दिवंगत नेता नेम्वाङ प्रति श्रद्धासुमन

सम्पादकीय
हुन त नेपाली समाजमा जति नै खराब पात्र भए पनि मरे पश्चात चौतर्फी प्रशंसा गरिन्छ, उसको गुणगान गाइन्छ, दुर्लभ महान प्राणीको रुपमा व्याख्या बिश्लेषण र अनेकन उपाधि दिइन्छ । तर, यस्तो भिडमा कति चाहीँ साँच्चिकै यस्ता पात्र छन्, जसको मृत्युमा मुलुकले ठुलो क्षति बेहोरेको छ । जसको नेतृत्व, समन्वय र योगदानमा स्थापित भएका हक अधिकार र अवसरले आज सिंगो नेपाल र नेपालीले शान्ति र स्वतन्त्रतापूर्वक बाँच्ने अवसर प्राप्त गरेका छन् । त्यस्तै पात्र मध्येका एक हुन् सुवासचन्द्र नेम्वाङ । नेपालमा नयाँ संविधान बनाउने संविधानसभाको दुई पटक नेतृत्व गरेका नेम्वाङको ७१ वर्षको उमेरमा निधन भएको छ । उनको निधनले सिंगो देश स्तब्ध बनेको छ ।

दिवंगत संविधान सभाका अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ एक मात्रै पात्र हुन्, जो चारपटक सभामुखमा निर्विरोध चयन भएका छन् । यस्तो इतिहास अब नेपालमा सायदै दोहोरिने छ । तिब्र दलीय प्रतिस्पर्धाका बाबजुद पनि नेम्वाङले आफु र आफ्नो भूमिका र नेतृत्वलाई यति समन्वयकारी, विश्वासिलो बनाएका थिए । जसलाई अघि सार्दा अन्य दल समेत उनका लागि लचिलो बन्थे । २०६३ वैशाख ३० मा दोस्रो जनआन्दोलनबाट पुनस्र्थापित संसदमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको सभामुखको रोजाइमा नेम्वाङ पहिलो पटक सभामुख बने । सभामुखमा नेम्वाङको पहिलो कार्यकाल १ माघ ०६३ सम्म रह्यो । त्यो दिन अन्तरिम संविधान जारी भयो । अन्तरिम संविधान जारी भएको तेस्रो दिन अर्थात माघ ३ मा उनी पुनःसर्वसम्मत सभामुख बने । सभामुखको दोस्रो कार्यकाल २०६५ जेठ १४ सम्म रह्यो । तेस्रोपटक सभाध्यक्षका रुपमा नेम्वाङ ०६५ साउन १२ मा सर्वसम्मत बने । ६ फागुन २०७० मा सभामुखका लागि उम्मेदवार दर्ता हुँदा नेम्वाङको मात्रै नाम प¥यो । दोस्रोपटक पनि सभाध्यक्षका लागि उनी निर्विरोध भए । नेम्वाङको समन्वयकारी भूमिका र शालिनताले चारपटक नै सर्वसम्मत सभामुख हुन सम्भव भएको हो । उसो त पार्टी भित्र पनि समन्वयकारी नेताको रुपमा आफुलाई स्थापित गरेका थिए ।

हुन त हरेक मानिसका लागि मृत्यु अवश्यम्भावी छ । तर, नेम्वाङको आकस्मिक निधनले एक भद्र, शालिन, समन्वयकारी, परिपक्व नेता देशले गुमाएको छ । उनको निधनमा दुःख व्यक्त गर्दै नेपाल सरकारले राजकीय सम्मानका साथ अन्त्येष्टि, उक्त दिन शोक विदा दिने निर्णय गरेको छ । विशेषतः परिवर्तनका मुद्दामा आफ्नो दललाई मात्रै नभई सबै दलका फरक मतलाई मिलाएर लैजान सक्ने क्षमता भएको नेता निकै कम देखिन्छ । जसमा नेम्वाङ हर हिसाबले अब्बल देखिनु भएको थियो । विभिन्न दल र विज्ञका विचार सुनेर त्यसलाई व्यवस्थापन गर्ने र नेतृत्वदायी भूमिका निर्वाह गर्ने नेतृत्व क्षमता उहाँमा थियो । विचार नगरी नबोल्ने, प्रतिक्रिया दिनभन्दा सुन्न बढी रुचाउने, कानुनको पृष्ठभूमि भएका कारण शक्ति सन्तुलन र शक्ति पृथकीकरणको सिद्धान्तअनुसार संसद्, न्यायपालिका र कार्यपालिकाबारे धारणा राख्न सक्ने विशेष खुबी पनि नेम्वाङमा थियो । नेपालको ऐतिहासिक संविधान निर्माणमा संविधानसभाका अध्यक्ष रहँदा सुवास नेम्वाङले खेलेको भूमिका नेपाल र नेपालीले कहिल्यै बिर्सने छैनन् । दिवंगत प्रिय नेता नेम्वाङ प्रति भावपूर्ण श्रद्धा सुमन ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *