अवैध संरचनामा डोजर चलाउदै बागलुङ नगरपालिका


आदर्श अनलाइन, बागलुङ

बागलुङ बजारलाई व्यवस्थित बनाउन अव्यवस्थित रुपमा राखिएका पसल, होर्डिङ बोर्ड, ठेला र पोके व्यवसाय हटाएको बागलुङ नगरपालिकाले बिहिबारबाट अवैध संरचनामा डोजर चलाउन थालेको छ ।

बागलुङ नगरपालिकाले सडक मापदण्ड विपरित बनार्ईएका संरचनाहरु भत्काउन थालेको हो । नगरपालिकाले बिहिबार बागलुङ नगरपालिकाको कार्यालय परिसरकै पर्खालमा डोजर लगाएर अवैध संरचना भत्काउन शुरुवात गरेको छ । सडक मापदण्ड नपुग्ने भन्दै बागलुङ नगरपालिकाले आफ्नै कार्यालय र कृषि ज्ञान केन्द्र बागलुङको पर्खाल भत्काएको हो ।

बागलुङ बजारको सौन्दर्यिकरण र व्यवस्थित गर्ने कार्य सन्दर्भमा बजार क्षेत्रमा मापदण्ड विपरित रहेका अवैध र अव्यवस्थित संरचना हटाउने कार्यको थालनी गरेको बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठले जानकारी दिनुभयो । “नगरपलिकाले बागलुङ बजार व्यवस्थापन कार्यविधि निर्माण गरेर बजार व्यवस्थापन समिति समेत गठन गरेको छ, समिति, जनप्रतिनिधि, प्राविधिक तथा कर्मचारी र नगरप्रहरीलाई सहयोग गरी हाम्रो नगर राम्रो नगर बनाउन सवैको साथको अपेक्षा गरेको छु” नगरप्रमुख श्रेष्ठले भन्नुभयो “मापदण्ड विपरितका संरचनामा प्राविधिक मुल्याङ्कन गरी भत्काउन थालिएको हो, नगरपालिकाले अहिले अव्यवस्थित ठेला, पोके व्यवसायलाई हटाइसकेको छ, बजार शौन्दर्यकरण र व्यवस्थित हाम्रो पहिलो प्राथमिकता हो ।”

सडक मापदण्ड अनुसार बागलुङ बजारको ट्राफिक चोकदेखि धौलागिरी अस्पताल गेटसम्म ९ मिटर सडकको मापदण्ड कायम भएपनि मापदण्ड नपुगेको संरचनाहरु भत्काउन थालिएको इन्जिनियर त्रिलोचन गिरीले बताउनुभयो ।

तर बागलुङ बजारका भित्री सडकहरु न्यूनतम ४ मिटर कायम गरिएको छ भने त्यो बाहेक आधा मिटर सेट ब्याक छोड्नु पर्ने गिरीको भनाई छ । गिरीले घरधनीले छोड्नु पर्ने सेटव्याक मिचेको पाइएकोमा भत्काउन थालिएको बताउनुभयो ।

पालिकाले बुद्युत कार्यालय गेटदेखि होटल दि राजनसम्मको सडक चक्लाउन मापदण्ड विपरितका संरचनाहरु भत्काएको छ । सडकलाई मापदण्ड अनुसार बनाउने भन्दै सडक छेउमा रहेको पर्खाल, अव्यवस्थित सामाग्री तथा बाहिरी कम्पाउण्ड पर्खाल तथा कुना भत्काइएको पालिकाले जनाएको छ ।

बजारको सौन्दर्य निर्माण गर्ने, सडक दुर्घटना न्यूनिकरण गर्ने लगायतका उद्धेश्य राखि मापदण्ड विपरितका घर, टहरा र पर्खाल लगाएको संरचना भत्काउने अभियानलाई निरन्तरता दिने बागलुङ नगरपालिकाले जनाएको छ ।

पालिकाले अन्य व्यक्ति तथा संस्थालाई त्यस्ता मापदण्ड विपरितका संरचना हटाउन साउन मसान्तसम्मको समयावधि दिएको छ । साउन मसान्तसम्ममा नहटाएमा पालिका स्वयम आफैले भत्काउन बाध्य हुने भन्दै सूचना जारी गरेको छ । पालिकाले त्यस्ता सडक मापदण्ड विपरितका संरचनामा प्राविधिक टोली सहित रातो क्रस चिन्ह लगाउन थालेको छ ।

ति चिन्ह लगाईएको संरचना भत्काउन सम्बन्धित व्यक्ति तथा संस्थालाई शुरुमा पत्रचार गरिने र नभत्काए पालिकाले आफै भत्काउने जनाएको छ । बागलुङ नगरपालिकामा १२२ वटा घरहरु समत मापदण्ड विपरित रहेको पाइएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *