लिफ्ट मार्फत जैमिनीको भेडीखर्क गाउँको घर–घरमै धारा


खेमराज गौतम, बागलुङ
बागलुङ जिल्लाको जैमिनी नगरपालिका–१० राङ्खानी भेडिखर्कका ४६ वर्षीय पुष्पा पुनको घरको आगनमा नयाँ खानेपानी धारा निर्माण भएको एक महिना भयो । खानेपानीको लागि अनेक दुख र कष्ट भोग्दै आउनुभएको पुनले लिफ्ट मार्फत गाउँमुनीको पानी घरमै आउपछि सहज भएको बताउनुहुन्छ ।

“वर्खामा घर माथीको समुदायिक धारोमा दिनको दुई घण्टा पानी आउथ्यो, हिउँदमा त घर नजिकैको कुवाको पानी लिन जानु पर्दथ्यो” पुनले भन्नुभयो “एक महिना भयो घरमै खानेपानीको धारा आएको छ, २४ सै घण्टा धारामा पानी खस्दा दैनिकी बद्लिएको छ, अहिले पानीका लागि समय छुट्टाउन पर्दैन ।”

वर्खामा सामुदायिक धारो प्रयोग गरेपनि हिउँदमा कुवाको पानीमा निर्भर रहेका यहाँका स्थानीयहरु अहिले गाउँ मुनीको पानी लिफ्ट मार्फत घर– घरमै आएपछि खुसी भएका छन् । पानीको स्रोत अभावका कारण लामो समय देखि खानेपानीको चरम संकट भोग्दै आएका भेडीर्खक गाउँका ३९ घरमा लिफ्ट मार्फत खानेपानी पु¥याइको हो । ६६० मिटर तलको झाक्रिस्थानको मुलबाट उक्त पानीलाई भेडीखर्क गाउँमाथि पु¥याएर वितरण गरिएको छ ।



२०७२ सालको भुकम्प पछि भेडिखर्क गाउँ माथि रहेको खानेपानीको मुहान सुकेपछि भेडिखर्कमा खानेपानीको चरम संकट पैदा भएको थियो । बस्तीमाथीबाट संभावित मुहान अभाव भएपछि लिफ्ट मार्फत बस्तीमुनीको मुहानबाट पानी तानेर घरमै आउदा सहज भएको स्थानीयहरुले बताएका छन् ।
बस्ती भन्दा ६६० मिटर तल रहेको मुलको पानी बस्ती माथीको घर–घरमा आउला भनेर आफूले कहिलै कल्पना नगरेको स्थानीय मिना पुनले बताउनुभयो । “खानेपानीको कम्ता दुःख थियो, एक गाग्री पानीको लागि एक घण्टा समय व्यवस्थापन गर्नु पर्ने थियो, कुवामा अबेर जानेले पानीनै नभएर फर्केर जान्थे” पुनले भन्नुभयो “पछि टोलमा सामुदायिक धारा बन्यो तर वर्खामा मात्रै पानी आउथ्यो, हिउँदमा मुल सुकेर पानी आउन छोडेपछि नेवाको सहयोगमा घर मुनीको पानी लिफ्ट मार्फत ल्याएपछि अहिले पानीको दुख हट्यो ।”

बागलुङ जिल्लामा खानेपानीको काम गर्दै आएको नेपाल स्वास्थ्यका लागि पानी (नेवा)ले जिल्लाका दुर्गम गाउँमा एक घर एक धारा निर्माण गर्ने अभियान अन्र्तगत जैमिनी नगरपालिका–१०को भेडिर्खकामा खानेपानीको स्रोत नभएपनि लिफ्ट मार्फत एक घर एक धारा निर्माण गरिदिएको हो ।
गाउँभन्दा तल रहेको पानीलाई ६६० मिटर जिआई पाइप मार्फत दुई ठाउँमा मोटर जोडेर बस्तीमा पानी ल्याइएको नेवाका कार्यक्रम अधिकृत विनोद कोइरालाले जानकारी दिनुभयो । अहिले बागलुङ जिल्लाका १७ स्थानमा खानेपानी आयोजनाको काम नेवाले गरिरहेको बताउदै स्थानीय सरकारले समेत नेवालाई सहयोग गरिरहेको बताउनुभयो । “पानीको स्रोत नभएको स्थानमा मात्रै लिफ्ट आयोजना सञ्चालन गरिन्छ, धेरै खर्चिलो प्रविधि भएकाले स्रोत भए सम्म हामी लिफ्टमा जादैनौ, स्थानीयलाई समेत खानेपानीको स्थायीत्वका लागि धेरै खर्च लाग्नेछ” कोइरालाले भन्नुभयो “भेडिखर्कमा पुराना मुलहरु सुकेपछि खानेपानीको चरम संकट भएको र कुवाको पानीमा लाइन लगाउनुपर्ने अवस्था देखेपछि लिफ्ट मार्फत खानेपानी ल्याइएको हो ।”

रु. ८३ लाख ४६ हजार लागतमा भेडिखर्क गाउँमा खानेपानी पु¥याइएको हो । जैमिनी नगरपालिकाको रु.१४ लाख ९८ हजार, नेवाको रु. ५९ लाख ९० हजार, रु. ७ लाख २० हजार बराबरको स्थानीयको श्रमदान र स्थानीय उपभोक्ता समितिको नगद रु. एक लाख २४ हजार लागतमा खानेपानी आयोजना सम्पन्न गरिएको छ । अहिले दैनिक दुई घण्टा लिफ्ट आयोजना मार्फत पानी तान्दा ३९ घरमा २४ घण्टै खानेपानी पुगेको भेडिखर्क लिफ्ट खानेपानी आयोजनाका व्यवस्थापनक शेर बहादुर बिकले जानकारी दिनुभयो । उहाँले हिउँदको समयमा भने दिनको दुई पटक पानी तान्नुपर्ने बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *