फजुल खर्च गर्ने : सहकारीको ऋण नतिर्ने ?

सिर्जना पन्त
जन्मदिन, विवाह, बैवाहिक वर्षगाठ लगायत व्यक्तिका निजी पर्वहरु पछिल्लो समय भव्य रुपमा मनाउने प्रचलन बढेर गएको छ । आम्दानी राम्रो हुनेहरुले गरेको देखेर नहुनेहरुले ऋणै खोजेर भएपनि धुमधामका साथ यस्ता पर्व मनाउनेको संख्या बढ्दो छ । रोजगारीको सिलसिलामा विदेशमा रहेका एकजना महानुभावको जन्मदिन केही समय पहिला भव्य रुपमा मनाएका भिडियो र तस्वीरहरु सामाजिक सञ्जालमा पोष्ट गरिएका थियो । परिवार सहित आफन्तहरुलाई बोलाएर भव्य रुपमा मनाइएको जन्मदिनको सन्दर्भमा उनका नजिकका आफन्त एकजनाले यस पंक्तिकारसंग गरेको सम्वाद पछि मनमा लागेका कुरा समेटेर यो आलेख तयार गर्दैछु ।

जन्मदिन मनाउने महानुभाव र उहाँको परिवारका सदस्यहरुले दशक पहिला नेपालमै व्यवसाय गर्दथे । व्यवसायमा समस्या आयो वा विदेशको भूत सवार भयो, थाहा भएन तर उनीहरुको परिवारको एकजना विदेश गए । विदेशको लामै प्रयास पछि परिवारका सदस्यहरु पनि यतिबेला विदेशमा छन्, उनीहरुको जीवन शैली हेर्दा अरुका लागि डाह गर्ने खालकै छ, ति आफन्तले यस पंक्तिकारसंग भने ।

व्यापार गर्दा होस् वा विदेश जादा त्यो परिवारलाई ऋण ठुलै लागेको रहेछ । व्यक्तिसंग, सहकारीसंग, बैंकसंग ठुलै ऋण लिएको चर्चा चल्ने गरेको छ । ऋण के कति छ, कसरी चलेको छ, त्यो थाहा भएन, तर गाउँमा बस्ने नजिकका आफन्तलाई भने निकै तनाव छ, कहिले व्यक्ति पैसा माग्न जान्छन्, कहिले सहकारीका सञ्चालक कर्मचारी कागजपत्र देखाउदै ऋण मिलाइदिनु परो भन्दै जान्छन् । त्यति मात्रै होइन, उनका नजिकका हुन भन्ने चिनेका धेरै मान्छेलाई ऋण उठाउन पर्ने संघ संस्था र व्यक्तिले धेरै पटक धेरै ठाउँमा ऋण मिलानका लागि सहयोग गरिदिन अनुरोध गर्ने गरेको पनि आफुले जानकारी पाएको उनले बताए । तर जसले ऋण लगेको हो, जुन परिवारका लागि ऋण परिचालन भएको हो त्यो परिवार ऋण तिर्ने कुरा ग¥यो कि ? आम्दानी छैन, बल्ल सेटल हँुदैछौ, सके तिरौला केरे ? भन्दै ऋण दिने व्यक्ति र संस्थालाई दशकदेखि ढाटी रहेका छन् । ढाट्ने मात्रै होइन, उनीहरुको नियत नै पैसा नतिर्ने खालको देखिएको सम्बन्धित ऋण दिनेहरुले बताउने गरेका छन् । विदेशमा छौ, कसले के गर्छ र ? जस्ता कुरा गर्ने, सके तिर्ने त हो भन्ने जस्ता अभिव्यक्ति दिने गरेको भन्दै ऋण दिने व्यक्तिहरुले गुनासो गर्ने गरेको उनले बताए ।

यस्तै पहिला सहकारीमै कर्मचारी रहेकी एकजना हाल ठुलै देशमा काम गर्छिन्, उनी आफु मात्र होइन, परिवार नै संगै छन्, उनले पनि आफुले काम गरेको लगायतका सहकारीहरुबाट लगेको ऋण तिरेकी छैनन्, उनको परिवारको खर्च हेर्दा पनि सामान्य लाग्दैन । पारिवारीक उत्सव उनको पनि सान सौकतकै साथ मनाएको देखिन्छ ।

यहाँ चर्चा गर्न खोजिएको विषय ऋण लगेर नतिर्ने र व्यक्तिगत र पारीवारिक जिवनशैली चाँही उच्च स्तरको व्यतित गर्नेहरुका बारेमा हो । खर्च व्यवस्थापन गरेर ऋण तिर्न नसक्नेहरुको हालत पछि के होला ? भविष्यलाई छोडिदिउ, अहिले वर्तमानलाई हेर्दा त्यस्ता मान्छेहरुको बारेमा यदी सावर्जनिक रुपमा चर्चा परिचर्चा मात्रै होइन, सञ्चारमाध्यममा आउन थाल्यो, कानुनी प्रक्रिया अगाडि बढ्यो भने के होला ? भन्ने विषय मात्र उठान मात्र गर्न खोजेको हो ।

गाउँघरमा मेला महोत्सव हुने गर्छन्, मेला महोत्सवमा आजकल सहयोग उठाउने फेशन नै भएको छ । परिवारका एक जना सदस्यले मेला महोत्सवका लागि चन्दा दिन्छ, आयोजकले परिवारका सबैको फोटो राखेर धन्यवाद दिन्छन्, गाउँको मेला महोत्सव सफल पार्न विदेशबाट समेत ठुलै सहयोग आउने गरेको छ । सहयोग आउनु नराम्रो होइन, तर सहकारीबाट लगेको ऋण नतिर्ने, व्यक्तिले दुख गरेर जम्मा गरेको रकम सापट लगेर फिर्ता नगर्ने अनि जन्मदिन, विवाह, वैवाहिक वर्षगाठमा धुमधामले खर्च गर्ने, समाजसेवी बन्नका लागि चन्दा, आर्थिक सहयोग दिने, अनुहार नै पुरिने गरी आयोजकबाट माला लगाएर ठालु पल्टनेहरुका बारेमा अब समाजमा चर्चा हुनै पर्छ । यस्ता व्यक्तिहरुका कारण अर्को पक्ष पीडित बनेको छ ।

पछिल्लो समय सहकारीमा बद्मासी भयो, सहकारीका सञ्चालकहरुले बचतकर्ता ठगे भन्दै उजुरीका चाङ लाग्न थालेका छन् । केही सहकारीका सञ्चालकले संगठित रुपमा सदस्यहरुको बचत डुबाइदिएका छन् । केही सहकारीका सदस्यहरुले व्यक्तिगत रुपमा सहकारीलाई समस्यामा पारिदिएका पनि छन् । यि दुवै थरी मान्छेहरु समाज बिगार्ने तत्व हुन्, यिनलाई कार्वाही गर्न आवश्यक छ ।

हाम्रो समाज एकांकी भएको छ । सामाजिक सञ्जालमा एउटाले गलत भन्यो भने सबै त्यसै माथि खनिने प्रचलन बढेको छ । विषयवस्तुका विषयमा गंभिरताका साथ विचार विमर्श गर्ने प्रचलन हट्दै गएको छ । सामाजिक सञ्जालमा राखिएका विषयवस्तु पनि भित्र गएर अध्ययन नगर्ने, शिर्षक हेरेर धारणा बनाउने प्रचलन बढेर गएको छ ।

भारतीय सेनाबाट सेवा निर्वत एकजना पूर्व सैनिकले पल्टनबाट छुट्टीमा आउदा आफन्त भनेर एकजना नजिकका समाजसेवी व्यक्तिलाई पैसा दिएको १५ वर्ष भयो, त्यत्तिको मान्छेले पैसा कसरी नदेलान र ? भन्ने सोचेर पैसा दिएका उनी अहिले विगत सम्झेर थुक्क भन्दै बसेका छन् । माग्दा तलाई पैसा किन चाहियो भनेर दिदैनन्, उल्टो थर्काउछन्, बाहिर बोलौ, शक्ति, सत्ता भएका मान्छेसंगको कुरा आफै समस्यामा परिएला भन्ने डर, नभनौ, आफुले दुख गरेर कमाएको रकम झ्वाम पारिदिदा पनि उल्टै उनैलाई सम्मान गरेर हिड्नु पर्ने अवस्था छ, उनले गुनासो गरे । ति वरिष्ठ समाजसेवी मानिने व्यक्तिले पनि आफन्तको, नातामा धेरै जनाको पैसा तिरेका छैनन् ति पीडितले भने, मेरो मात्र हो कि ? भन्ने लागेको थियो, बुझ्दै जादा धेरै जनाको पैसा तिनले तिरेका छैनन्, अरुको पैसा नतिरे पनि उनी समाजमा सबैका आदरणीय भएका छन्, यस्ता व्यक्तिहरुलाई कार्वाही गर्न पनि हामीसंग यथेष्ट प्रमाण छैन, विश्वासको भरमा पैसा दिइयो, पीडितले आफ्नो विगत कोट्याए ।

यस्ता सयौ घटनाहरु छन्, जहाँ सर्वसाधारण, काम गरेर खाने मान्छे, दुख गरेर पैसा जम्मा गरेका मान्छेको पैसालाई शक्तिमा भएकाहरु, पहिचान भएकाहरु, राजनीतिक र सामाजिक क्षेत्रमा नेतृत्वदायी भूमिकामा बसेकाहरुले दम्पच पारिदिएका छन् । सहकारीमा केही मान्छेले बद्मासी गरेका कारण सबै सहकारीकर्मी नै फटाहा हुन कि ? भन्ने मान्छेलाई परेको छ, समाजसेवीका नाममा वा यस्तै अन्य नाममा एक दुईजनाले गर्ने यस्ता बद्मासीले समाजमा इमान्दारीपूर्वक काम गर्नेहरुलाई समेत मान्छेहरुले शंकाको नजरले हेर्ने अवस्था छ । सबै मान्छे बद्मास छन् त ? होइन, केही मान्छे बद्मास छन् तिनको असर अरु धेरैलाई परेको छ ।

बागलुङ र कास्कीमा सहकारी सञ्चालन गरेका देव कुमार नेपाली भागेको साढे तिन महिना भयो, एउटा नगरपालिकाको प्रमुख जस्तो मान्छे दलबल सहित वेपत्ता हुदा पनि फेला पर्दैन कि ? फेला पार्न खोजिएको छैन ? रहस्यमय नै छ । सर्वसाधारणले जम्मा गरेको रकम फिर्ता नहुदा मान्छेहरु डिप्रेसनमा जाने अवस्थामा पुग्दा पनि सरोकारवालाहरुको खास ध्यान पुगेको देखिएको छैन ।

देव कुमार नेपालीसहित समाजका यस्ता आफुलाई वरिष्ठ ठान्ने व्यक्तिहरु जसले व्यक्ति वा संस्थाको पैसा लिएर फिर्ता गर्दैनन्, आफुले तिर्न बुझाउन पर्ने रकम भुक्तान गर्दैनन् । त्यस्तालाई कानुनी दायरामा ल्याउनै पर्छ । संगठित होस् वा व्यक्तिगत रुपमा गरिएको ठगी होस्, त्यो ठगी नै हो । चाहे त्यो सत्ताका आडमा गरोस्, आफन्तका नाममा गरोस् वा अरु कुनै माध्यमको प्रयोग गरोस् ।

फेरी पनि शुरुकै प्रसंग कोट्याउन चाहन्छु, जन्मदिनमा लाखौ खर्च गर्ने त्यो परिवारमा ४÷५ जना सदस्य छन्, सबै विदेशमै छन्, एकजनाको जन्मदिनमा करिव १ लाख खर्च गर्न सक्ने त्यो परिवारले यहाँका केही सहकारीमा सावाँ व्याज नतिरेको दशक भइसकेछ, सहकारीका सञ्चालक र कर्मचारी पटक पटक घरमा जाने, घरमा भएका परिवारलाई जानकारी गराउने र फर्कने गरेको पनि यस पंक्तिकारसंगको कुराकानीमा ति आफन्तले जानकारी दिए ।

विदेशमा उनीहरुलाई समेत पत्र पठाउने, जानकारी गराउने गरेको तर उनीहरुले विभिन्न बहाना गरेर पैसा नतिरेको उनले बताए । सहकारीमा बचतकर्ताले जम्मा गरेको रकम केही सहकारीका सञ्चालकको बद्मासीका कारण हिनामिना भएको छ, डुबेको छ, र केही सहकारीमा यस्तै ऋण नतिर्नेहरुका कारण समस्या सिर्जना भएको छ ।

प्रसंगवस चलेको चर्चासंगै मेरो मनमा अनेक तर्कना खेल्न थाले । जसले जन्मदिन भव्य रुपमा मनाए, उनलाई जन्मदिन मनाउने पुरापुर अधिकार छ । जन्मदिनमा लाखौ किन ? करोडौ खर्च गर्ने पनि पूर्ण अधिकार छ । सवाल यत्ति हो, आफुलाई अप्ठेरो पर्दा, समस्यामा साथ दिएका आफन्त र सहकारीहरुको ऋण नतिर्ने, ऋण माग्दा केही छैन, कमाई छैन, कसरी तिर्ने भन्दै उल्टै धम्क्याउने अनि जन्मदिनमा चाही लाखौ खर्च गर्ने ? किन ? मेरो मनमा उब्जेको प्रश्न हो ।

उनले सहकारीको ऋण नतिर्दा अर्को एकजनाले बचत फिर्ता पाउन सकेको छैन, उनले लिएको व्यक्तिगत ऋण नतिर्दा ऋण दिने मान्छेले अर्को ठाउँमा ऋण लिएर आफ्नो काम टार्नु परेको छ, उसले व्याज तिरीरहेको छ । तिर्न पर्ने ठाउँमा नतिर्ने अनि झुठो सान किन देखाउन पर्ने होला ?

मनमा लागेको जिज्ञासा मात्र हो । अहिलेसम्म सहकारी र व्यक्ति जो जसले ऋण दिएका थिए, उनीहरुले सार्वजनिक रुपमा सूचना निकालेका छैनन्, कानुनी प्रक्रिया अगाडि बढाएका छैनन्, यसको अर्थ उनीहरुलाई सधै नै छुट हुन्छ होला र ?

व्यक्तिले दिएको पैसा त व्यक्तिगत भयो, व्यक्तिले छोडिदिन पनि सक्ला । तर सहकारीको पैसा त आम सदस्यहरुको हो नि १ सहकारीले कसरी छोड्छ, कसरी छोड्न मिल्छ, उसलाई छोड्दा अरुलाई पनि छोड्न परेन, सबैलाई छोड्दा बचतकर्ताको रकम कसरी फिर्ता हुन्छ ?

यस्ता पाजी पजिनीहरुलाई कार्वाही गर्न नसक्ने सहकारीहरुप्रति दया लागेर आउछ । यस्तैका कारण अरुले पनि सहकारीहरुलाई टेरिरहेका छैनन् । यस्ता र यस्तै प्रवृतिका मान्छेहरुका कारण आज एकले अर्कालाई अविश्वास गर्नु पर्ने अवस्था सिर्जना भएको छ । एउटा सहकारीले बद्मासी गर्छ, अरु धेरै सहकारीलाई त्यसले अप्ठेरो अवस्था सिर्जना गरिदिन्छ, एउटा व्यक्तिले सहकारीलाई अप्ठेरो पारिदिन्छ, त्यसको असर सहकारीका आम सदस्यमा पर्छ ।

देव कुमार नेपाली र उनी जस्ता सहकारीको पैसाले व्यक्तिगत जीवन सम्पन्न शाली बनाउने कुधन्दावालाहरुले बचतकर्तालाई रुवाएका छन् । ऋण लगेर नतिर्ने र व्यक्तिगत जीवन ठाटबाँटका साथ बिताउने यिनी जस्ताका कारण बचतकर्ता मात्रै होइन, स्वयं सहकारीका सञ्चालक कर्मचारीहरु समेत समस्या परेका छन्, यस्तालाई छिटो भन्दा छिटो कार्वाही गरी बचतकर्ताको रकम फिर्ता गरिदिनु पर्छ । त्यसका लागि राज्यको निकाय र सरोकारवालाहरुले अब ढिला गर्नु हुँदैन ।
जहाँसम्म सहकारीबाट ऋण लगेर नतिर्ने र सहकारीमा समस्या सिर्जना गर्नेहरु छन्, ति स्वदेश वा विदेश जहाँ भए पनि कानुनी कार्वाहीको प्रक्रिया अगाडि बढाउन जरुरी छ ।

विदेशमा शानसंग जिन्दगी बिताउने तर सहकारीको रकम फिर्ता नगर्नेहरुलाई सम्बन्धित देशको दूतावास मार्फत कार्वाही गर्न सरकारले सिफारिस दिनु पर्छ । ऋण नतिर्नेहरुका कारण सहकारीहरु समस्यामा पर्ने, सहकारीहरु समस्या परेका कारण वचतकर्ताहरुको रकम जोखिममा पर्ने, बचतकर्ताहरुको रकम जोखिममा परेका कारण बजारमा पूँजि परिचालन नहुने अवस्था थप बढ्दै जाने अवस्थालाई मध्यनजर गरेर जो जसले समस्या सिर्जना गरेका छन्, त्यहीबाट कार्वाही सुरु गर्न जरुरी छ ।

हामीले एउटाले गल्ती गरेको पाइयो भने सबैलाई एउटै नजरले हेर्ने गर्छौ, समाजमा धेरै थरीका समस्याहरु छन्, सहकारीका नाममा ठगी गर्नेहरु पनि छन्, सहकारीलाई नै ठग्नेहरु पनि धेरै नै छन् । शानको जिन्दगी जिउने तर सर्वसाधारणका पैसा नतिर्नेहरुको पहिचान गरी सार्वजनिक सञ्चारमाध्यममार्फत उनीहरुको पहिचान उदांगो पार्न सक्ने हो भने समाजमा असल नियतका साथ काम गरिरहेकाहरुलाई सहज हुन्छ । अन्यथा यस्ता समस्याहरु आइरहन्छन, गलत गर्नेृहरु विभिन्न बहानामा उम्किरहने र राम्रो काम गर्नेहरु पनि उनीहरुकै कारण डामिने अवस्था रहिरन्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *