शिवशरण ज्ञवाली
चकमन्न अँध्यारोमा पनि चौपारीमा झलमल्ल उज्यालो थियो । म कतैबाट आएर त्यहाँ बस्न पुगें । शरीर पसिनाले निथु्रक्क भिजेको थियो । हातका औंलाले निधारको दाहिनेतिरबाट पसिना पुछ्दै देब्रेतिरबाट तरर खसालें । गोजीमा रुमाल रहेनछ । अरुको जस्तै मेरो पनि यो रुमाल बारम्बार हराउँछ । हुस्सु ! आफ्नो हुस्सुपनप्रति आफैलाई दिक्क लाग्छ ।
मनले भन्यो, ‘काठमाडौँ जस्तो भीड भाडमा पनि चौपारी पाउनु आफैमा रोचक संयोग हो ।’ म चौपारीमा सुस्ताइरहेको बेला अचानक ऊ आइपुग्यो । ऊ निकै सानो छ, मभन्दा करिबकरिब तीस वर्ष कान्छो ! अर्थात ऊ दश वर्षको छ । ऊ पनि त्यस्तै घुसुवा हो । घुस्नु उसको बानी हो । उसको पनि नाम जानी राख्नु आवश्यक छैन । घुसुवाले मलाई भन्यो, ‘सर ! तपाईंले मेरा कथा व्यथा कहिले कहनुहुन्छ ?’
उसले ‘सर’ सम्बोधन गर्दा मैले कताकता असजिलो महसुस गर्दछु । ऊ त मेरो छोराको उमेरको छ । अंकल (आजकाल सबै अंकल न हो) वा बा भनेको भए पनि हुन्थ्यो । ए बुढाबा ! भनेको भए पनि नसुहाउने के थियो र ? तैपनि उसले चित्त राखिदिने गरी सर भनिदियो । मैले आफूलाई जवान नै पाएँ । उसले थप नरोकिकनै भन्यो, ‘तपाईंले आफ्नो वर्गको मात्रै कथा लेख्नुहुन्छ । के म बिना तपाईंका कथा पूर्ण होलान् ?’
उसको प्रश्नले म हतप्रत हुन्छ । हो त उसका पनि आफ्नै कथा छन् । ऊ बिना मेरा कथा पूर्ण हुँदैनन् । उसले थप्यो, ‘तपाईंको विद्यार्थी जीवनका कथा भन्नुस् त ?’ मैले सोधें, ‘तिम्रो पनि कथाव्यथा छ र ?’ उसले भन्यो, ‘ओहो ! सर तपाईंलाई थाहा छैन । म पनि यही समाजको पात्र हुँ नि ! म तपाईंसँग सहकार्य गर्ने मान्छे हुँ नि । मेरा कथा हुँदैनन् । पहिला म तपाईंका सानाका कथा तपाईंकै मुखबाट सुन्न चाहन्छु ।’
मलाईं उसले मेरो कथा सोध्यो । मैले कथा भन्नैपर्ने भो । मैले भने, ‘बाबु ! म पाँच वर्षभएपछि स्कुल गएको हुँ । मलाई तिमीलाई जति यति धेरै पढ्नुपर्ने थिएन । नपढे पनि पुग्थ्यो । पढे पनि पुग्थ्यो ।’ मेरो कुरा सुनेर ऊ खित्का छाडेर गलल्ल हाँस्यो । मैले आफ्नो कथा भन्नैप¥यो, ऊ हाँसे पनि । हाँस्नु त विद्यार्थी चरित्र हो । सामूहिक चरित्र !
हामी एक घन्टा हिडेर स्कुल जान्थ्यौँ । तिम्रो जस्तै दैलामा गाडी लिन आउँदैनथ्यो । बाका गोजीबाट कहिलेकाही दश पाँच रुपैयाँ चोरेर काला राता मिठाइ पनि किनेर खान्थ्यौँ । बाका गोजीबाट चोरे पनि पसलबाट भने हामीले कहिल्यै चोरेनाैँ। तर मिठाइको स्वाद नसकिदैं हामीले चुटाइ पनि खान्थ्यौँ, चोरीको आरोपमा । चुटाइले दुई चार दिन साधु बन्थ्यौँ । चुटाइको जोड बिस्तारै कम हुँदै गए पछि फेरि हामी चोर बन्थ्यौँ । चोर र साधु हामीमा थियो । तिमीहरुजस्तो असल थिएनाँै हामीहरु ।
हाम्रा झोला खासै हुँदैनथे । बाटोमा भेटिएका मानिसहरुलाई सम्बन्ध अनुसार अभिवादन गर्नु, बाटोमा फलेका खन्यु, ऐसेलु, काफल आदि मौसम अनुसारका फलफूलहरु टिपेर खानु, फल टिपेर त्यो टिप्ने क्रियाका बारेमा एकछिन घोरिनु, बोक्रा नछोडाइकन मुखले तान्नु, स्कुलमा अबेर पुग्नु यी हाम्रा दैनिकी हुन् । समयमा पुगियो भने चर्को चर्को स्वरमा प्रार्थना गीत श्रीमान् गम्भीर नेपाली….’ गाउँथ्यौँ । पुगेनौँ भने सरका लठ्ठी खाए पनि सरासर कक्षामा जान्थ्यौँ । प्रार्थना गीत भट्टयाउनु पर्दैनथ्यो ।
सरहरु कक्षामा घन्टी बज्नेबित्तिकै आउनुहुन्छ भन्ने थिएन । दश पन्ध्र मिनेट सरहरुले पनि आराम गर्नुप¥यो । सरहरुले थोरै पढाउनुहुन्थ्यो । बाुब तिमीहरुका जति किताब थिएनन्, हाम्रा । हामी जति साना थियौँ उति थोरै किताब थिए ।
हामीले सर्प भनेर किताबका सर्प चिनेका होइनौँ । बाटोमा हिड्ने सर्प चिनेका हौँ । बाटोमा हिड्दा अचानक देखेर दौडेर भागेका हौँ । कहिलेकाही घाँस काट्दा पनि भेटेर भाग्यौँ । सर्प र मान्छेको लडाईंमा कहिले सर्पले कहिले मान्छेले जित्थ्यो । हामी कहिले जित्थ्यौँ । कहिले हाथ्र्यौँ । आँट चाहिन्थ्यो सर्प मार्ने ! मा¥यौँ भने विजयीभावमा भारी बोकेर घर आउँथ्यौँ ।
‘के तपाईंहरुका पाला डाक्टर इन्जिनियर पाइलट बन्नु पर्ने थिएन ?’ उसले बीचमा प्वाक्क सोध्यो । बीचमा प्वाक्क बोल्दा मलाई रिस नउठेको होइन । तर ऊ विद्यार्थी हो नि ! विद्यार्थीले सोध्दा सर रिसाउनु हुँदैन । त्यसैले मैले धैर्यतापूर्वक जवाफ दिदैं भने, ‘थियो नि ।’
तर आजकाल जस्तो चार कक्षा पनि नपढ्दै बन्नु पर्ने थिएन । बन्दाबन्दै के बनिन्छ ? टुंगो हुँदैनथ्यो । म त लोफर थिएँ । केही बनिन । तर बन्नेहरु बनें । त्यही स्कुल पढेर त्यति नै किताब पढेर डाक्टर पनि बनें । इन्जिनियर पनि बनें । प्राध्यापक पनि बनें । सचिव उपसचिव पनि बनें ।
हेर बाबु ! यसपालि मैले हरि सरलाई भेटें । उहाँ मलाई पढाएको सर हुनुहुन्थ्यो । हटिया बजारमा एकछिन रमाइलो पनि ग¥यौँ । पहिलाको कुरा सम्झेर ! सरले उतिबेला मलाई तँ भन्नुहुन्थ्यो । आजकाल तपाईं पो भन्नुहुँदो रहेछ । मलाई अप्ठ्यारो पो लाग्यो । सरलाई मैले सोधें, ‘सर हाम्रो पालाको पढाइ कति सजिलो थियो है ?’ सरले भन्नुभयो, ‘हो नि ! यत्रो दुःख गर्न नपर्ने !’ सरले थप्नुभयो, ‘म त एक कक्षा पढाउँछु भनेर गएको यो होमवर्कले हैरान पार्दो रहेछ । विद्यार्थीहरुले होमवर्कका खातमाथि खात पो लाइदिए ।’
पछि कुनै भेटमा सरले भन्नुभयो, ‘म थाकें । मैले एक कक्षा छाडिदिएँ ।’ मैले उतिबेलै भनेथे, ‘सर ! हजूर त माथिबाट तलतल पो झर्नु भएछ ।’ एकछिन हामी गुरुचेला हाँस्यौँ । अनि हाम्रो बेलाको स्मरण ग¥यौँ । मैले भने, ‘हामी त एकबजेपछि घर हिड्थ्यौँ नि है । हाम्रो पढाइ त एकबजेसम्म त हो नि !’ गुरुले भन्नुभयो, ‘हो त त्यति पढेर पनि पुग्दो रहेछ त !’ मैले गुरुलाई सम्झाएँ । पढाउन पनि सजिलो पढ्न पनि सजिलो ।
होमवर्क त कहिले पो गरियो र ? नगरे पनि हुँदो रहेछ है । हामीलाई दुई तीन थरी भाषाको झन्झट पनि थिएन । एउटै भाषाले पनि जीवन त चल्दो रहेछ । गुरुले भन्नुभयो, ‘मस्तले चल्छ ।’ मैले गुरुलाई भने, ‘दाइले अंग्रेजीमा दश कक्षामा ३२ नम्बर ल्याउनुभएको हो । जस्ट पास । तर पछि दाइ अंग्रेजीको भाषाको एकताक किङ नै बन्नुभयो ।’ अङ्ग्रेजीका पछि दौडिरहन पर्ने पनि केही रहेनछ ।
हेर बाबु ! आजकाल विद्यार्थीहरु अनुशासनका नाममा पिजरामा थुनिएका छन् । अरुको आदेशबिना पानी पनि खाँदैनन् । लाइन तलमाथि पार्नु पाइदैन । फूल फुलेको हेर्न पाइदैन । गुलाफको फूल टिपेर च्यातेर बाटोभरि फाल्न पाइदैन । कापीका पाना पनि एटुजेड
राख्नुपर्छ । हामी त अग्लाअग्ला रुखबाट पनि फाल हाल्थ्यौँ । किम्बु, काफल, खल्टुक केही बाँकी राखेनौँ । कापी किताब टुट्थे । फुट्थे । च्यातिनथे ।
तिम्रो शहरमा आजकाल एभोकाडो आएको छ । अम्बाका बोट उखेलेर एभोकाडो रोपिदै छ । यो कहिले फल्छ ? यसको स्वाद कस्तो हुन्छ ? भनिदैं छ यो स्वास्थ्यलाई राम्रो रे ! के अम्बा नराम्रो हो र ? पक्का पनि होइन । अम्बा अब साउनदेखि मंसीरसम्म पाक्छ । पाकेको पाक्यै । पाकेको पाक्यै । हरेक वर्ष भरपूर फल्नु यसको विशेषता हो । यसको फाइदा कसैले प्रचार गरिरहनुपर्दैन ।
हाम्रा किताबै थिएनन् । जम्मा सातवटा किताब थिए । तिनका अतिरिक्त किताब थिएनन् । पढेर सकियो भने राम्रै हुन्थ्यो । सकिएन भने पनि बित्ने केही थिएन । व्याकरण वा ग्रामर थिएन । रोजर पढ्न पाइन्थ्यो । आजकाल तिमीहरुका कथा विछट्टैका छन् । तिमीहरुलाई स्वतन्त्रता छैन । लाइनमा हिड्नुपर्छ । हामी त लाइनमा कहिल्यै हिडेनौँ । किताब पनि कति पढ्छौँ बाबु ? थकाइ लाग्दैन तिमीहरुलाई ?
ऊ चुप्प बस्यो । बाबु ! म त लोफर हुँ । खास पढ्न ढंग भएको मान्छे होइन । ढंग भएका मान्छेहरुले मेरै पालाकाले धेरैधेरै पढें । उनीहरु आज पनि उत्तिकै अब्बल छैन । मैले उनीहरुलाई किताब र अक्षरमा नाप्ने गरेको छैन । परीक्षाफलमा कहिल्यै नापिएन । उनीहरुको कर्ममा नाप्ने गरेको छु । कर्ममा को कति सफल छ र को कति असफल छ ? त्यसमा हेर्ने गरेको छु ।
हाम्रो पाला प्रकृति गज्जबको किताब थियो । साउनमा मूल फुट्दै गरेको हामी हाम्रै आँखाले प्रत्यक्ष देख्थ्यौँ । सुकेको पनि देख्थ्यौँ । साउने पानी मूल हेर्न हामी दौड्नथ्यौँ । खोला सुसाएका आवाज हामी किताबमा होइन । स्वयं देख्थ्यौँ । बाघ भालुसँग डराएर हामी ठूलोठूलो स्वरमा गीत गाउँथ्यौँ । त्यसरी गीत गाउँदा नजिक आएको बाघ भालु पनि भाग्थ्यो । बाघले बाख्रा, गाई खाएको प्रत्यक्ष देखेका छौँ । बाघसँग जम्काभेट नौँलो भएन ।
त्यही भएर न हामी नेपाली हौँ । त्यसकारण गर्दा हामी संसारको चाहे त्यो इराक होस् या अफगानस्तान या बहराइन या युएइ वा स्वदेशमै किन नहोस् जुनसुकै ठाउँमा पनि हामी श्रम गर्न तयार छौँ । खटिन तयार छौँ । तिमीलाई त्यो अवसर आउँछ भनेर म भन्न सक्दिन ।
हरि सरलाई एउटा गज्जबको संयोग मिल्यो । उहाँ मेरो पनि गुरु । मेरो छोराको पनि गुरु । सरले मेरो छोरालाई निकै माया गर्नुभएको छ । मलाई त यस्तो माया गर्नुभएन । तर छोरालाई माया गरिदिंदा मेरा आँखा रसाएका छन् । बाबु ! ऊ आमाबाउको काखमा छैन । तर मलाई ती सर म्याडमहरुको काखमा छाडेर आउँदा आफ्नै काखमा छ जस्तो लाग्छ । हरि सरको काख !
हामी स्कुलबाट पनि भाग्यौँ । कहिले खुदो किन्न त कहिले काफल खान त कहिले भलिबल खेल्न भाग्यौँ । टाढाटाढा पनि पुग्याँै, यस्ता कामका लागि । सरका चुटाइ पनि खायौँ । माया पनि पायौँ । खुदो किनेर फर्कदा ग्यालिनका बिर्कामा खन्याउँदै खाँदै गरेर घर आइपुग्दा आधा लिटर घटाइदिन्थ्यौँ । भारी बोकेर घाँस दाउरा पनि ग¥यौँ । यी सबै कथा भए बाबु ।
आजकाल तिम्लाई हिड्न छैन । दैलोमा बस आइपुग्छ । पानीमा भिज्न छैन । बोटबाट भाँचेर ल्याइ मकै पोलेर खाने फुर्सद छैन । करेसाबारी टेक्ने फुर्सद छैन । त्यसैले तिमी वेफुर्सदी छौँ । किताबकापीको भारीले च्यापिएका छौँ । मलाई तिम्रा बेकामे आधा किताब च्यातेर फालिदिन मन छ । तिम्रो झोला हल्का गराइदिन मन छ । तर म सक्दिन बाबु । म विवश छु । कसलाई के मन लाग्छ त्यही थोपरिएको छ, तिमीमाथि । माफ गर !
त्यसैले तिमीलाई यो मुलुकभन्दा पराइ मुलुक प्यारो लागेको हो । दोष तिम्रो होइन । हाम्रो हो । हामी दोष पहिचान गरेर सच्चिदाका दिन सबै ठीक हुनेछ । तिमी देश बनाउन लाग्नेछौँ ।
मलाई नचाहिने किताब पढाउन मन छैन । तर के गर्नु ? समाज त्यतै दौडिरहेछ । त्यसैले म तिम्रा कथा भन्न सक्दिन । म मेरै कथा भन्छु । चौपारीमा उज्यालो बढ्दै गयो । बिजुली बत्तीको उज्यालो घट्दै गयो । घसुवा कता हरायो कुन्नि ? म त बिस्तारामा पो रहेछु ।