सम्पादकीय
धर्म निरपेक्ष मुलुक हो नेपाल । वर्षौ वर्ष हिन्दु राज्यको रुपमा रहेको नेपाल ऐतिहासिक जनआन्दोलन पश्चात स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था सँगै धर्मनिरपेक्ष बन्यो । हरेक धर्मालम्बली आफ्नो इच्छा अनुसारको धर्म मान्न पाउने अधिकार सुनिश्चित भयो । यससँगै हिन्दु बाहेकका धर्म मान्ने संख्या बढ्दो देखिन थालेको छ । विशेष गरेर क्रिस्चियन धर्मालम्बीको संख्या उल्लेख्य मात्रामा बढे्को छ भने अधिकांश स्थानमा धमाधम चर्चहरु बन्ने बनाउने क्रम जारी छ । यही क्रममा धरानमा त धार्मिक टकराव तिब्र बनेको छ । हिन्दु धर्म र क्रिस्चियन धर्मालम्बी बिचको विवाद र बहस एकातिर छ भने पहिचानवादी समूह र त्यस इतरको समूह र पार्टीहरु बिचको विवाद पनि पेचिलो बन्दै गएको छ । जसले सामाजिक सद्भावमा खलल पुग्ने हो कि भन्ने खतरा बढेको छ ।
यही अनुक्रममा हिन्दु धर्मालम्बीको जनैपूर्णिमा, रक्षाबन्धन र गाईजात्रा पर्व आज बिहीबार मनाइदैछ । बिभिन्न धर्मका बिच विवाद पेचिलो बन्दै जाँदा धर्मशास्त्र, संस्कृति र परम्परा अनुसार मनाउनुपर्नेमा हिन्दु धर्मशास्त्रविद्को जोड छ । उसो त एकै दिन अनेकन पर्वको संयोग पर्छ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइन्छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् भने आजकै दिन ब्राह्मण, क्षत्री र वैश्य गरी तीन वर्णका तागाधारीले आफ्नो जनै (यज्ञोपवीत) फेर्छन् । वैदिक गुरु परम्पराअनुसार यज्ञोपवीत अर्थात् जनैलाई ब्रह्मसूत्र अथवा ज्ञानको धागो समेत भनिन्छ । नेपालको तराई क्षेत्रमा भने आजकै दिन दिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर मनाइन्छ । यसबाट दिदी बहिनी र दाजुभाईका बीचमा प्रेमसम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यता छ । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ समेत आजकै दिन आरम्भ हुँदै छ । जनै पूर्णिमाका दिन एघार थरीका गेडागुडी मिसाई भिजाएर टुसा उमारेर बनाइएको क्वाँटी खाने परम्परा छ ।
एकैदिन अनेकन पर्वको सुखद संयोगले राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा धार्मिक, सांस्कृतिक विविधताको उदाहरण मात्र पेश गर्दैन, सकारात्मक सन्देश समेत प्रवाह गर्छ । नेपाली समाज मौलिक, धार्मिक, परम्परागत संस्कार संस्कृतिका हिसाबले कति धनी छ भन्ने देखाउँछ । यी र यस्ता विविधता सहितका चाडपर्वहरुको मौलिकता र निरन्तरतामा क्रमशः स्खलन आउन थालेको छ । यसमा पश्चिमा संस्कृतिको देखासिकी र प्रभाव त कारक देखिन्छ नै, त्यसबाहेक पुरानो पुस्ताले नयाँ पुस्तालाई आफ्ना चाडपर्व, संस्कार, संस्कृतिको बारेमा यथोचित जानकारी गराएर पुस्तान्तरण नगर्ने समस्या र प्रवृत्ति पनि उत्तिकै कारक छ । नयाँ पुस्ता पनि आफ्नो संस्कार संस्कृति प्रति उदासीन बन्नु हुँदैन । चाडपर्व, संस्कार संस्कृतिले पारिवारिक मेलमिलापदेखि सामाजिक अन्तरघुलन, सांस्कृतिक विविधताको सुन्दरता लगायतका बहुआयामिक अर्थ राख्छ । अतः नेपाली समाजको मौलिक संस्कार, संस्कृति, चाडपर्वलाई समय सापेक्ष परिवर्तन गर्दै अघि बढ्न जरुरी छ ।