शालिक राजनीति

सम्पादकीय
नेपाली समाज आज जुन अवस्थामा छ, यस अवस्थामा आउनुमा हजारौ व्यक्तिको भिन्न भिन्न खाले देन छ । त्यो चाहे राणाकालीन व्यवस्था बदल्नमा होस् या पञ्चायतकालीन परिवेश होस् या निरकुंश राजतन्त्रकालीन व्यवस्था होस् । समयको कालक्रम, गति र चेतना अनुसार राज्य सञ्चालकहरुको सोच नबलिँदाको परिणाम थुप्रै ऐतिहासिक आन्दोलन र अभियान भए । जसमा जनताको अभूतपूर्व साथ समर्थन प्राप्त हुँदा आज उन्नत मानिने संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था स्थापित छ । यस व्यवस्थामा पनि शासकीय चरित्र अनुकुलको नेतृत्व, व्यवहार र कार्यशैली नहुँदा नयाँ नयाँ जटिल खालका समस्या र बेथितिहरु आज पनि व्याप्त देखिने गरेको छ । जसको समयमै संयमित हिसाबले यथोचित समाधान गर्नु अपरिहार्य छ ।

पछिल्लो समय पोखरामा शालिक राजनीति चलिरहेको छ । तत्कालीन राजतन्त्रात्मक शासन व्यवस्था बिरुद्धको आन्दोलनबाट पृथ्वीचोकमा रहेको पृथ्वीनारायण शाहको शालिक तोडफोड गरियो । २०६२÷०६३ को जनआन्दोलन उत्कर्षमा पुगेका बेला देशव्यापी रुपमा पूर्वराजाहरुको शालिक तोड्ने र चोकको नाम परिवर्तन गर्ने क्रम तिब्र थियो । आन्दोलनकारीले राजतन्त्रविरूद्ध नारा लगाउँदै शालिक फोडे । उक्त स्थानमा प्रथम शहिद लखन थापाको शालिक राखियो । भलै थापा पनि प्रथम शहिद नभएको झापाका बाँकावीर भएको लगायतका विषय बहस र विवादमा छ । आन्दोलनकारीले चोकको नाम नै परिवर्तन गरेर लखन चोक राखे । पोखरा–काठमाडौं सडक निर्माणपश्चात् तत्कालीन राजा महेन्द्रले सडकको नाम नै पृथ्वी राजमार्ग राखेका थिए । त्यसको पोखरातर्फको अन्तिम बिन्दुमा पृथ्वीनारायण शाहको शालिक राख्न लगाएर चोकको नाम नै पृथ्वीचोक हुन पुगेको थियो । जनआन्दोलनमा पृथ्वीचोकबाट तोडफोड गरि हटाइएको पृथ्वीनारायण शाहको शालिक पुर्नस्थापित गर्न राप्रपा लगायत राजावादीले माग सहित अभियान चलाए । उनीहरुले लखनको शालिक हटाउन सकेनन्, शालिककै छेउमा पृथ्वीनारायण शाहको शालिक उभ्याएर राखे । त्यस पश्चात यो विषय सामान्य भएको थियो ।

अहिले फेरि शालिक विवाद र बहसले पोखरा तातेको छ । पहिलेको ‘पृथ्वीचोक’ पछि परिवर्तित ‘लखनचोक’ यस्तो चोक हो, जहाँ शालिककै विषयमा ठूलो संघर्ष भएको छ, यही मुद्दा पटक पटक राजनीतिकरण र जातियकरण भएको छ । यही चोकमा कसको शालिक राख्ने भन्ने विषयमा जातीयताको विवादले पोखरा विभक्तसमेत बन्ने गरेको छ । क्षेत्री समाजले पृथ्वीचोकमा पृथ्वीनारायण शाहकै शालिक राख्नुपर्छ भन्दै गर्दा जनजाति समुदायले गणतान्त्रिक नेपालमा प्रथम शहिद लखन थापाकै शालिक हुनुपर्छ भन्ने अडान राख्यो । अहिले फेरि यस चोकबाट जनजाति समुदायका केहीले पृथ्वीनाराणको प्रतिमा हटाइदिए पछि राजावादी लगायतको समूह विरोधमा उत्रिएको छ । उनीहरुले पोखरा महानगरका मेयर धनाराज आचार्यको पुत्लादहन समेत गरेका छन् । हुन त पोखरा महानगरले यसअघि नै चोक–चोकमा राखिएका आइल्याण्ड र शालिकका कारण विवाद तथा ट्राफिक जाम बढेका कारण आइल्याण्ड भत्काउने र शालिकलाई व्यवस्थित पार्क बनाएर सार्ने योजना अनुसार सराङकोटमा ५७ रोपनी क्षेत्रफलको जग्गामा पार्क बनाउन थालेको छ । यो विवाद समाधानको उपर्युक्त विकल्प हो । तर, चरम राजनीतिकरण, जातियता र अतिवादले सहजै यस विकल्पमा जान कठिन हुने देखिन्छ । महानगरले प्रदेश र केन्द्र सरकारका साथै स्थानीय राजनीतिक दल, नागरिक समाज सबैसँग यथेष्ट छलफल गरेर संयमितका साथ समयमै दिगो समाधान खोज्नु नै हितकर हुनेछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *