सरोजराज पन्त
एक दिन बाटोमा आफूलाई क्रान्तिकारी भन्नेहरूले साउनमा हरिया चुरा लगाएर हिँड्ने ? भन्ने कुरा सुने । आफूलाई फेमिनिष्ट भन्नेले साउनमा हरियो चुरा लाएर होइन हरियो खाएर स्वास्थ्य राम्रो हुन्छ, चुराले छिमेकीको ब्यापार बढायो, आदि । खासमा हरियो सागसब्जी साउनमा मात्र होइन पाएसम्म सधैं खानुपर्छ र छिमेकीको ब्यापार बढायो । हरियो चुराले मात्र होइन खाद्यान्नदेखि सवारीसाधन, इन्धन, पहिरन हुँदै मच्छड धपाउने धुप र झुलसम्मले बढाइरहेकै छौँ । गहना, सिन्दुर, चुरा, पोते जन्जीर हुन्, स्वतन्त्र जीवन बाँच्न तिनबाट मुक्त हुनुपर्छ भन्नेहरु पनि कम छैनन ।
नेपालमा चर्चा गर्ने गरिएझैँ परिवर्तनलाई फेसनले असर गरेको छ वा छैन । महिलाहरूले हरियो चुरा र रातो सारी लगाएका कारण पितृसत्ताले जरा गाडेको हो वा होइन । के हरिया चुरा लगाउँदैमा महिलाहरू पूर्ण स्वतन्त्र हुन्छन् । स्वतन्त्रता र विचार धारासँग पहिरनको सम्बन्ध छैन । कतिपय अवस्थामा मानिसको सोचको ‘रिफ्लेक्सन’ चाहिँ पहिरनमा देखिन सक्छ । यी वर्तमान नेपाली समाजका बहसका विषय बनेका छन् ।
अहिले विश्वव्यापीकरणको प्रभाव गाउँ शहरमा परिरहेको छ । सामाजिक सञ्जालले जोडिएका विश्वमा यो बेला केही धार्मिक, सांस्कृतिक परम्परा भड्किला, फजुल खर्च जस्ता कार्यले तीब्रता पाएको देखिन्छ । यसको असर साउन महिना देखिन्छ । अहिले हरियो चुरा लगाउने दिदी बहिनीहरुलाई किन लगाउनु भएको भनेर सोध्दा अधिकांशको जवाफ हुन्छ, सबैले लगाउने गरेकाले लगाएको हो । केहीको जवाफ हुन्छ ’साउनमा हरियाली बनाउनको लागि हो ।’ यसैगरी केही महिलाहरु भने ‘पतिको दीर्घायु, सुख र असल पति पाउने’ आस्था र विश्वासमा लगाएको बताउँछन । हरियो चुराले पुरुषको आयु बढ्ने, सुन्दर पतिबाट जीवन सुखमय बन्ने आशमा साउन महिना हरियो चुराको महिमा बढेको तर्क राख्दछन । देशमा खेतीयोग्य हराभरा जमिन दलाली गरी प्लटिङ गरेर पक्की घर, पिच बाटो बनाउने, गाउँको घरजग्गा चटक्क छाडी टिकटकमा रमाउने बजारमा भएको खाली घडेरी समेत बाँझो राखेर एक महिना हातमा हरिया चुराले भर्दैमा हरियाली हुने विश्वास गर्नु पहिचान बनेको छ ।
नेपालमा बहुसाँस्कृतिक, बहुभाषिक, बहुजातीयताको संरचना भएकाले बाह्रै महिना कुनै न कुनै पर्व मनाइन्छ । दशैं सबै हिन्दु, तिहार विशेष दाजुभाइ–दिदीबहिनीको मेलमिलाप, तीज हिन्दु महिला, ल्होछार गुरुङ, शेर्पा, तामाङ, माघी मगर, थारु, छन्त्याल, गौरा पर्व सुदुरपश्चिम, होली दुई फरक फरक दिन पहिलो दिन पहाड–हिमाल, दोस्रो तराईमा, मुस्लिमका लागि रामजन, ईद छँदै पहिलेदेखि मनाउने पर्वहरु हुन् । यी पर्वका अलावा पछिल्लो दशकभित्र साउन महिनाको शुरुसँगै महिलाहरुले हातभरी मेहन्दी र हरिया चुरा लगाउने चलन बढेको छ । ‘पतिको दीर्घायु, सुख, शान्ति र असल पति पाउने’ आस्था र विश्वासमा यो कार्य अगाडि बढेको बताइन्छ । हरियो चुराले पुरुषको आयु बढ्ने, सुन्दर पतिबाट जीवन सुखमय बन्ने आशमा साउन महिना हरियो चुराको महिमा बढेको तर्क राख्ने गरिन्छ ।
यहाँ यसो भन्नु कसैको साँस्कृतिक, धर्म, परम्पराप्रति प्रहार गरेको नभएर संस्कार, परम्परा कताबाट निर्देर्शित छ भनी स्पष्ट हुनु पर्दछ भन्नु हो । अहिले भर्खर चेत खुलेका बालिकादेखि बृद्धासम्मको हातमा हरियो चुरा देखिनु कुनै संयोगमात्र नभै देखासिकी भएकाले किन र कसरी यस्ता कार्य समाजमा अगाडि बढेका छन् भनी अध्ययन गर्न जरुरी भएकाले यो लेख तयार पारिएको छ । अहिले सबै सामाजिक सञ्जालका भित्ताहरु हरियो चुरा लगाएको दिदी–बहिनी, छोरी–बुहारी र श्रीमतीले आफ्ना लागि हरियो चुरा लगाएको भनेर शब्द तथा तस्वीरहरु देखिएका छन् । अहिले हरियो चुरा यस्तो बाध्यकारी बनाइएको छ कि सायद यो नलगाइ नहुने बस्तु हुन । यसो गर्नुमा संस्कारको भूमिका छ वा बजारिकरणको, पुँजी बजारले महिलाहरुबाट आम्दानी गरी धेरै फाइदा लिइरहेको छ ।
के साच्ची हरिया चुरा लगाएमा श्रीमानको आयु बढ्छ ? हरियो चुरा लगाएका कारण कुनै युवतीले ज्ञानी, असल र राम्रो श्रीमान पाउँछिन ? विवाह, श्रीमान–श्रीमतीबीच भावानात्मक सम्बन्ध कसरी अघि बढेको छ भन्ने कुराका निर्धारण के हरियो चुराले गर्न सक्दछ । समाजमा देखिने यी र यस्ता विषयले विस्तारै जरा फैल्याएको छ । विगतमा ‘एक धर्म, एक भाषा, एउटै भेष’ हुँदा सहज हुने गरेको काम अहिले धमिलिएको देखिन्छ । राष्ट्रिय पोशाक दौरा–सुरवाल, चोली साडी आज हराँउदै गएका छन । आफनो संस्कृति, धार्मिक आस्थालाई चटक्क भुलेर भड्किलो जीवन शैलीलाई बढवा दिंदा समाज कहाँ पुग्छ ? यसको लेखाजोखा कसैले र कहिले गर्ने ? यहाँ हरियो चुराको विरोध गरेको नभई यसको समाजशास्त्रको अध्ययन गर्न आवश्यक छ । अहिलेकै गतिमा समाज अगाडि बढे कालन्तरमा गएर यसको प्रभाव कस्तो पर्ला ?
प्राकृतिक रूपमा श्रावण महिनामा जताततै हरियाली हुन्छ । त्यही हरियालीमा रमाएर पार्वतीले महादेवबाट सौभाग्य र खुसी प्राप्त गरेको विश्वास रहेको छ । सोहीअनुसार यो महिनामा विवाहित महिलाले हरियो चुरा, पोते र हातमा मेहन्दी लगाउँदा श्रीमानको आयु बढ्ने जनविश्वास रहर्दै आएको छ । यसैगरी श्रीमान श्रीमतीबिच आत्मीयता बढ्ने र सम्बन्ध झनै प्रगाढ हुने विश्वास गरि यो महिनामा महादेवको पुजा आराधना गरिन्छ । यसैगरी अविवाहित महिलाले व्रत बस्दा मनले चिताएको सबै कुरा पुग्ने र आफूले चाहे अनुसारको पति प्राप्त हुने भनाइ रहेको छ । यस्ता विस्वास रहेता पनि साउनमा हरियो पोते, चुरा र मेहन्दी लगाउनै पर्ने भन्नेबारे हाम्रा धार्मिक ग्रन्थहरूमा कहीँकतै लेखिए र बर्णन गरेको पाइँदैन । त्यसैले यो चलन सर्वशक्तिमान भगवान् शिवको शक्तिको नाममा उनलाई प्रसन्न पार्न पूजाआराधना गर्ने भन्दा प्रकृतिसँग मिल्दोजुल्दो हरियो रङलाई फेसनको रूपमा लिन थालिएको छ ।
हरियो चुरा लगाउने बिषयमा तीनथरी मत देखिन्छन । महिलालाई सुन्दर हुने नाममा पुँजी बजार नियन्त्रण गर्ने काम भएको छ । ‘शिव भक्त’का नाममा जर्वजस्त संस्कृति लादने काम नेपाली समाजमा भएको छ । सनातन धर्म मान्ने महिलावादी, माक्र्सवादी महिलावादी र उत्तर आधुनिक महिला अधिकारकर्मीहरुको यस बारेमा फरक फरक मत राखेका छन् । सनातनहरु शिव भक्तिभावमा हुने हरियो चुरा पहिले नभएको तर अहिले यो पक्षमा देखिन्छन् । माक्र्सवादी नारीवादीहरुले यसको विरोध गरेतापनि व्यवहारमा हरियो चुरा पहिरन पछि पर्देनन् । उत्तर आधुनिक महिलावादीहरुको ‘मेरो स्वतन्त्रता, मेरो रोजाई’मा जोड दिएका छन । माक्र्सवादले महिला सम्बन्धी तीन कुरामा ध्यान दिएको छ । एक, भौतिक तथा सामाजिक पुनर्उत्पादनमा सम्बन्ध, दुई, समाज निर्माण र उत्पादन प्रक्रियामा परिवारले ढाँचा निर्माण, तीन, महिलाहरु भौतिक उत्पादनका साधनबाट वञ्चित भएपछि पारिवारिक परिवेश उनीहरुका लागि उत्पीडन स्थल बन्दै जान्छ । सिमोनको तर्क अनुसार ‘सर्वहारा वर्ग संघर्षको लक्ष्य वर्गका रुपमा स्वयंको विलोप हो । सिमोनले पश्चिममा नारीवादीहरुको भन्दा भिन्न तर्क राख्र्दै नारीका लागि जति श्रृंगार बजारमा आउँछन् तिनले नारीलाई झन् भारी बनाएको पाइन्छ ।
नेपालमा हिन्दू धर्म र ज्योतिष शास्त्रअनुसार हरियो रङलाई बुध ग्रहको प्रतीक मानिन्छ । तसर्थ हरियो रङ धारण गर्दा व्यक्तिको बुध ग्रह बलियो हुने र बुध ग्रह बलियो भएमा सन्तान सुख प्राप्त गर्ने मान्यता रहर्दै आएको छ । मान्छेको बुद्धि, विवेक र समृद्धि बढ्दै आफ्नो क्षेत्रमा सफलता प्राप्त गर्न सक्ने जनविश्वास रहेको छ । चुरा सम्बधि इतिहासको अध्ययन गर्दा मध्यकालमा हिन्दु संस्कृतिको विकाससँगै चुरा पोतेको प्रयोग भएको पाइन्छ । त्यस पछि श्रृगारको महत्व बढेको र विस्तारै संस्कृतिको रूपमा प्रचलनमा आएको भन्ने सम्बन्धित क्षेत्रका विद्वानहरूको तर्क रहेको छ । यो प्रचलन इजिप्टबाट भारत बंगलादेश हुँदै नेपाल आएको मानिन्छ । पृथ्वीनारायण शाहले आफ्नी आराध्यदेवीलाई चुरा पोतेको सौभाग्य चढाउन भारतबाट चुरापोतेका व्यापारीलाई गोरखामा ल्याएको इतिहास छ । त्यसपछि नेपालमा यो चलन बढेको पाइन्छ ।
वास्तवमा हरियो, रातो र पहेलो रंगको शास्त्रीय महत्व रहेको छ । तर अनावश्यक फेसनमा भने सोच्न जरुरी छ । हरियो रङले प्रेम र वातावरणको, रातोले सौभाग्यको तथा पहेलोले पवित्रताको प्रतीकको रूपमा काम गर्दछ । त्यसैले साउनभर हरियो वस्त्र, हरियो चुरा, हरियो पोते र हरियो टिका लगाउने चलनलाई प्रकृतिको सम्मान हो भन्न सकिन्छ । यसैगरी शिवजीलाई पहेलो रंग मन पर्ने भएकाले महिनाभर पहेलो लुगा लगाएर ‘बोल बम’ गाउँदै शिव मन्दिरहरूमा गएर जल चढाउने चलन रहेको छ । वैज्ञानिक दृष्टिले विश्लेषण गर्दा यस महिनामा निरन्तर वर्षा हुने र घरआँगन हिलो, पानीका स्रोत प्रदुर्षित हुने, मौसममा हुने परिवर्तनका कारणले रोगव्याधी बढ्ने गर्दछ । त्यसैले साउन महिनाभर माछामासु नखाई सात्विक भोजन गर्दै सातामा एक पटक व्रत बस्नु स्वास्थ्यका लागि उपयुक्त मानिन्छ । तर हरियो चुराले कसैका श्रीमान अजम्बरी बाँच्न सक्दैन । एक युवतीले भाविश्यमा सर्वगुण श्रीमान पनि पाउन सक्दिनन । यतिबेलाको ‘धार्मिक आस्थाको फेसन’ बनाइएको छ । श्रावणमा हरियो चुरा, पोते तथा पहिरन लगाउने फेसनकै रूपमा प्रचलन बढ्दै गएको छ । यसबाट हरियो चुरालाई श्रृंगारले महिलाको मनोवैज्ञानिक तनाव थपिदिएको छ ।
यसले समाजमा महिला महिलाहरु बीच वर्गको उदय गरिदिएको छ । गाउँघरका दिदीबहिनीहरुले सहरिया हुनेखाने महिलाको जति श्रृंगार देखाउन नसकेमा कसैले ‘विचरा’ कसैले हेपेर ’पाखे’ को उपमा दिने गरेको दुखेको बढर्दै गरेको सुनिन्छ । हुनेखाने महिलाले सबै धर्म संस्कृति, चाडपर्व, परम्परा, रीतिरिवाजलाई आफ्नो पेवा ठानी तडकभडकले मनाउने, जता मन लाग्यो त्यतै मोडने र मनाउनुले हुँदाखानेलाई पिरोली रहेको देखिन्छ । उनीहरूले परम्परा, संस्कृतिप्रति खर्चकै कारण वितृष्णा जागेको गुनासो गर्दछन । कतिपयले धर्म परिवर्तन गर्न समेत बाध्य पनि हुन्छन् । अत ः गरिव देशमा बसेर संस्कारको नाममा विदेशी वस्तु भित्राएर श्रावणमा हरियो चुरा, पोते तथा पहिरन लगाउने फेसन कसरी हाम्रा हितमा हुन सक्दछ ?
निश्कर्षमा हरियो, पहेंलो चुरा, मेहन्दीको चलन हाम्रो परम्परावादी संस्कार होइन । यो आयातित संस्कार भएकोले यो संस्कारमा परिवर्तन गरौं । प्रत्येक वर्ष यस्ता फजुल खर्चले गर्दा विदेश पलायन हुने ‘क्यापिटल फ्लाइट’ लाई रोक्न भन्दा बृद्धि गर्नमा मद्धत मिल्ने भएकाले यस्ता कार्य रोक्न अति जरुरी छ । गरिव देशमा यस्ता आयातित संस्कारले आर्थिक उपार्जनमा थप जटिलता थपिएको छ । स्वदेशी उत्पादन, स्वरोजगार हुने काममा स्रोतसाधनहरूको उपभोग गरी संस्कार जोगाउने काममा लाग्न नसक्दा अब देश थप समस्यामा पर्ने भएकाले ंमहिला दिदीबहिनीहरु आत्मनिर्भर र उद्यमशील बन्न आवश्यक छ ं। वर्तमान आयातित, उपभोगमुखी भन्दा उत्पादनमुखी संस्कृति निर्माणमा जोड दिन र यसलाई निरन्तरता दिंदै परम्परा जोगाउनमा सबैले ध्यान दिउँ ।