सम्पादकीय
कोभिड काल र पछिल्लो आर्थिक मन्दी पश्चात नेपाली युवा बिदेशिने क्रम तिब्र बनिरहेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा बिदेश जाने युवा र विदाई गर्ने अभिभावक र आफन्तको भिड थामिनसक्नु छ । चोक, चिया पसल, चौतारा, आपसी भेटघाटहरुमा चौतर्फी चरम निराशाका गफगाफहरु मात्रै सुनिन्छ । देशको अस्थिर राजनीति, व्याप्त बेथितिले मुलुकमै केही गरौं भन्ने आदर्श सोच बोकेका असल र इमान्दार व्यक्तिहरु पनि विदेशलाई विकल्प बनाउन बाध्य भइरहेको बताउन थालेका छन् । जसले देशको अर्थतन्त्र, विकास र भविष्य भयावह अवस्था तर्फ उन्मुख हुँदैछ भन्ने गम्भिर संशय र चिन्ता व्यक्त भइरहेको छ । तर, राज्य सञ्चालकहरु यसरी दैनिक सयौंको संख्या परदेशिएकोमा गम्भिरता देखाएर ठोस नीति निर्माण र कदम चाल्न तर्फ होइन, आफ्नै स्वार्थ समूह र तिनकै उल्झनको घेराबाट बाहिर निस्केर जनपक्षिय काम गर्न सकिरहेका छैनन् ।
वैदेशिक रोजगारको ताजा तथ्यांकले त उदेक लाग्दो अवस्था सन्निकट भएको देखाउँछ । पछिल्लो दुई वर्षमा मात्रै वैदेशिक रोजगारीका लागि १४ लाख युवा बिदेसिएका छन् । यस अवधिमा १२ लाख ८० हजार एक सय ६२ पुरुष र एक लाख २१ हजार दुई सय ६२ महिला विदेश गएको वैदेशिक रोजगार विभागको तथ्यांक छ । यसमध्ये करिब ८० प्रतिशत युवा खाडी र मलेसिया पुगेका छन् । पछिल्लो पाँच वर्षमा १४ लाख ४६ हजार श्रमिक (नयाँ श्रम स्वीकृति लिएका मात्रै) खाडीका विभिन्न मुलुक र मलेसिया गएको देखिन्छ । तीन लाख ३० हजार पाँच सय कतार, मलेसियामा तीन लाख २६ हजार, साउदी अरबमा तीन लाख ६१ हजार ६ सय, युनाइटेड अरब इमिरेट्स (युएई)मा दुई लाख ९६ हजार, कुवेतमा ८९ हजार एक सय, २६ हजार ६ सय ६९ बहराइन र १५ हजार तीन सय ३१ जना ओमान पुगेका छन् । पछिल्लो समय नेपाली विद्यार्थी र श्रमिक युरोपतिर मोडिएका छन् । विभागको तथ्यांक अनुसार पाँच वर्षको अवधिमा श्रम स्वीकृति लिएर १२ हजार दुई सय ९६ नेपाली श्रमिक साइप्रस गएका छन् । २४ हजार ६ सय नेपाली रोमानिया, १० हजार तीन सय माल्टा, आठ हजार दुई सय पोल्यान्ड, चार हजार तीन सय टर्की, एक हजार नौ सय ५२ जना पोर्चुगल पुगेका छन् ।
कोभिड महामारी र त्यस पछि रुस युक्रेन युद्धसँगै उत्पन्न विश्वव्यापी आर्थिक संकटका कारण नेपाल र नेपाली पनि संकट र सकसमा छन् । भएका उद्योग–व्यवसाय पनि धराशायी बन्न थालेका छन् । जीविका धान्ने जागिरबाट समेत धेरैले हात धुनु परेको छ । नयाँ लगानी गरेर केही गर्ने अवस्था छैन । मुलुकको केन्द्रीय राजनीति, प्रादेशिक राजनीतिक उस्तै अस्थिर अवस्थामा छ । व्यवस्था बदलिए पनि शासन प्रणाली, नीति निर्माणमा सीमित स्वार्थ समूह र व्यावसायिक घरानाकै हालीमुहाली छ । जसलाई तोडेर जनताका पक्षमा साहसिक र स्मरणयोग्य कार्य गर्ने राजनेता छैनन् । संघीय सरकारले सुशासनका क्षेत्रमा केही सकारात्मक कार्यको थालनी गरे पनि सत्तारुढ दलकै नेताहरु एक पछि अर्को मुछिन थाले पछि अनुसन्धान र कारबाही फितलो हुन थालेको छ । दैनिक बिदेश जानका लागि बिमानस्थलमा भिड लाग्ने युवा पुस्ता रोक्ने कुनै नीति र योजना छैन । बरु बिदेशबाट रेमिट्यान्स भित्राएकोमै खुसी मानेर बस्ने बिडम्बनापूर्ण अवस्था बिद्यमान छ । अबका दिनमा पनि यसबारे नसोच्ने हो भने भोलिका दिनमा नेपालमै बस्ने र केही गर्ने असल र इमान्दार जमात पाउन निकै मुश्किल पर्नेछ ।