कागबेनी बाढी : हेर्दा हेर्दै २९ घर बगरमा परिणत भए, पुल बगाउँदा माथिल्लो मुस्ताङ चल्ने यातायात ठप्प

डम्मर बुढा मगर, बागलुङ
मुस्ताङमा समय–समयमा स–साना बाढी पहिरो त आउँथे । तर ठूलो मानवीय तथा भौतिक क्षति भने खास्सै भएको थिएन । रुख विरुवा नहुँने मुस्ताङमा नाङ्गा डाँडाले घेरिएको छ । वर्षा हुँदा साथ पानीले नाङ्गा डाँडाबाट माटो बगाएर कालीगण्डकीमा ल्याउँथ्यो । स्थानीयलाई वर्षा सामान्य जस्तै लाग्थ्यो । आइतबार राति त्यही वर्षा शत्रु बनेर आयो । बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनी बजारका स्थानीय दिनभर आ–आफ्नो काम गरेर साँझा कोही खाना पकाउदै थिए, कोही खाना खाँदै ।

कागबेनीभन्दा माथिल्लो बस्तीबाट आएको फोनले कागबेनीवासी अताल्लिए । एकाएक हारगुवार गर्दा गर्दै भागाभाग मच्चियो । केहीले लत्ता कपडा, सुन तथा गरगहना निकाल्न भ्याए भने धेरैले सामान्य लत्ताकपडा पनि निकल्न पाएनन् । स्थानीय कागबेनीभन्दा केही माथिपट्टी के निस्किएका थिए, एक्कासी कागखोलामा ठूला हावाहुरीसहत बाढी आयो । बाढीले हेर्दाहेर्दै कागबेनी बजारका घरहरु बगरमा परिणत भए । बाढीले घर र सम्पत्ति बगाई दिएपछि कागबेनीका सयौँ नागरिक घरबासविहीन भनेका छन् । कागखोलामा करिब दुई घण्टा आएको बाढीले निकै ठूलो क्षति पु¥याएको स्थानीय धावा दोर्जे गुरुङले बताउनुभयो ।

बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीका वडा सदस्यसमेत रहनु भएका गुरुङले बाढीमा कुनै पनि मानवीय क्षति नभएको भन्दै भौतिक सम्पत्ति ध्वस्त बनेको बताउनुहुन्छ । यो बाढी अहिलेसम्मकै ठूलो भएको र क्षति पनि धेरै पु¥याएको गुरुङको भनाइ छ । माथिल्लो क्षेत्रबाट बाढी आएको खबर नभएको भए यहाँका सयौँ मानिस बाढीमा पुरिन सक्ने उहाँले बताउनुभयो ।

उहाँ भन्नुहुन्छ–“दिनभरी काम गरेर साँझ खाना पकाउँदै थियौँ, एक्कासी मुक्तिनाथबाट कागखोलामा बाढी आयो भनेर आफन्तहरुको फोन आयो, पकाउँदै गरेको खाना त्यत्तिकै छोडेर वरपरका छरछिमेकलाई हारगुवार गर्दै बस्तीभन्दा माथि पुग्यौँ, हेर्दाहेर्दै कागखोलामा आएको बाढी कागबेनी बजारमा बस्यो, एकै छिनमा सबै घरहरु बगरमा परिणत भए, धन्न ज्यान बाँच्यो, मुक्तिनाथ क्षेत्रबाट धेरैले फोन गरेर बाढी आएको जानकारी गराइ दिनुभयो र हामी बाँच्यौँ, नत्र सबै बाढीमा परिने रैछ ।”

बारागुङ मुक्तिक्षेत्र गाउँपालिका अध्यक्ष रिङजीन नामगेल गुरुङले बाढी पीडितलाई सुरक्षित स्थानमा सारिएको बताउनुभयो । उहाँका अनुसार बाढीले २९ घर बगरमा परिणत भएका छन् । १३ आंशिक क्षति भएको अध्यक्ष गुरुङको भनाइ छ । आंक्षिक क्षति भएका घरको पहिलो तलासम्म बाढी पसेको उहाँले बताउनुभयो । नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको सहकार्यमा उद्धार कार्यलाई जारी राखेको उहाँको भनाइ छ ।

सोमबार साँझसम्मको विवरण अनुसार चार पाङ्ग्रे दुई वटा सवारी साधान, मोटरसाइकल ३० वटा, एउटा पक्की मोटरेवल पुल, तीन काठेपुल बाढीले बगाएको उहाँको भनाइ छ । बाढीले प्रभु बैंकको घरनै बगाएको छ भने जनशान्ति माध्यमिक विद्यालयमा पनि क्षति पुगेको अध्यक्ष गुरुङले जानकारी दिनुभयो । मर्धशाला, गुम्बा लगाएतका संरचना पनि बाढीमा परेको उहाँ बताउनुहुन्छ । उहाँका अनुसार करि २०÷२५ वटा पशुचौपाया पनि पुरिएको आँकलन गरिएको छ ।

कागबेनीमा जिल्ला बाहिरबाट सडक तथा विभिन्न ठाउँमा काम गर्ने ६० मजदुरको उद्धार गरि जोमसोम सामुदायिक हलमा स्थानान्तरण गरिएको अध्यक्ष गुरुको भनाइ छ । बाढी पीडितलाई अहिले आफन्तकहाँ राखिएको भन्दै नेपाल सरकारको नीति नियम अनुसार राहत साहायता दिने उहाँ बताउनुहुन्छ । तत्कालको लागि गास, बास कपासको व्यवस्था गाउँपालिकाले गर्ने गुरुङले बताउनुभयो ।

“अप्रत्यासित घटना भयो, बजारका घरहरु देखिसक्नु छैनन्, धेरै घर बाढीले बगायो, बाढीले क्षति पु¥याएका घरहरु पनि भत्किरहेका छन्, अहिलेसम्म मानवीय क्षति भएको पाइएको छैन, भौतिक क्षतिको त धेरै भएको छ, अहिले भर्खरै मूल्याङ्कन गर्न सक्ने अवस्था छैन, बाढी पीडितलाई अहिले अग्लो स्थानमा सुरक्षित रुपमा राखेका छौँ,” अध्यक्ष गुरुङले भन्नुभयो – “यहाँ धेरै कामदार पनि बस्थे, उनीहरुलाई घरपझोङ गाउँपालिकाले खाना बस्नको व्यवस्था गर्ने गरि जोमसोम सारिएको छ ।”

बाढी कागखोलाको सहायक तिरीखोलामा पहिरो आएर थुनिएको आँकलन गरिएको । मुक्तिनाथबाट सुरु हुने कागखोला कागबेनीमा आएर कालीगण्डकीमा मिसिन्छ । बाढीले पोलहरु बगाउँदा विद्युत अवरुद्ध भएको सहायक जिल्ला अधिकारी चन्द्रकान्ता बस्नेतले जानकारी दिनुभयो । खानेपानीको पाइपलाइन पनि बगाउँदा खानेपानी अवभा भएको उहाँको भनाइ छ । विद्युत र खानेपानी संचालनका लागि काम सुरु भएको उहाँ बताउनुहुन्छ । बाढीले पुल बगाउँदा उपल्लो मुस्ताङसम्मको यातायात ठप्प छ भने मान्छे हिड्नका लागि अस्थायी काठको पुल निर्माण गरिएको उहाँले जानकारी दिनुभयो । अहिले बाढी रोकिए पनि स्थानीय त्रसित छन् ।

सहायक प्रमुख जिल्ला अधिकारी बस्नेतले भन्नुभयो – “बाढीले बिजुलीका पोल र पाइपलाइन पनि बगाएको छ, त्यसलाई तत्काल संचालनमा ल्याउनका लागि विपद् व्यवस्थापन समितिको बैठकले निर्णय गरेर काम सुरु भएको छ, उपल्लो मुस्ताङ जाने सडक त ठप्पै भएको छ, अहिले भर्खरै यो सडक खुलाउन सक्ने अवस्था पनि कम छ, विस्तारै यातायात संचालनका लागि प्रयास गर्छौँ ।”

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *