ओझेलमा निसेलढोर

डम्मर बुढा मगर, बागलुङ
तल कलकल बग्ने उत्तर गंगा । माथि पट्टी कहाली लाग्दा भिर । चारै तिर डाँडाकाँडाले घेरिएको निसेलढोर पर्यटकीय हिसाबले निकै संभावना बोकेको ठाउँ हो । समथर भू–भागमा घर, गोठ र स्याउका बगान छन् । जसले यहाँ पुग्ने जोकोहीलाई छिट्टै आकर्षण गर्छ । काठ, ढुङ्गा र माटोले बनेका होँचा घर निसेलढोरको विशेषता हो । चर्चित पर्यटकीय स्थल ढोरपाटन उपत्यकाभन्दो केही पर रहेको निसेलढोर प्रचारप्रसारका कारण ओझेलमा छ । करिब एक दशक अगाडि मोटरबाटोले जोडिएको निसेलढोरमा अहिले उही कच्ची र जोखिमपूर्ण सडकमा स्थानीय यात्रा गर्छन् ।

जिल्ला सदरमुकाम बागलुङ बजारबाट सूदुरपश्चिममा रहेको निसेलढोर एउटा मौलिक गाउँका रुपमा परिचित छ । ढोरपाटन उपत्यकाबाट करिब तीन घण्टा पैदल यात्रामा पुग्न सकिने निसेलढोर निसीखोला गाउँपालिका–५ मा पर्छ । ढोरपाटन उपत्यका भने ढोरपाटन नगरपालिका–९ मा पर्छ । निसीखोला तिरबाट मोटरबाटोले नजोडिएको हुँदा निसेलढोर पुग्न ढोरपाटनबाटै जानु पर्ने हुन्छ । पैदल यात्रा गरेर मात्रै निसीखोलाबाट यहाँ पुग्न सकिन्छ । प्रसस्त पर्यटकीय सम्भावना बोकेको निसेलढोरका स्थानीयबासीको आफ्नै मौलिक भेषभूषा, रीतिरिवाज र जीवनशैली विल्कुलै फरक छ । उनीहरुको आफ्नै मगर खाम भाषा छ ।

लेकाली हावापानी, शान्त वातावरण र यहाँबाट देखिने दृश्यले गर्दा पछिल्लो समय फाट्टफुट्ट आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका छन् । ढोरपाटन सिकार आरक्ष क्षेत्रमै पर्ने हुँदा यहाँ पुग्ने पर्यटकले विभिन्न प्रकारका वन्यजन्तु प्रत्यक्ष रुपमा अवलोकन गर्न सक्छन् भने वास्तविक गाउँले जनजीवनको अनुभूति गर्न सक्छन् । निसेलढोर सडकले जोडिनु पूर्व बर्खाको समयमा मात्रै यहाँ स्थानीय बसोबास गर्थे भने सडक पुगेपछि अहिले बाह्रै महिना यहाँ बस्नेको संख्या बढ्दै गएको छ । यहाँ खास गरि निसीखोला गाउँपालिका–५ निसी गाउँका स्थानीयको बढी बसोबास हुने गर्छ । पछिल्लो समय घुमफिरका लागि निसेलढोर आउने पर्यटक बढ्न थालेको स्थानीय फुर्सी विकले बताउनुभयो ।

उहाँले सहर बजारबाट एक÷दुई रात बासबस्न, गाउँले खानाको स्वाद लिन र यहाँको ठाउँ घुम्न युवाहरु बढी आउने बताउनुभयो । चार वर्ष अगाडिसम्म बाहिरी मान्छे खास्सै नआएको भन्दै अहिले महिनामा १५/२० जना आन्तरिक पर्यट निसेलढोर पुग्ने विकको भनाइ छ । पहिले बर्खामा निसेलढोर र हिउँदमा निसी बसोबास गरेको भन्दै अहिले यही पशुपालन गरेर स्थायी रुपमा बस्न थालेको उहाँ बताउनुहुन्छ ।

“धूरी डाँडा काटेर आउने जाने गर्नु पथ्र्यो, अहिलेको जस्तो माटोरबाटो आएको थिएन, मोटरबाटो आए पनि बुर्तिबाङ घुमेर निसी पुग्नु पर्ने बाध्यता थियो, अहिले धेरै वर्ष भयो, यतै बस्न थालेका छौँ, सुरुसुरुमा सुनसान थियो, यही रमाइलो ठाउँ रहेर र बस्यौँ, अहिले त धेरै मान्छेहरु यहाँ बस्न थाले” विकले भन्नुभयो – “पछि–पछि यो ठाउँ पनि विकास भएर बजार बन्ला, पहिलेभन्दा अहिले केही सुविधा भएको छ, केही वर्षपछि अझै धेरै सेवा सुविधा बढ्ने छन्, हाम्रा सन्तानहरुले धेरै दुःख पाउने छैनन्, हाम्ले १ दिन भरी लगाएर बुर्तिबाङबाट चामल र नुन ल्याएर खान्थ्यौँ ।”

निसेलढोरवासीको मुख्य पेसा पशुपालन र कृषि हो । यहाँका एकै किसानका हजारौँ भेडाबाख्रा हुन्छन् भने सयौँ गाईभैँसी पाल्ने गरेका छन् । भौलिक विकटताका कारण पछाडि परेको निसेलढोरमा अहिले पनि संचारको पहुँच पुगेको छैन । विकासका नाममा पुगेको त्यही एउटा मोटरबाटो हो । मोटरबाटो पनि निकै जोखिमयुक्त छ । राज्यले लगानी गर्न सके निसेलढोर देशकै उत्कृष्ट पर्यटकीय गन्तव्य बन्न सक्ने निसीखोला गाउँपालिका–५ का हेमराज सापकोटाले बताउनुभयो ।

उहाँले स्थानीय सरकारले प्रचारप्रसार, विद्युत विस्तार र सडकलाई व्यवस्थित बनाउन सके वार्षिक हजारौँ पर्यटक निसेलढोरमा भित्राउन सकिने बताउनुभयो । यो ठाउँ प्राकृतिक रुपले निकै मनमोहक भए पनि भौतिक विकास नहुँदा ओझेलुनु परेको बताउनुहुन्छ । बुर्तिबाङ बजारदेखि ढोरपाटन उपत्यका हुँदै निसेलढोर जोड्न सडकको वैकल्पिक सडक निर्माण गर्न जरुरी रहेको भन्दै निसीखोला तिरबाट पनि पर्यटकका लागि पदमार्ग र छोटो सडक बनाउन आवश्यक रहेको सापकोटाको भनाइ छ ।

सापकोटा भन्नुहुन्छ – “निसेलढोरमा पर्यटक भित्राउन सरकारले धेरै काम गर्नु पर्दैन, विजुली, मोटरबाटो र केही संरचना बनाउन सके जति पनि पर्यटक यहाँ आउँछन्, सामान्य सेवा सुविधा नहुँदा निसेलढोर घुम्न आउने पर्यटक कम भएका हुन्, यहाँ सुविधा युक्त होटल, बास बस्न मिल्ने स–साना घरहरु पनि हुन जरुरी हुन्छ, यो ठाउँ घुम्नका लागि निकै उपयुक्त ठाउँ छ, हिउँद बर्खा पर्यटकको कमी हुँने थिएन, बर्खामा हरियालीसँग रमाउने र हिउँदमा हिउँफुल खेल्न आउनेको कमी हुने थिएन ।”

अहिले फाट्टफुट्ट निसेलढोर पुग्ने आन्तरिक पर्यटक बिजुली नभएकै कारण बास नबसी फर्कने गर्छन् । अहिले पनि यहाँका स्थानीयबासी टुकीकै भरमा रात बिताउँछन् । यहाँबाट गाउँपालिकाको केन्द्रमा पुग्नै एक दिन लाग्छ । गाउँपालिकादेखि सिधा सडक सञ्जालले नजोडिएको हुँदा यहाँ पुग्न ढोरपाटन नगरपालिकाको केन्द्र बुर्तिबाङ बजार हुँदै जानु पर्छ । एक दशक पहिलेसम्म यहाँका स्थानीय जाडोयाममा बेँसी (निसीगाउँ) र गर्मीयाममा लेक (निसेलढोर) गर्ने गर्थे ।

निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्य बहादुर घर्ती मगरले भौगोविक विकटताका कारण अहिलेसम्म निसेलढोर विकासका हिसाबले पछाडि परेको हुँदा पर्यटक पनि भित्राउन नसकिएको बताउनुहुन्छ । निसेलढोरमा अब शिक्षा, स्वास्थ्य, विद्युत र सडकको सही व्यवस्थापन गर्ने र प्रचारप्रसारलाई तीव्रता दिने बताउनुभयो । यसै वर्ष स्वास्थ्य संस्था स्थापना गरेको र विद्युत विस्तारका लागि पयहल भइरहेको उहाँको भनाइ छ ।

“निसेलढोरलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने प्रयासमा हामी छौँ, पालिकाको सीमित बजेटले एकै पटक गर्न सकिदैन, यहाँको सडक, विद्युत र अन्य पूर्वाधार निर्माणका लागि प्रदेश र केन्द्र सरकारसँग सहकार्य गछौँ, आवश्यक पूर्वाधार निर्माण गरि प्रचारप्रसारमा जोड दिन्छौँ” अध्यक्ष घर्ती मगरले भन्नुभयो – “स्थानीय नागरिक पनि तत्पर हुनु पर्छ, यहाँका नागरिकको जीवन स्तर उकास्नका लागि पर्यटन प्रवद्र्धन जरुरी छ, अब यहाँको अन्य संभावनाको खोजी गरि प्रवद्र्धनमा लाग्ने योजना बनाएका छौँ ।”

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *