बडिगाड गाउँपालिका स्तरीय सार्वजनिक सुनुवाई : शिक्षा र कृषिमा बढी गुनासो


आदर्श अनलाइन, बागलुङ
बागलुङ जिल्लाको बडिगाड गाउँपालिकाले शुसासन र पारदर्शिताका लागि पालिका स्तरीय सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ ।

आर्थिक वर्ष २०७९÷८० को तेस्रो चौमासिक बजेट खर्चको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो । स्थानीय तहको सुशासन, सामाजिक उत्तरदायित्व, पारदर्शिता एवं जवाफदेहिताको लागि सो कार्यक्रमको आयोजना गरिएको बताउदै बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीले आगमी दिनमा वडा तहमै सार्वजनिक सुनुवाई गर्ने बताउनुभयो ।



बडिगाड गाउँपालिकाको आर्थिक सहयोग तथा सर्वसिद्दि मिडियाको समन्वयमा भएको सो कार्यक्रममा नागरिकहरुले शिक्षा, स्वास्थ्य, कृषि तथा पशु सेवा, प्रशासनिक क्षेत्र लगाएतका क्षेत्रमा सवालहरु उठाएका छन् । सो सार्वजनिक सुनुवाई कार्यक्रममा स्थानीय ध्रुव घिमिरे, जित बहादुर थापा, महानन्द घिमिरे, मिलन काउचा, ढालेन्द्र रायमाझी, दिपक रायमाझि, रमेश बहादुर घिमिरे, कमल प्रसाद खरेल, सिता आचार्य, कृष्ण प्रसाद भट्टराई, हरि घिमिरे, तिल बहादुर खत्री लगाएतले नागरिकको तर्फवाट सवाल उठाउनु भएको थियो ।



उहाँहरुले नागरिकहरुले गाउँपालिकाको जिन्सी खरिद बढी भएको, आँखापाक्ने रोग, डेंगु व्यापक भैरहँदा पनि पालिकाले प्रभावकारी कदम चाल्न नसकेको, सामाजिक न्यायमा पालिका चुकेको, गाउँमा बाँदर आतंक भएको, लघु जलविद्युतका साधारण सभा नभएको, सार्वजनिक जग्गाको संरक्षणमा पालिका उदासिन रहेको, फोहर व्यवस्थापन नभएको, कृषकले व्याज छुट नपाएको, इन्धनको खर्च बढि भएको, सार्वजनिक खरिद ऐनको कार्यान्वयन नगरिएको र शिक्षा क्षेत्रमा अनावश्यक हस्तक्षेप भएको लगाएतका प्रश्नहरु उठाएका थिए ।

सवालहरुको जवाफ दिँदै पालिका अध्यक्ष गण्डकी थापा अधिकारीले गाउँपालिकाले शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको र कतिपय नतिजा देखिँदै गरेको जानकारी गराउनुभएको थियो । अध्यक्ष अधिकारीले शिक्षा क्षेत्रको सुधारको लागि सवै प्रधानाध्यापकले वार्षिक कार्ययोजना पेश गर्नेपर्ने गरी काम गरेको, विद्यालय शुल्क न्यूनिकरण गरिरहेको, स्वास्थ्य विमा, ग्रामिण मोवाइल स्वास्थ्य कार्यक्रम सञ्चालनमा रहेको जानकारी दिनुभएको थियो ।

त्यस्तै उपाध्यक्ष भिमसेन बनले स्थानीय सरकारको क्षेत्राधिकार भित्र पर्ने न्यायीक निरुपण गरिएको, सार्वजनिक सम्पत्ति संरक्षणको लागि प्रयत्न भैरहेको जानकारी दिनुभएको थियो । त्यसैगरी प्रमुख प्रशासकीय अधिकृत चेतनारायण भण्डारीले सेवा प्रवाहलाई चुस्त बनाउन प्रयत्नशिल रहेको, कर्मचारी अभावमा काम गर्न चुनौति रहेको, प्रशासनिक सुधारको लागि प्रयास भैरहेको र गत वर्ष मात्रै ८७ प्रतिशत वित्तिय प्रगति हासिल गरेको भन्दै सवालको जवाफ दिनुभएको थियो । त्यस्तै सवालको जवाफ दिनेक्रममा स्वास्थ्य शाखा प्रमुख विपेन्द्र केसिले सवै स्वास्थ्य संस्थामा ५८ प्रकारका औषधी निशुल्क प्राप्त गर्ने प्रबन्ध गरेको, स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन काम गरिरहेको बताउनु भएको थियो ।

शिक्षा शाखा प्रमुख पुर्ण बहादुर घर्तीले शिक्षाको ऐन नियम नवाझिने गरि स्थानिय शिक्षा ऐनलाई समेत मध्येनजर गरि कार्यसम्पादन गरेको जानकारी दिनुभएको थियो । त्यस्तै पशु सेवा शाखाका प्रमुख बसन्त गौतमले आवश्यक कागजात अपुग भएकोले कृषकलाई व्याज छुट दिन नसकेको जानकारी दिनुभएको थियो भने कृषि सेवा शाखाका प्रमुख इश्वर वलीले प्राविधिक कारणले उपयुक्त विउ आयातमा समस्या देखिएको बताउनु भएको थिया ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ बागलुङका कोषाध्यक्ष सुवास गौतमले टिप्पणी गर्दै सार्वजनिक सुनुवाइले नागरिकको सेवा प्रवाहमा गुणस्तर थप्ने भन्दै सार्वजनिक सुनुवाईलाई विधिमा चलाउन सुझाउनुभएको थियो । बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीको अध्यक्षता रहेको कार्यक्रमको सञ्चालन तथा सहजीकरण पत्रकार राम थापा अविरलले गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *