राष्ट्रिय गौरवका आयोजनामा ठेकेदारको लापरवाही, वर्षौँ बित्दा पनि भएन काम पूरा

डम्मर बुढा मगर, बागलुुङ
बागलुङ तीन वटा मुख्य राजमार्गले जोडिएको छ । पूर्व–पश्चिम जोड्ने मध्यपहाडी लोकमार्ग, चिन–भारत जोड्ने कालिगण्डकी कोरिडोर र तराई–पहाड जोड्ने सालझण्डी–ढोरपाटन सडकले जिल्लाका अधिकांश पालिका जोडिन्छन् । बरेङ गाउँपालिका, ताराखोला गाउँपालिका र तमानखोला गाउँपालिका बाहेक सात वटा पालिकामा यि मुख्य सडक पुगेका छन् । तर मध्यपहाडी लोकमार्ग बाहेक अन्य सडकमा गाडी कम गुड्छन् । अरबौँ लगानीमा निर्माण भएका कालिगण्डकी कोरिडोर र सालझण्डी–ढोरपाटन सडक अहिलेसम्म पनि पूर्ण रुपमा स्तरोन्नती हुन सकेका छैनन् ।

स्तरोन्नती नभएका सडकमा जोखिम मोलेर कसैले पनि यात्रा गर्दैन । मध्यपहाडी लोकमार्गले बागलुङको पूर्वी सिमाना मालढुङ्गादेखि पश्चिम सिमाना पातीहाल्नेसम्म जोडिएको छ । यस सडकमा बाह्रै महिना देशको राजधानी काठमाडौँ लगायतका ठूला सहरबाट यातायात संचालन हुन्छ । यस सडकलले जिल्लाको बागलुङ नगरपालिका, ढोरपाटन नगरपालिका, गलकोट नगरपालिका, काठेखोला, बडिगाड र निसीखोला गाउँपालिका गरि छ वटा पालिका जोडिएको छ । उत्तर दक्षिण जोड्ने कालिगण्डकी कोरिडोरले जैमिनी नगरपालिका र बागलुङ नगरपालिका जोडिएको छ । यो सडकमा स्थानीय गाडी मात्रै चल्छन् । ठूला सहरहरुबाट गाडी आउँदैनन् ।

सालझण्डी–ढोरपाटन सडकले निसीखोला गाउँपालिका र ढोरपाटन नगरपालिका जोडिन्छ । यस सडकमा पनि ठूला सहरबाट गाडी संचालन भएका छैनन् । मध्यपहाडी लोकमार्गको अब करिब १२/१४ किलोमिटर सडक कालोपत्रे हुँन बाँकी छ भने सालझण्डी–ढोरपाटन स्तरोन्नतीका लागि सरकारले ६२ करोड विनियोजन गरे पनि अहिलेसम्म निर्माण कम्पनीले काम गरेको छैन । नेपालको एक मात्रै सिकार आरक्षण ढोरपाटन जोड्ने सडकको दुरावस्था छ । कालिगण्डकी कोरिडोरको बागलुङ खण्ड अन्तरगत करिब ३२ किलोमिटर पर्छ । अहिले यस खण्डमा काम भइरहेको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले बताउनुभयो ।

शर्माले राष्ट्रको गौरवको आयोजनाका काम तीव्र गतिमा नहुँदा हजारौँ नागरिकले समस्या भोग्नु परेको बताउनुभयो । वि.सं. २०७३ मा खुलेको कोरिडोरको ट्रयाक अहिले बल्ल स्तरोन्नती हुन थालेको छ । समयमा योजनाको काम नसकिदा व्यापारीक केन्द्रबाट चल्नु पर्ने गाडी चल्न नसेकेको उहाँको भनाइ छ । कालिगण्डाकी कोरिडोर कालोपत्रे भएर निरन्तर संचालनमा आए बागलुङबाट बुटवल पुग्न झण्डै दुई घण्टाको दूरी छोटिने उपप्रमुख शर्मा बताउनुहुन्छ ।

“कोरिडोर दुई तीन देश मात्रै जोड्ने सडक नभएर व्यापारी सडक पनि हो, यो सडक संचालनमा आए भारतबाट सिधै बागलुङमा सामान ढवानी गर्न सकिन्थ्यो, बुटवल, भैरवाह लगायत तराइका व्यापरीक केन्द्रमा पुग्न पोखरा पुग्नु पर्ने थिएन” उपप्रमुख शर्माले भन्नुभयो – “कोरिडोर हुँदै बुटवल पुग्न पोखरादेखि भन्दा यताबाट झण्डै दुई घण्टा छोटो हुन्छ, अहिले काम भइ रहेको छ, निरन्तर यातायात संचालन हुन थाल्यो भने यो सडकले बागलुङको मुहार फर्ने छ ।”

मध्यपहाडी लोकमार्ग बागलुङ खण्डमा १४२ किलोमिटर पर्छ । त्यस मध्य अधिकांश क्षेत्रमा कालोपत्रे भए पनि काठेखोला खण्डमा काम हुन सकेको छैन । ट्रयाक खुलेको साढे दुई दशक बढी हुँदा पनि सडक स्तरोन्नती हुन नसक्दा लोकमार्गमा यात्रा गर्ने हजारौँ यात्रुले सास्ती खेप्नु परेको काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाले बताउनुभयो । यो सडकमा हरेक दिन दर्जनौँ साना ठूला गाडी गुड्ने गरेको भन्दै सडक साँघुरो र अप्ठ्यारो हुँदा दुर्घटना जोखिम पनि उत्तिकै बढेको अध्यक्ष थापा बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ – “निर्माण कम्पनीलाई धेरै पटक समयमा काम सक्नका लागि हामीहरुले आग्रह ग¥यौँ तर कुनै पनि सुनुवाइ नभएपछि अहिले ठेक्कानै टोडिएको सूचना आएको छ, राष्ट्रिय महत्वको आयोजना यसरी अलपत्र जस्तो छ, सडकका कारण धेरैले बसाइँसराइ गर्न बाध्य भए, हिउँदमा धुलो र बर्खामा हिलोले गर्दा काठोखोला क्षेत्रका नागरिक आजित बनेका छन्, सम्बन्धित कानियलाई पनि ध्यानाकर्ष कराइरहेका छौँ ।”

सालझण्डी–ढोरपाटन सडक बागलुङ खण्डमा गंगरेदेखि ढोरपाटनसम्म ६१ किलोमिटर पर्छ । गुल्मी खण्डमा कालोपत्रे गर्ने ठेक्का लगाइएको छ भने अर्घाखाँची खण्डमा १३ किलोटिर पिच भएको छ । यस सडकलाई यस वर्ष ४० करोड रुपैयाँ विनियोजन भएको थियो । ढोरपाटन नगरपालिकाका नगर उपप्रमुख धनबहादुर कायत (कल्याण) ले घरै अगाडि सडक भए पनि स्थानीयले सहज रुपमा प्रयोग गर्न नपाएको बताउनुभयो । ढोरपाटन प्राकृतिक रुपले सम्पन्न भए पनि सडकका कारण पर्यटकले सास्ती खेप्नु परेको कायतले बताउनुभयो ।

उहाँले निर्माण कम्पनी र आयोजना कार्यालयलाई काम तीव्र गतिमा अगाडि बढाउन आग्रह गरे पनि सुनुवाई नभएको बताउनुभयो । केन्द्रीय आयोजना हुँदा नगरपालिकाले काम गर्न नसकेको भन्दै सडकलाई सहज नबनाएसम्म नागरिकले दुःख पाइराख्ने उहाँको भनाइ छ । हिउँदमा धुलो र बर्खामा हिलोले आजित हुनुको साथै साँघुरो सडक हुँदा यात्रा जोखिमपूर्ण हुने गरेको कायत बताउनुहुन्छ ।

“दिनदिनै ढोरपाटनमा पर्यटका आउने गर्छन्, सडकको अवस्था देखेर निरास भएर फर्किन्छन्, निर्माण कम्पनीले समयमै काम नगर्दा यसको असर स्थानीय र पर्यटकलाई परेको छ,” उहाँले भन्नभयो – “हामीहरु भन्दाभन्दा हैरान भयौँ, जनताले नगरपालिकाले सडक बनाएन छन्, यो सडक बनाउने अधिकार हामीलाई छैन, पर्यटकीय गन्तव्यका रुपमा उत्कृष्ट रहेको ढोरपाटन सडकका कारण पछाडि परेको छ, यसको विकासका लागि हाम्रो अधिकारी प्रयोग गरेर काम गर्न गरि रहेका छौँ, तर सडकको दुरावस्थाका कारण गरेको काम पनि ओझेलमा परेको छ ।”

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *