व्यवस्थित बजार, अपरिहार्य अभियान

सम्पादकीय
देश बनेन भनेर गुनासो गर्नेमा अधिक युवा पुस्ता छन्, बागलुङ बजार र समग्र जिल्ला समृद्ध बनेन भन्ने गुनासो गर्नेहरु पनि अधिक संख्यामा छन् । तर, साँच्चिकै विकास, परिवर्तन, सुधार र समृद्धिका लागि काम गर्नेहरु पनि निकै कम संख्यामा छन् । सत्कर्म सत्प्रयास नगर्ने मात्र होइन, त्यस्ता कदमको विभिन्न बहाना र विषयान्तर गरेर अवरोध, विरोध र आलोचना गर्ने गराउने संख्या पनि थुप्रै छन् । जसका कारण समाज र देशको दीर्घकालीन विकासमा महत्वपूर्ण योगदान भूमिका र अर्थ हुँदा हुँदै पनि त्यस्ता कामबाट जबरजस्त पछि हट्नु पर्ने अवस्था पनि छ । विगतमा कैयन पटक मुलुकको दीर्घकालीन हितका खातिर महत्वपूर्ण निर्णय र कदमहरु चालिए पनि बिभिन्न स्वार्थ समूहको अवरोध र आलोचनाका कारण पछि फर्कनु परेका दृष्टान्त पनि छन् । आफ्नो सत्ता र नेतृत्व हुँदा एउटा र अर्काको नेतृत्व हुँदा अर्कै व्यवहार र कार्यशैली अपनाउने खराब मनोवृत्ति पनि विकास र समृद्धिको बाधक हो ।

अहिले बागलुङ नगरपालिकाले एक वर्षीय कार्यकालका समीक्षा पश्चात केही दीर्घकालीन महत्व राख्ने कदम चाल्न थालेको छ । जुन नगरको विकास, परिवर्तन र सुधारका लागि अपरिहार्य कदम हो । बागलुङ बजारलाई व्यवस्थित बनाउन अव्यवस्थित रुपमा राखिएका पसल, होर्डिङ बोर्ड, ठेला र पोके व्यवसाय हटाउने अभियान थालेको छ । नगरपालिकाले बिहीबारदेखि अवैध संरचना भत्काउन समेत कदम चालेको छ । बागलुङ नगरपालिकामा १२२ वटा घर मापदण्ड विपरित रहेको पाइएको छ । बागलुङ नगरपालिकाको कार्यालय परिसरकै पर्खालमा डोजर लगाएर अवैध संरचना भत्काउन शुरुवात गरेको छ । बागलुङ बजारको ट्राफिक चोकदेखि धौलागिरी अस्पताल गेटसम्म ९ मिटर सडकको मापदण्ड कायम भएपनि मापदण्ड नपुगेको संरचना भत्काउन थालिएको छ । बागलुङ बजारका भित्री सडकहरुमा भने न्यूनतम ४ मिटर कायम गरिएको छ । त्यो बाहेक आधा मिटर सेट ब्याक छोड्नु पर्नेछ ।

बागलुङ नगरपालिकाको पहिलो एक वर्षे कार्यकाल पछि फर्किएर हेर्ने हो भने उति साह्रो उत्साहजनक र अपेक्षाकृत छैन । दुई युवा मेयर र उपमेयर हुँदै गर्दा जुन नगरबासीको आशा, अपेक्षा र उत्साह थियो, त्यो वर्ष दिन बित्दै गर्दा सम्म धेरै निराशामा बदलेको छ । त्यसैले पनि बागलुङ नगरपालिका र नेतृत्वलाई तत्काल र दीर्घकालीन महत्व राख्ने अर्थपूर्ण काम गर्नुपर्ने चुनौती र दबाब छ । सायद यसको भाव बुझेको नगरपालिकाको नेतृत्वले अहिले बागलुङ बजार व्यवस्थापन कार्यविधि निर्माण गरेर सडक मापदण्डको परिपालना, फुटपाथ व्यवस्थित र यसका लागि अवैध संरचना हटाउनु नगरको सकारात्मक कदम हो । हुन त यी र यस्ता अभियानहरु अपरिहार्य हुँदा हुँदै पनि अनेक तनाव र दबावका कारण विस्तारै हराउँदै जाने खतरा छ । यद्यपि, पालिकालेसडक मापदण्ड विपरितका संरचनामा प्राविधिक टोली खटाएर रातो क्रस चिन्ह लगाउन थालेको छ । ती चिन्ह लगाएको संरचना भत्काउन सम्बन्धित व्यक्ति तथा संस्थालाई शुरुमा पत्रचार गरिने र साउन मसान्त सम्म नभत्काए पालिकाले आफै भत्काउने चेतावनी दिएको छ । यस अनुसार नगर अघि बढ्ने हो भने बजार धेरै व्यवस्थित हुनेछ । यस अभियान जबरजस्त शासकीय मनोवृत्तिबाट भन्दा पनि नगरबासीलाई छलफल, समन्वय मार्फत मनाएरै गराउँदा नेतृत्वको बृहत कौशलता र क्षमता देखिनेछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *