आदर्श अनलाइन, बागलुङ
राष्ट्रिय जनमोर्चा बागलुङको बैठकले नेतृत्वको जिम्मेवारी हेरफेर र जिल्लामा विकास निर्माणमा भएको ढिलासुस्ती र अनियमितताका विषयमा समिक्षा गर्दै खबरदारी गर्ने निर्णय गरेको छ ।
शुक्रबार बैठकको निर्णय सार्वजनिक गर्दै जनमोर्चाले गत फागुन १९, २० र २१ गते बागलुङमा सम्पन्न सम्मेलनबाट अध्यक्षमा चयन हुनुभएका जिल्ला अध्यक्ष राजेन्द्र ढुङ्गानाले राजीनामा दिएपछि नयाँ नेतृत्वको जिम्मा तेजबहादुर थापा (तिलक)लाई दिने निर्णय गरेको जनाएको छ ।
बैठकले महंगी, यातायात क्षेत्रको भाडादरमा देखिएको मनोमानी लगाएतका विषयमा सम्बन्धित निकायको ध्यानाकषर्ण गराउने निर्णय गरेको छ । अध्यक्ष ढुङ्गानाले पारिवारीक अवस्था, अन्य जिम्मेवारी र कार्यव्यस्तताका कारण देखाउँदै राजीनामा दिएपछि उहाँको राजिनामा स्विकृत गर्दै बैठकले जिल्ला सदस्य थापालाई अध्यक्षमा चयन गरेको हो ।
बैठकले ढुङ्गानालाई जिल्ला सल्लाहकारमा चयन गरेको पत्रकार सम्मेलन गरि जनाकारी गराएको हो । बैठकले गरेका निर्णय जानकारी गराउँदै अध्यक्षको जिम्मेवारी पाउनु भएका थापाले २०८० साल भरि पार्टीले संचालन गरेको ऐतिहासिक तीन अभियान कार्यक्रम अन्तरगत भदौ महिनामा सबै जनवर्गीय संगठनको जिल्ला स्तरीय सम्मेलन, भेला, बैठक, र जनप्रतिनिधीहरुको कार्यशाला गर्ने, भदौ मसान्त भित्र नै पालिका तथा वडा तहको बैठकका लागि जिम्मेवारी तोक्ने निर्णय भएको बताउनुभयो ।
असोज ५ गतेदेखि २७ गतेसम्म जिल्लाका ८५ वटै वडामा विशेष संगठनात्मक अभियान संचालन गर्ने, दशै तिहारको सन्दर्भमा सबै वडा तहमा बर्तमान राजनीतिक परिस्थिती र यसको प्रभाव, वैदेशिक हस्तक्षेप लगाएत जनजिविकाको सवालमा छलफल, अन्तरक्रिया सहित शुभकामना आदानप्रदान गर्ने निर्णय पनि भएको थापाले जानकारी दिनुभयो ।
पत्रकार सम्मेलनमा जनमोर्चाका पूर्व जिल्ला अध्यक्ष तथा जिल्ला समन्वय समिति बागलुङका अमरबहादुर थापा र निर्वतनमा अध्यक्ष राजेन्द्र ढुङ्गाना बोल्नु भएको थियो । कार्यक्रमको संचालन जिल्ला सचिव भिमलाल पोखरेलले गर्नु भएको थियो ।