सम्पादकीय
नेपाली समाज जति शिक्षित र सचेत बन्दैछ, उत्तिकै सतही र निर्मम पनि । सामाजिक सञ्जाल, मिडिया, चर्चा, परिचर्चा र सस्तो लोकप्रियताको भोकको चरम आशक्तिको लहडमा सक्रिय छ । र त टिकटक, युट्युव, फेसबुक, ट्वीटर, इन्स्टा लगायतका माध्यममा लाइक र कमेन्टमा रमाइरहेको छ । यस्तो लाग्छ कि अरु सबै चिज उनीहरुका लागि गौण छ, मात्र यही एउटा संसार छ, जसको रनभुल्लमा ठुलो जमातले मानवीयता, कर्तव्य, दायित्व बिर्सिरहेको छ । गत मंगलबार सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका– ७ स्थित १६ किलोमा भएको दुर्घटना, त्यसमा घाइते भएका युवकको उद्धार र उपचारमा भन्दा त्यो हृदयविदारक फोटो, भिडियो खिचेर रमिता हेर्ने भिड एक ज्वलन्त उदारहण हो । जुन घटनाको यतिबेला भाइरल तस्बिर मात्र हेर्दा पनि शरीरमा काँडा फुल्छ ।
दोलखा बैतेश्वर गाउँपालिका–७ का २३ वर्षीय विश्वराज श्रेष्ठ संघीय राजधानी आउने क्रममा बसको ठक्करबाट गम्भिर घाइते भए । खुट्टा सडक रगताम्मे हुने गरी रक्तस्राव भइरहेको थियो । उनी उद्धार र सहयोगको याचना र अपेक्षामा बसिरहे । दुर्भाग्य, न त बसका चालक, यात्रु आएर उद्धार गरे, न त सडकमा दुर्घटना देखेका पैदल यात्रुहरु नै । दुर्घटना भएकै सडकमा झन्डै आधा घन्टा दुई हात टेकेर रुँदै सहयोगको याचना गरिरहदा पनि घटनास्थलमा उभिएको दर्जनौ भिडले केवल तिनै घाइतेको हृदयविदारक तस्बिर र भिडियो खिच्नमै केन्द्रित रहे । दुर्घटना भएको झन्डै आधा घन्टापछि प्रहरी टोली घटनास्थल पुग्यो । प्रहरीले घाइते श्रेष्ठलाई एम्बुलेन्स मार्फत सिन्धु सदाबहार अस्पताल पु¥यायो । उक्त अस्पतालले रक्तस्राव रोक्न नसक्ने भन्दै तत्काल काठमाडौं रेफर गरिदियो । दुईजना प्रहरीले एम्बुलेन्समा काखमा राखेर लगिरहेका विश्वराज बाटोभरि छटपटाउँदै प्रहरी र एम्बुलेन्स चालकलाई गाडी छिटो हाँक्न, छिटो अस्पताल पु¥याउन अनुनय विनय गरिरहे । अन्ततः अत्यधिक रक्तस्रावका कारण रोजगारीका लागि फ्रान्स जाने कागजात बोकेर काठमाडौं हिँडेको विश्वराजले काभ्रेको साँगा पुग्दानपुग्दै देहत्याग गरे । छोराको मृत्युपछि बाबुआमा अचेत छन् ।
दुर्घटना कतिपय अवस्थामा लापरवाही हुन्छ त कति दुर्घटना भवितव्य हुन्छ । यहाँ पनि लापरवाही या भवितव्य अनुसन्धानले देखाउँला । तर, यस दुर्घटनामा घाइते भएका विश्वराज सडकमै बसेर उद्धार र उपचारको याचना गर्दा पनि कत्ति मानवीय संवेदना नदेखाउने बसमा सवार यात्रु, चालक र प्रत्यक्षदर्शी रमिते बन्नु अर्को गम्भिर लापरवाही र नेपाली समाजका लागि खतराको संकेत हो । यदि घाइतेलाई तत्काल उद्धार गरेर उपचारका लागि समयमै सहयोग गरेको भए उनको ज्यान बच्न सक्थ्यो । बसका चालकले सोही बस प्रयोग गरेर घाइतेलाई अस्पताल लगेको भए यो अवस्था नआउन सक्थ्यो । अरु यात्रु र प्रत्यक्षदर्शीले कुनै पहल र सहयोग गरेको भए समाजमा मानवीयता जीवित छ भन्ने उदाहरण देखिन्थ्यो । घटनाले विश्वराजको अकालमै ज्यान गुमेको छ । समाजमा मानवीयता हराउँदै गएको प्रतीत भएको छ । सयौँ मान्छे घाइतेको उद्धार गर्न छाडेर रमिता हेरिरहने, उल्टै फोटो–भिडियो खिचेर बस्दै गर्दा यो समाज कता जाँदै छ भन्नेमा गम्भीर समीक्षा, बहस, चिन्तन मनन अपरिहार्य देखिएको छ ।