म्याग्दीका अधिकांश ग्रामीण सडक अबरुद्ध, जनजीवन प्रभावित


आदर्श अनलाइन, म्याग्दी

शुक्रबारदेखि लगातार परेको वर्षाले गर्दा म्याग्दीको ग्रामीण सडकहरु अबरुद्ध भएपछि जनजीवन प्रभावित बनेको छ । लगातारको वर्षाले गर्दा जिल्लाको पश्चिम भेक जोड्ने बेनी–दरवाङ सडक खण्डको फापरखेत स्थीत घुमाउने भीरमा सडक अबरुद्ध भएको छ । त्यस्तै बेनी–जोमसोम–कोरला सडक खण्डको बैसरीमा सडक अबरुद्ध भएको छ ।

बेनी–दरबाङ सडकको फापरखेत नजिकैको घुमाउने भिरमा सामान्य वर्षा हुँदा पनि सडक अवरुद्ध हुने हुँदा पश्चिम म्याग्दीका बासिन्दाले सँधैजसो सास्ती खेप्दै आएका छन् । अठार वर्षअघि सडकको मार्ग खोल्नुपूर्व नै यहाँ पहिराको जोखिम थियो । पहिरो रोकथामका लागि दीर्घकालीन योजना नहुँदा यस खण्डमा बर्खायाममा सिधा यातायात सेवा प्रभावित हुने गरेको हो । धवलागिरि, मालिका र मङ्गला गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनी बजार जोड्ने उक्त सडक बर्खायाममा झनै जोखिमपूर्ण रहन्छ ।

लगातारको वर्षाले गर्दा बेनी नगरपालिका–९ अल्बाङमा ४० रोपनीमा लगाइएको धान तथा मकैमा बाढीले क्षती पु¥याएको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले जानकारी दिनुभयो । त्यसैगरी सदरमुकाम बेनी देखि वडा नम्बर २ को ज्यामरुकोट जोड्ने सडक र बेनी देखि वडा नम्बर ६ को छाप जोड्ने सडक पनि अबरुद्ध भएको छ । बेनी–दरवाङ सडक खण्डको बेनी नगरपालिका–४ फापर खेत नजिकै रहेको घुमाउने भिरमा सडक अबरुद्ध भएको उहाँले जानकारी दिनुभयो ।

अन्नपुर्ण गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अमृत सुवेदीका अनुसार महभिर–राम्चे सडक खण्ड अबरुद्ध छ । उक्त सडक पछिल्लो १५ दिन देखि सडक अबरुद्ध रहेकोमा यस पटकको वर्षाले झन बढी क्षती पुग्दा अन्नपुर्ण गाउँपालिकाको ७ र ८ नम्बर वडाका अधिकांश वस्तीको सिधा सम्पर्क अबरुद्ध भएको छ । त्यस्तै बेनी जोमसोम सडक खण्ड अन्तरगतको जलथले, गुइठे र रुप्सेमा सडक निकै जोखिम अवस्थामा छ । अन्नपुर्ण गाउँपालिका–६ पोखरे बगरमा पहिरोले एउटा घरमा सामान्य क्षती पुगेको उहाँले बताउनुभयो ।

रघुगंगा गाउँपालिकाका इन्जीनियर सुदीप गौतमका अनुसार गलेश्वर–मौवाफाँट–दग्नाम–ध्यासीखर्क हुँदै कुइने मंगले जोड्ने सडकको रघुगंगा गाउँपालिका–७ चिमखोल पारीपट्टी मालाङमा दुई सय मिटर सडक पहिरोले बगाउँदा अबरुद्ध भएको छ । बेनी–जोमसोम सडक खण्ड अन्तरगत वडा नम्बर–२ बैसरीमा सडक अबरुद्ध भएको छ ।

बैसरीमा सडक अबरुद्ध हुँदा अहिले बैकल्पीक मार्गको रुपमा घुमाउनेताल–बगैचा–पिप्ले–बेग हुँदै बेगखोला जाने सडक प्रयोग भएको छ । आइतबार देखि बिहिबार सम्म बेनी–जोमसोम सडक खण्ड अन्तरगतको घुमाउनेताल–बेगखोला सडक पूर्ण रुपमा बन्द गरीएको सहायक प्रमुख जिल्ला अधिकारी धिरेन्द्रराज पन्तले बताउनुभयो । वडा रघुगंगा गाउँपालिका –१ बतासेमा दलबहादुर पुर्जाको घर वर्षाका कारण भत्केर पूर्ण क्षती भएको गाउँपालिका अध्यक्ष भववहादुर भण्डारीले जानकारी दिनुभयो ।

धवलागिरी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत ध्रुब रिजालका अनुसार गाउँपालिकाको ताकम–मच्छिम–लुलाङ सडक खण्ड अन्तरगतको फलिया गाउँमा पहिरोले सडक अबरुद्ध भएको छ । उक्त सडक हुँदै धवलागिरी गाउँपालिका–१ को दुर्गम गुर्जा जानका लागि लुलाङ सम्म गाडीमा पुग्ने गरिन्छ । रिजालका अनुसार पालिकाको मच्छिममा एउटा घरमा क्षती भएको जानकारी आए पनि क्षतिको एकिन विवरण आइसकेको छैन ।

मालिका गाउँपालिकाको केन्द्रबाट वडा जोड्ने सडक सबै बन्द भएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत चुर्णबहादुर कार्कीले जानकारी दिनुभयो । दरवाङ–बेनी सडक खण्डको बाङ्गे पहिरोमा पनि पटकपटक अवरुद्ध भएर सताउने गरेको भए पनि अहिले भने उक्त स्थानमा सवारी सञ्चालन रहे पनि कुन समय बन्द हुन्छ एकिन नरहेको उहाँले बताउनुभयो । दरवाङदेखि वडाको केन्द्र जोड्ने अधिकांश सडकहरु अहिले बन्द रहेका छन् ।

मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाका अनुसार सिम–कुँहु सडक खण्डको खुम्ल्याहामा पहिरोले सडक अबरुद्ध भएको छ । त्यस्तै बाबियाचौर–बरंजा जोड्ने सडक अबरुद्ध भएको छ भने अन्य क्षती अहिले सम्म नभएको उहाँले जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी किरण लामाले जिल्लामा अन्य कुनै भौतिक तथा मानवीय क्षतिको विवरण आएको छैन ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *