बेनी अस्पतालमा स्वास्थ्यकर्मी अभाव : उपचारमा समस्या

आदर्श अनलाइन, म्याग्दी
बेनी अस्पतालमा गण्डकी प्रदेशबाट गत आर्थिक वर्ष पठाएको १३ जना कर्मचारीको करार थप नहुँदा अस्पताल सञ्चालनमा समस्या भएको छ । पछिल्लो समय भाइरल ज्वरोका बिरामीको संख्या बढि रहेको अवस्था हुँदा पनि प्रदेशले जनशक्ति थप्नुको साट्टा काम गरिरहेका स्वास्थ्यकर्मी अन्यत्र पठाइदिँदा समस्या भएको हो ।

बेनी अस्पतालमा पछिल्लो एक हप्तामा एक हजार चार सय ७० बिरामी बहिरंग उपचार लिएका छन् । तर प्रदेशबाट आएका करारका १३ जना र आमा सुरक्षा कार्यक्रमका ३ जना कर्मचारी असार मसान्तमा करार सकिएको भए पनि एक महिना काम गर्दा पनि करार थप गर्ने प्रकृया समेत शुरु नभए पछि अन्यौल बढेको हो ।

बेनी अस्पतालमा गत हप्ता आइतबार दुई सय ८२ जना, सोमबार दुई सय ४६, मंगलबार दुई सय ८०, बुधबार दुई सय ३७ र बिहीबार एक सय ७६ जना र शुक्रबार २४९ जना बिरामीहरुले बहिरंग विभाग(ओपिडी) सेवा लिएका छन् । इमर्जेन्सीमा आउने बिरामीहरुको संख्या पनि उस्तै छ तर तालुकदार निकायबाट कुनै सुनुवाई नहुँदा समस्या भयो अस्पतालका एक कर्मचारीले बताउछन् ।

बहिरंग विभाग(ओपीडी)मा सेवा लिन आउनेहरुमा अधिकांशमा भाइरल इन्फेक्सन, ज्वरो, टाउको दुख्ने तथा आँखा सम्बन्धी रोगका बिरामीहरु आउने गरेको बेनी अस्पतालकी निमित्त मेडिकल सुपरीटेण्डेण्ट डाक्टर अञ्जु थापाले बताउनुभयो । उहाँ भन्नुहुन्छ–‘मौसमको कारणले गर्दा पनि होला, बिरामीको चाप उच्च छ, त्यस माथि भएका कर्मचारीको करार सकिएर काम छाड्ने र कोहीलाई प्रदेशले नै बाहिर पठाइदियो निकै गाह्रो भएको छ ।’

५० शैयाको बेनी अस्पतालमा दरवन्दी रहेका २ जना मात्रै डाक्टरहरु कार्यरत रहेको बेनी अस्पतालकी निमित्त मेडिकल सुपरीटेण्डेण्ट डा.थापाले जानकारी दिनुभयो । उहाँका अनुसार प्रदेशको करार दरवन्दीबाट गत आर्थिक वर्षमा करारमा आएका १३ जनाको करार सकिए पछि अस्पताल सञ्चालनमै समस्या भएको छ । आमा सुरक्षा कार्यक्रमबाट आएका तीन जना पनि करार अवधि सकिएपछि पुन करार थप हुन नसक्दा अस्पतालबाट बाहिरीए संगै अस्पताल सञ्चालनमै निकै समस्या भएको उहाँले जानकारी दिनुभयो ।

अहिले अस्पतालमा दरबन्दीका २ सहित अन्य श्रोतबाट अहिले ४ जना रेजिडेण्ट, ३ जना कन्सल्टेन्ट र पाँच जना मेडिकल अधिकृत कार्यरत रहेका छन् । यसैबीच आर्थिक वर्ष २०७९/०८० को प्रदेश करार सम्झौता अन्तर्गत कार्यरत रहेका स्वास्थ्यकर्मीहरुको नयाँ आर्थिक वर्षका लागि प्रदेशबाट म्याद थप नभएकोले अस्पतालका इमर्जेन्सी, ल्याब, इन्डोर वार्ड, डायलासिस लगायतका नियमित सेवाहरु समेत प्रभावित भएको अस्पतालले एक सूचना प्रकाशन गरेरै जानकारी दिएको छ । अस्पताल प्रशासनले सूचना प्रकाशन गरेर नियमित तथा निरन्तर सेवा प्रवाहमा असहजता तथा कठिनाइ आइपर्ने भएकाले सेवा ग्राहीमा असुविधा पर्न सक्ने भन्दै सचेत गराएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *