धानको गाँज कुहिने प्रकोपले किसान चिन्तित

आदर्श अनलाइन, बागलुङ

खुमलचार जातको धानको जाँज कुहिने प्रकोपका कारण अहिले बडिगाड गाउँपालिकाका किसान चिन्तित भएका छन् । हुर्कन लागेको धानको गाँज कुहिएर मर्न थालेपछि किसान समस्यामा परेका हुन् । बागलुङको बडिगाड गाउँपालिकाले गत आर्थिक वर्षमा अनुदानमा वितरण गरेको खुमलचार जातको धानको बिउ लगाएका किसानहरु अहिले समस्यामा परेका छन् ।

बडिगाड गाउँपालिकाले रु. २ लाख २० हजार लागतमा खुमलचार, खुमलआठ, खुमलदश र पेख्रेली जेडोबुढोको चार हजार १०० केजीको धानको बिउ ५० प्रतिशत अनुदनमा बितरण गरेको थियो । तर खुमलचार जातको धानको बिउ लगाएका किसानहरुको खेतमा धानको गाँज मर्न थालेको छ ।

बडिगाडको खौलारा, खाल र खर्बाङ आसपासका क्षेत्रको झण्डै ३० हेक्टर धानको खेतमा लगाइएको खुमलचार जातको धानमा जरा कुहिने समस्या देखिएपछि किसानहरु निरास भएका छन् । पालिकाले अनुदानमा दिएको बिउका कारण अहिले खेतमा धान मरिरहेको बताउदै बडिगाडका गाउँपालिका–५ ग्वालिचौरका सिता आचार्यले पालिकाले यसको क्षतिपूर्ती दिनुपर्ने बताउनुभयो ।

बडिगाडका स्थानीय किसान लक्ष्मण बिक र सिता आचार्य लगाएको धानखेतमा जरा कुहिने रोगको प्रकोपले धान उत्पादन घट्ने देखिएको हो । बडिगाड गाउँपालिकाले धानको उत्पादन बढाउन किसानलाई उन्नत जातको चार प्रकारको धानको बिउ अनुदान दिएपनि खुमलचार जातको धानमा समस्या देखिएको बडिगाड गाउँपालिकाका कृषि शाखा प्रमुख इश्वर ओलीले जानकारी दिनुभयो ।

“ल्याब परिक्षण गरेका बिउमात्रै खरिद बिक्रि वितरण गर्ने गरिन्छ, अन्त सफल भइसकेको खुमलचार जातको धानको बिउ यहाँ सफल भएन, पालिकाले परिक्षणका लागि थोरै मात्रमा बिउ बितरण गर्न थालेको थियो, पछि किसानको माग खुमलचारमै बढी भयो, पालिकाले पुनःखुमलचारको बिउ खरिद गरेर अनुदानमा बितरण गरेको थियो” शाखा प्रमुख ओलीले भन्नुभयो “यो क्षेत्रमा खुमलचार राम्रो हुन्छ भनेर सरकारले वर्गीकरण गरेको भुगालमै पर्दछ, अहिले खमुलचार धान रोपेका किसानको घर–घरमा पुग्ने तथा विषादी वितरण गर्ने गरेका छौं ।”

ओलीका अनुसार धानको जरा कुहिने समस्या चारवर्ष पहिला पनि गलकोटमा देखिएको बताउदै पालिकाले वितरण गरेको अन्य धानको बिउ भने राम्रो भएको उहाँको भनाई छ । एक हजार ८०० खुमलचारको धानको बिउमध्ये एक हजार ३०० खुमलचारको धानको बिउ प्रयोगमा आएको ओलीको भनाई छ । खुमलचारको बिउमा जरा कुहिने समस्या आएपछि उक्त खुमलचार जातको धानको बिउ लगाउने किसानहरुको उत्पादनमा ५० देखि ७० प्रतिशत धानको उत्पादन घट्ने भएको हो ।

पालिकाले प्रदान गरेको खुमलचार जातको धान मात्रै ३० हेक्टरमा रोपिएको बताउदै किसानले समेत आफै खुमलचार जातको बिउसमेत लगाउदै आएको बताउनुभयो । किसानको समस्या आएपछि पालिकाले विभिन्न स्थानमा लगाइएको खुमलचारजातको धानको अनुगमन गरेको र किसानलाई विषादी छर्नका लागि विषादी उपलब्ध गराएको बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीले जानकारी दिनुभयो ।

थापाको किसानको गुनासो आइसकेपछि रु. एक लाख लागतमा विषदी खरिद गरेर धानमा छर्नका लागि वितरण गरिरहेको बताउदै किसानको समस्याप्रति पालिका गम्भिर भएको बताउनुभयो । उक्त रोग बिउबाटै सर्ने कृषि प्राविधिकको भनाई छ । उक्त बिउ पालिकाले नुवाकोटबाट खरिद गरेर ल्याएको थियो ।

जराकुहिने रोग लागेपछि धानले गाँज नहाल्ने र भएको गाँज सुक्दै जाने गरेको किसानको भनाई छ । पालिकाले वितरण गरेको विषादीले हुन सक्ने नोक्सानीलाई घटाउने छ । खुमलचार जातको धानमा जराकुहिने प्रकोप देखिनु र अन्य बिउमा समस्या नहुँदा उक्त स्थानमा खुमलचारजातको खेती उपयुक्त नभएको पालिकाको ठहर छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *