मध्यपहाडी लोकमार्गको निसीखोला खण्ड अवरुद्ध

आदर्श अनलाइन, बागलुङ
भारी वर्षका कारण राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग पूर्ण रुपमा अवरुद्ध बनेको छ । लोकमार्गको निसीखोला गाउँपालिका–४ कानाबगर स्थित ठाडोखोलामा बाढी आउँदा बागलुङ–बुर्तिबाङ–पूर्वी रुकुम पूर्ण रुपमा अवरुद्ध भएको हो ।

सडक अवरुद्ध भएपछि पूर्वी रुकुमदेखि काठमाडौँ, पोखरा, बागलुङ लगायतका स्थानमा छुटेका मालवाहक तथा सवारी साधान सडकमा ठप्प भएका छन् । लोकमार्ग ठप्प हुँदा सयौँ यात्रु सडकमै अलपत्र परेका छन् । अहिले पनि भारी वर्षा भइरहेको हुँदा सडक खुलाउन नसकिएको निसीखोला गाउँपालिका–४ का अध्यक्ष टिकानिधी पौडेलले जानकारी दिनुभयो ।

बाढीले करिब दुई सय मिटर कालोपत्रे सडकमा क्षति पु¥याएको अध्यक्ष पौडेलको भनाइ छ । कानाबगर हुँदै ओखरेनी जोड्ने शाखा सडकमा पहिरो जाँदा कालापैरा खोलामा बाढी आएर सडक अवरुद्ध बनाएको उहाँ बताउनुहुन्छ । बुर्तिबाङ, बागलुङ, पोखरा, काठमाडौँ र बुटवलदेखि निसी, भल्कोट हुँदै रुकुम जाने यात्रु कानाबगरमा रोकिएको उहाँको भनाइ छ ।

“केही दिन भयो दिनदिनै पानी परि राखेको छ, हिँजोदेखि एकदम ठूलो वर्षा भएको छ, यो खोलामा बाढी आइ राखे पनि गाडीहरु जसोतसो पन्छाउँदै ओहोरदोहोर गर्थे, आज त ठूलै बाढी आएको छ,” अध्यक्ष पौडेलले भन्नुभयो – “वर्षा नरोकिएसम्म सडक खुलाउन सकिने संभावना कम छ, खोलामा लेदोसहितको बाढी आइ राखेको हुँदा सडकमा अझै धेरै क्षति पु¥याउने देखिन्छ ।”

यस खण्डको खाडुखोलामा पनि बाढी आउँदा यातायात संचालनमा समस्या भएको छ । वर्षाका कारण निसीखोलाका सबै ग्रामीण सडक ठप्प भएको उहाँको भनाइ छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *