अर्थतन्त्र कहिले सुध्रिन्छ ?

सम्पादकीय
पछिल्लो केही वर्ष यता विश्व अर्थतन्त्र अस्थिर बनिरहेको छ । खासगरी कोभिड काल यताबाट सुरु भएको उतार चढाव रुस युक्रेन युद्धमा आइपुग्दा बिभिन्न देशमा चरम आर्थिक मन्दीको अवस्था पैदा भयो । नेपाल पनि आर्थिक मन्दीको प्रभावबाट प्रत्यक्ष प्रभावित भयो । उद्योग व्यवसाय दैनिक ओरालो लाग्दो छ । ऋण धन गरेर साना ठुला व्यापार व्यवसाय गरेका धेरै पलायन भइसकेका छन् । शहर बजारमा निकै व्यापारिक चहल पहल हुने पसलका सटरहरु पनि रित्ता रित्ता देखिन थालेका छन् । बैंक वित्तीय संस्थाहरु खराब कर्जाले आफै आकुल ब्याकुल बनिरहेका छन् । देशको शिक्षित र दक्ष जनशक्तिहरु दैनिक बैदेशिक रोजगारलाई सुरक्षित ठानेर अन्तर्राष्टिय विमानस्थल मार्फत विदेशिनेहरुको भिड लाग्छ । अहिले त चौतर्फी निराशै निराशाबाट मानिसहरु आक्रान्त बनिरहेको अवस्था छ ।

नेपालको अर्थतन्त्रको अवस्था हेर्दा चरम निराशाजनक अवस्था छैन । तर, मुलुकको अस्थिर राजनीति र धर्मराउँदो अर्थतन्त्रले कुन बेला कहाँ पु¥याउँछ ? केही भन्न सकिने अवस्था भने छैन । भर्खरै सकिएको आर्थिक वर्ष ०७९÷८० सुरु हुँदा नेपाली अर्थतन्त्र निकै अप्ठ्यारो परिस्थितिमा थियो । विशेष गरी अर्थतन्त्रको बाह्य क्षेत्र निकै दबाबमा थियो । आवको अन्त्यमा आउँदा केही सहज अवस्थामा आएको छ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको गत आवको आर्थिक तथा वित्तीय स्थिति विषयक प्रतिवेदनले अर्थतन्त्रको बाह्य क्षेत्र भने बलियो बनेको देखाएको छ । रुस–युक्रेन द्वन्द्वको असर, पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि, केही खाद्य वस्तुमा भएको अभाव लगायतका कारण गत आर्थिक वर्षमा मूल्यवृद्धि नियन्त्रण भन्दा बाहिर गयो । असार ०८० सम्म आउँदा विदेशी मुद्रा सञ्चिति २३.१ प्रतिशतले बढेर ११ अर्ब ७४ करोड डलर पुगेको छ, जुन हालसम्मकै दोस्रो ठूलो भण्डारण हो । यसले १० महिनाको वस्तु तथा आयात धान्न पुग्ने बताइएको छ । अघिल्लो आवमा घाटामा रहेको शोधनान्तर स्थिति गत आवमा झन्डै तीन खर्ब रुपैयाँले नाफामा गएको छ । तथ्यांकअनुसार गत आवमा शोधनान्तर स्थिति दुई खर्ब ९० अर्ब ५२ करोड रुपैयाँले बचतमा छ । व्यापार घाटा १५.५ प्रतिशतले घटेर १४ खर्ब ५४ अर्ब ५९ करोड रुपैयाँमा कायम भएको छ । योसँगै बाह्य क्षेत्रसँग प्रत्यक्ष सरोकार राख्ने रेमिट्यान्स आप्रवाह १२ खर्ब २० अर्ब ५६ करोड रुपैयाँ पुगेको छ । यो अघिल्लो आवको तुलनामा २१.२ प्रतिशतले बढी हो । नेपाल घुम्न आउने विदेशी पर्यटकमार्फत हुने आम्दानी ८९.६ प्रतिशतले बढेर ६१ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ । अर्को तर्फ विदेश पढ्न जाने नेपाली विद्यार्थीले एक खर्ब ४२ करोड रुपैयाँ लगेका छन् ।

अहिले पनि नेपालमा व्यापार व्यवसाय आर्थिक गतिविधि सुस्त छ । धेरै उद्योगी, व्यवसायी यसबिचको खराब परिस्थितिले अत्तालिएका छन् । गत आवमा सीमाभन्दा बाहिर गएको महँगी अझै पनि उस्तै हालतमा छ । आन्तरिक अर्थतन्त्र शिथिल अवस्थामा छ । गत आर्थिक वर्षमा बाह्य क्षेत्रमा सुधार आइराख्दा आन्तरिक अर्थतन्त्र सुस्ताएको छ । आम्दानीमा आएको कमी र महँगीले वस्तु तथा सेवाको माग घटाएको छ । उच्च बैंक ब्याजदरलगायतका कारण थप कर्जा ल्याएर व्यवसाय गर्न सक्ने अवस्था पनि कमजोर बन्दै गएको छ । बाह्य क्षेत्रलाई सहज अवस्थामा ल्याउन उठाइएको कदमको ‘साइड इफेक्ट’स्वरूप आन्तरिक अर्थतन्त्र दबाबमा गएको विश्लेषण गरिएको छ । देशको अस्थिर राजनीति, अर्थतन्त्र, बढ्दो महँगी लगायतका कारण नागरिकमा फस्टेशन बढ्दो छ । त्यसैले, सरकारले जतिसक्दो छिटो अर्थतन्त्रलाई गतिशील र चलायमान बनाउने दिशामा गम्भिरतापूर्वक सोचेर कदम चाल्नुपर्दछ । अन्यथा, यस समस्याले देशमा गम्भिर संकटहरु देखा पर्ने निश्चित प्रायः छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *