बागलुङमा जेसीज सप्ताह शुरु, दुई जना युवा लाई सम्मान

रोहन जि.सी, बागलुङ

युवाहरुको नेतृत्व र क्षमता बिकासमा सक्रिय बागलुङ जेसीजले जेसीज सप्ताह २०२३ बिभिन्न कार्यक्रमका साथ शुरु गरेको छ ।

७ दिनसम्म बिभिन्न कार्यक्रमका साथ मनाउन शुरु गरिएको सप्ताहको पहिलो दिन उद्घाटन तथा युवा सम्मान कार्यक्रम गरिएको छ । सप्ताहको उद्घाटन बागलुङ नगरपालिकाका नगर प्रमुख एवँ बागलुङ जेसीजका पूर्व अध्यक्ष बसन्तकुमार श्रेष्ठले गर्नुभएको थियो ।

कार्यक्रममा समाज रहेर बिभिन्न क्षेत्र मार्फत उत्कृष्टता तथा सफलता हासिल गर्ने २ जना युवालाई सम्मान गरिएको थियो । त्रिभुवन बिश्वबिद्यालय अन्तरगत धौलागिरि बहुमुखी क्याम्पसबाट बिविए सातौ सेमेष्टरमा चार जिपीए ल्याउने प्रतिक्षा गौतम र बिहँुकोट इन्टरनेटका संचालक व्यवसायी टेकनारायण कँडेललाई सम्मान गरिएको थियो ।

कार्यक्रममा बोल्दै बागलुङ नगरपालिकाका नगर प्रमुख एवँ बागलुङ जेसीजका पूर्व अध्यक्ष बसन्तकुमार श्रेष्ठले हरेक क्षेत्रलाई सफल बनाउका लागि चिन्ता आवश्यक रहेको बताउनुभयो । नगर प्रमुख श्रेष्ठले चिन्ता भयो भने मात्र काम सफल हुने चर्चा गर्दै उहाँले युवाहरुमा सकरात्मक सोचको आवश्यकता खड्किदै गएको बताउनुभयो ।

समाज नकरात्मक रुपबाट अगाडि बढेकोप्रति चिन्ता व्यक्त गर्दै उहाँले युवाहरु सकरात्मक सोचका साथ अगाडि बढ्न सकेमा मात्र समाज र देशले परिवर्तनको अनुभुति गर्र्ने बताउनुभयो ।

कार्यक्रममा बागलुङ जेसीजका संस्थापक अध्यक्ष श्याम श्रेष्ठ, नेपाल जेसीजका राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष रजनी थापा, राष्ट्रिय उपाध्यक्ष चन्द्रमणी भुषालले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

त्यसैगरि पर्वत जेसीजका अध्यक्ष बिनोद आचार्य, बागलुङ उद्योग बाणिज्य संघका द्धितीय उपाध्यक्ष सञ्जयकुमार श्रेष्ठ, नेपाल पत्रकार महासंघ बागलुङका सचिव बिजय राना, बागलुङ जेसीजका दिर्घकालिन कार्यक्रम संयोजक ताराप्रसाद शर्मा र सम्मानित व्यक्ति प्रतिक्षा गौतमले मन्तव्य व्यक्त गर्नुभएको थियो । सप्ताहका वारेमा मूल संयोजक गणेश महतोले जानकारी गराउनुभएको थियो ।

कार्यक्रम बागलुङ जेसीजका शाखा अध्यक्ष सौरभ श्रेष्ठको अध्यक्षता, लिडर्स अध्यक्ष दिवाकर शाक्यको स्वागत र महासचिव अञ्जिला श्रेष्ठको संचालनमा सम्पन्न भएको थियो ।

सप्ताहको दोस्रो दिन २४ गते आइतवार स्वर्गिय सत्यदेवी स्मृति स्लो वाइक रेस प्रतियोगिता, २५ गते सोमवार बिद्यालय स्तरिय रमपम नृत्य प्रतियोगिता, २६ गते मंगलवार लागुऔषध विरुद्ध सचेतना कार्यक्रम, २७ गते बुधवार भिरलाङ्खुरी हाइकिङ तथा प्रभावकारी भाषण कला तालिम आयोजना गरिएको महतोले जानकारी दिनुभयो ।

त्यसैगरि भदौ २८ गते बिहिवार बागलुङका विभिन्न सामाजिक संघसंस्था बिच फुटसल र सप्ताहको अन्तिम दिन २९ गते शुक्रवार समापन समारोह एवँ स्वर्गिय प्रगति स्मृति अन्तर मा.वि स्तरीय बक्तृत्वकला प्रतियोगिता सहित पुरस्कार वितरण हुने उहाँले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *