सामाजिक सञ्जालहरुमा भाइरल बनिरहेका छन् । जुन विषयलाई लिएर अब सरकारले सुन तस्करको अनुसन्धानलाई विषयान्तर गर्छ या थप कडाइका साथ कदम चाल्छ ? माओवादी नेतृत्वको सरकारको कठिन अग्नी परीक्षाको घडी आएको छ । सुन तस्करीको प्रकरणमा प्रहरीले अनुसन्धानका क्रममा १० जनालाई पक्राउ गरिसकेको छ । यद्यपि, बरामद गरिएको सुनको मालिक को हो भन्ने अझै खुलिसकेको छैन । यसरी सुन तस्करी हुँदा एक केजीमा नेपालले १२ लाख राजश्व गुमाउँदछ । पछिल्लो ९ वर्षमा मात्रै ६ सय ६० केजी अबैध सुन बरामद भएको छ । जसमा ७ सय ६ जना पक्राउ परेका छन् । अवैध सुन बरामदबाट ४ अर्ब रुपैयाँ भन्दा बढी राजश्व संकलन भएको छ । यसअवधिको पनि आर्थिक वर्ष २०७४, ७५ मा सबै भन्दा धेरै अबैध सुन बरामद गरिएको छ ।

सरकारले सञ्चालन गरेको भ्रष्टाचार, बेथिति र अनियमितता विरोधी अभियान मुलुकमा अपरिहार्य अभियान हो । भ्रष्टाचार, कमिसन, अनियमिताले देशको अर्थतन्त्र र विकास थिलथिलो बनिरहेकाले अब यस बिरुद्ध सबैको आवाज बुलन्दित हुन जरुरी छ । अहिलेको सुन तस्कर जे जसरी गर्ने प्रयास गरिएको छ । त्यो हेर्दा राजनीतिक संरक्षण बिना असम्भव प्रायः देखिन्छ । विगतमा पनि यस्ता घटना र सम्लग्नता देखिएकाहरु पक्राउ नपरेका होइनन् । तर, यसरी पक्राउ पर्नेहरु भरिया र सामान्य व्यक्तिहरु फस्ने गरेका छन् । मुख्य ठुला व्यक्तिहरु सम्म प्रहरी अनुसन्धान नै पुग्न सकिरहेको छैन । त्यसैले अहिलेको अनुसन्धानले पनि त्यही नियतिमा बिट नमारोस् । खास तस्कार, त्यसका संरक्षकहरु सबैको असली मुकुण्डो सरकार उतार्न सक्षम र सफल हुनै पर्दछ । भ्रष्टाचार, तस्करी, अनियमितता जस्ता अपराधमा संलग्न कसैलाई कुनै पनि बाहनामा उन्मुक्ति दिनु हुँदैन । तस्करी र अपराधीको कुनै पार्टी र नाता हुन्न भन्ने हेक्का सरकार, सरोकारवाला र सर्वसाधारण सबैले राख्नु पर्दछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *