पाँच दिवसीय कार्यक्रमसहित पुस्तकालय दिवस मनाइने

आदर्श अनलाइन, बागलुङ

विद्यामन्दिर पुस्तकालय, बागलुङले १६औँ राष्ट्रिय पुस्तकालय दिवस पाँच दिवसीय कार्यक्रमसहित मनाउने भएको छ । यो वर्ष ‘पुस्तौँ पुस्ताका लागि पुस्तकालय’ भन्ने आदर्श वाक्यसहित सो दिवस मनाइँदैछ ।

बर्सेनि भदौ १५ गते पुस्तकालय दिवस पर्छ । दिवसका अवसरमा भदौ ११ देखि नै विविध कार्यक्रम तय गरिएको पुस्तकालयका सचिव राजनप्रसाद शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार पहिलो दिन पुस्तकालय परिसर सरसफाइसहित सदरमुकामका चोकमा दिवसको ब्यानर प्रदर्शन गरिनेछ ।

१२ गते ‘पुस्तौँ पुस्ताका लागि पुस्तकालय’ शीर्षकमा बागलुङ नगरपालिकास्थित माध्यमिक विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता आयोजना गरिने भएको छ । सोही दिन पुस्तकालयको बाल कक्षमा अध्ययनरत बालबालिकाको स्वास्थ्य परीक्षण तथा स्वास्थ्य सामग्री वितरण गरिने सचिव शर्माले बताउनुभयो ।

१३ गते अन्य सामाजिक तथा शैक्षिक संस्थाहरुसँगको सहकार्यमा पठन संस्कृतिको विकास र आयामबारे विमर्श कार्यक्रम राखिएको पुस्तकालयले जनाएको छ । १४ गते लागूऔषध प्रयोगकर्ताहरुको उपचार तथा पुनःस्थापना केन्द्रमा पुस्तक उपहार दिने कार्यक्रम राखिएको सचिव शर्माले जानकारी दिनुभयो ।

१५ गते पुरस्कार वितरणसहित मूल समारोह आयोजना गरिने पुस्तकालयका अध्यक्ष राम थापाले बताउनुभयो । “दिवस पुस्तकालयप्रेमीका लागि वार्षिक पर्व जस्तो हो, दिवसले पुस्तकालयको महत्व पनि उजागर गर्छ, पुस्तकालयप्रति आकर्षण पनि बढ्छ”, उहाँले भन्नुभयो, “यस वर्ष पनि विविध रचनात्मक र सन्देशमूलक कृयाकलापसहित दिवस मनाउँदैछौँ ।”

बिहीबार बसेको पुस्तकालय कार्यसमिति र सल्लाहकार परिषद्को संयुक्त बैठकले पाँच दिवसीय कार्यक्रमसहित पुस्तकालय दिवस मनाउने निर्णय गरेको थियो । सो बैठकले सल्लाहकार परिषद् सदस्यमा पुस्तकालयका पूर्वअध्यक्ष मुकेशचन्द्र राजभण्डारी र पुस्तकालयसेवी हरिनारायण गौतमलाई मनोनित गर्ने निर्णय गरेको अध्यक्ष थापाले बताउनुभयो ।

बैठकले पुस्तकालयका संस्थापक द्वय ओमप्रसाद गौचन र मेघकुमार वैद्यको अर्धकदको प्रतिमा स्थापना गर्ने निर्णयसमेत गरेको उहाँको भनाइ छ । विसं २००३ सालमा स्थापित विद्यामन्दिर पुस्तकालय देशकै अग्रणीमध्येमा पर्छ । राणाकालको प्रतिकुल समयमा खुलेका कारण पनि यसको अलग्गै पहिचान र गरिमा छ । धवलागिरि क्षेत्रको शैक्षिक, सामाजिक, साँस्कृतिक र राजनीतिक जागरणको केन्द्रको रुपमासमेत यस पुस्तकालयलाई लिने गरिन्छ ।

स्थापनाकालमा काठमाडौं उपत्यकाहुँदै भारतको दिल्ली, गोरखपुरसम्मबाट भरिया लगाएर ल्याइएका पुस्तक सङ्ग्रह गरेर सुरु गरिएको पुस्तकालयमा अहिले विभिन्न विधाका गरी करिब १७ हजार पुस्तक छन् । पुस्तकालयमा अहिले विद्युतीय पुस्तकालय (ई–लाइब्रेरी) पनि छ । प्रारम्भिक चरणमा विद्यालयको कोठा हुँदै सार्वजनिक ठाँटीको पौवामा चलेको पुस्ताकालय अहिले आफ्नै सुविधासम्पन्न भवनबाट सञ्चालित छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *