विपद् पूर्वको सजगता र सूचना पहिलो प्राथमिकता

सम्पादकीय
विपद् सूचना दिएर, बाजा बजाएर आउदैन । कुन ठाऊँ कति बेला विपद् आउँछ, त्यो पनि अनिश्चयको भूमरीमा छ । यति हो कि बाढी, पहिरो, भूक्षय जस्ता विपद् यही बर्खामासमा नै आउने गर्दछ । वर्षेनी बाढी पहिरोले ठुलो जनधनको क्षति हुने गर्दछ । कयौं परिवारको खुसी एकाएक उजाडिन पुग्छ, सयौं घर परिवार विस्थापित हुन बाध्य हुन्छन् । लयवद्ध बनिरहेको जीवन दैनिक एकाएक शुन्यतामा पुग्छ । त्यो महाभूकम्प होस् या कोरोना होस् या बाढी पहिरो जस्ता विपद् क्रुर भएर आउँछ । जसलाई पूर्णतः रोक्न असम्भव छ । यद्यपि, पूर्व सजगता र पूर्व सूचनाले पनि धेरै क्षति कम गर्न सकिन्छ । यसको पछिल्लो उदाहरणको रुपमा हिमाली जिल्ला मुस्ताङको कागबेनीमा आएको अप्रत्यासित बाढी र विपद्को घटना देखिएको छ ।

कागखोलाको बाढीले वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनी बजारको तटीय क्षेत्र बगरमा परिणत ग¥यो । मुक्तिनाथ हुँदै झर्ने कागखोला पहिरोका कारण थुनिएर फुट्दा आइतबार राति आएको बाढीले कागबेनीमा रहेको प्रहरी चौकी भवनसहित २९ घर बगायो । बाढीले घर, पसल, होटेल, प्रहरी चौकी भवन, वडा कार्यालय, आमासमूह भवनलगायतका पूर्वाधार बगाए पनि मानवीय क्षति भने कत्ति पनि भएन । यसको कारण थियो समयमै पूर्व सूचना दिनु र पाउनु । यही संयोगले कागबेनीबासी ठुलो विपद् र कालबाट जोगिएका छन् । मुक्तिनाथबाट आउने खोला र झोङखोलाको पानी मिसिएर बनेको कागखोलामा बाढी आएको सूचना खिङ्का र झोङका स्थानीयले फोनमार्फत कागबेनीका नागरिकलाई दिएका थिए । बलौटे माटो र कमजोर भू–बनोटका कारण मुस्ताङमा केही घन्टा मात्रै वर्षा भए पनि खोला र नदीमा लेदोसहितको बाढी आउने गर्छ ।

मुस्ताङ बाढीले भौतिक रुपमा ठुलो क्षति हुनु दुखद भए पनि मानवीय क्षति कत्ति पनि नहुनु सुखद खबर हो । उसो त मुस्ताङ यस्तो जिल्ला हो जहाँ बर्खायाममा पनि निकै कम पानी पर्ने र बाढी, पहिरो आउने स्थान हो । तर, पछिल्लो समय जलवायु परिवर्तन लगायतका कारण अस्वभाविक खालका विपद् र घटनाहरु हुन थालेको छ । यसले आम मानिसलाई खोला, नदीको बाटो र आसपासमा भौतिक पूर्वाधार निर्माण गर्दा यथोचित सोच विचार गरेर निर्माण गर्नुपर्ने पाठ सिकाएको छ भने सम्भावित विपद् जोखिमको कुनै सूचना देख्न र सुन्न साथ अरु तटिय क्षेत्रका बस्तीका बासिन्दालाई प्रवाह गर्नु ठुलो गुण र सामाजिक उत्तरदायित्व हो । जुन साना सूचनाले मुस्ताङमा जस्तै सयौंको ज्यान जोगिन सक्छ । तसर्थ, बाढी, पहिरो लगायतको विपद् पूर्वको सजगता र सूचनालाई हरेक नागरिकले पहिलो प्राथमितामा राख्नुपर्छ । तीन तहको सरकार र सरोकारवाला निकायले पनि सोही बमोजिम भूमिका निर्वाह गर्नु अपरिहार्य छ । सके सम्म विपद् आउन नदिने र भवितव्य या आइहालेमा पनि जनधनको क्षति नहुने या कम हुने तर्फ सबैको यथोचित पहिल र भूमिका हुनुपर्दछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *