खसीबोका निर्यात बढाउन मासु र घाँसमा अनुदान


खेमराज गौतम, बागलुङ

बागलुङ जिल्ला मासुमा आत्मनिर्भर भइसकेको छ । अब बागलुङको लक्ष्य मासुको लागि आवश्यक खसिबोका निर्यात गर्नु हो ।

जनसंख्याका आधारमा मानिसलाई चाहिने मासुको मात्राका आधारमा बागलुङ मासुमा आत्मनिर्भर भइसकेपछि निर्यात बढाउनका लागि घाँस र मासुलाई जोडेर अनुदान दिने कार्यक्रम ल्याइएको छ ।

उत्पादनका आधारमा अनुदान अहिलेका व्यावसायिक किसानहरुको माग रहेकाले उत्पादन लक्षित कार्यक्रममा अनुदान दिन थालिएको छ ।

मासुमा आत्मनिर्भर भइसकेको बागलुङले मासुको उत्पादन बढाएर निर्यात गर्नका लागि चालु आर्थिक वर्षमा मासु र घाँसलाई जोडेर अनुदानको कार्यक्रम ल्याएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङले जनाएको छ । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले चालु आर्थिक वर्षमा मासु उत्पादनको आधार र बाँझो जग्गामा दगाइएको घाँसमा अनुदान दिन रु.३८ लाख बजेट बिनियोजन गरिएको छ ।

बागलुङमा खसीबोकाको उत्पादन राम्रो भइरहेको बताउदै केन्द्रले घाँसमा आधारित मासु वृद्धिका लागि मासु र घाँस दुबैमा अनुदानको कार्यक्रम ल्याइएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द बागलुङका वरिष्ठ पशु चिकित्सक डा. ऋषिराम सापकोटाले बताउनुभयो ।

“धेरै अनुदानका कार्यक्रम परिमार्जन गरेका छौं, गाईभैसीलाई गोठ बनाउने, बाख्रालाई खोर बनाउन लाखौं लगानी गर्ने खोरमा पशु नहुँने अवस्थाले हामीलाईनै समस्या बनायो, उत्पादनका आधारमा अनुदान दिदा असली कृषकले लाभ पाउने देखिन्छ” प्रमुख सापकोटाले भन्नुभयो “खसीबोकाको मासुलाई आधार मानेर मासुमा अनुदान र बाँझो जग्गामा व्यावसायिक घाँस खेति गर्ने कृषकलाई रोपनीका आधारमा अनुदान दिन थालिएको हो ।”

मासुमा अनुदान कार्यक्रम सहकारी र समूह मार्फत गरिएको सामुहिक बाख्रापालन केन्द्रित बन्ने सापकोटाको भनाई छ । यस्तै घाँसमा आधारित पशुपालनलाई प्रोत्साहन गर्न र बाँझो जग्गाको सदुपयोग गर्नका लागि घाँसमा समेत अनुदान दिन थालिएको बताउदै सापकोटाले यस्तो कार्यक्रम पहिलोपटक ल्याइएको बताउनुभयो ।

दुईवटा अनुदानको कार्यक्रमले एउटै उदेश्य मासुको वृद्धि रहेको बताउदै प्रदेश सरकारले कार्यविधि बनाएर पठाउने र कार्यविधि अनुसार वितरण गरिने छ । मासुमा प्रतिक केजी रु. २० र घाँस प्रति रोपनी रु. तीन हजारका दरले बहुवर्षे व्यावसायिक घाँसलाई अनुदान दिइने छ ।

चालु आर्थिक वर्षमा एक हजार मेट्रिक टन मासुलाई रु. २० लाख र ६०० रोपनी जग्गाको घाँस खेतिलाई रु. १८ लाखको दरले अनुदान दिइने छ । भौतिक निर्माणमा अनुदान वितरण गर्दा प्रभावकारी नभएपछि उत्पादनका आधारमा अनुदान दिन थालिएको हो ।

पछिल्लो समय बाँदरको समस्याका कारण जग्गाहरु बाँझो हुँन थालेपछि राज्यले बाँझो जग्गा सदुपयोगको नीति अनुसार व्यावसायिक घाँस खेति गर्दा जग्गाको सदुपयोग मासुको उत्पादन बढाउने लक्ष्य लिइएको छ ।

घाँसको अनुदान फर्म केन्द्रित र मासुको उत्पादन सहकारी केन्द्रित गरेर अनुदान दिइने छ । पशुपालन गर्ने कृषकलाई जग्गा बाँझो नराखी घाँसखेतीमा लाग्न घाँसमै अनुदान दिन थालिएको हो ।

यस्तो अनुदानले खसीबोका पालन गर्ने कृषकलाई प्रोत्साहन गर्ने देखिएको छ भने मासुमा आत्मनिर्भर जिल्लाले खसीबोका निर्यात गर्ने छ ।

बाख्रापालनको सम्भावना बढी भएको ठाउँका कृषकलाई लक्षित गरी यो कार्यक्रम सञ्चालन गरिनेछ । बागलुङको काठेखोला गाउँपालिका–४ तंग्रामका दुई सहकारीले गाउँमा उत्पादित खसीबोकाको बजारीकरण गरेर वार्षिक रु.तीन करोड भित्राउदै आएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *