कृषिता अधिकारी (निशा)
पछिल्लो समयमा हामीले मान्ने चाडपर्वहरु भड्किलो र फेसन बनिरहेको छ । हिन्दु धर्मालम्बीहरुले मनाउने पर्वहरुमा दशैँ, तिहार, तीज, जनैपूर्णिमा तथा समुदायमा आधारित साँस्कृतिक मूल्य र मान्यतामा समेत धेरै विकृति फैलिने गरेको छ । हाम्रा सांस्कृतिक पर्वहरुमा भएका कुरीतिलाई हटाउँदै सभ्य तरिकाले मनाउनुपर्नेमा पछिल्लो समय झन् विकृति थुपार्दै हामीले झन् जटिल बनाउँदै लगेका छौँ । हाम्रो संस्कृतिमा विकृति मिसिँदै आउन थाल्यो भने हाम्रा सन्ततीलाई हामीले के जवाफ दिने त अर्कोतिर नेपाली मौलिक चाडपर्वले विश्वमा नै धनी मुलुकको रूपमा चिनिने गरेको पाइन्छ । संरक्षणका अभावमा कतिपय चाडपर्वहरू लोपान्मुख अवस्थामा पुगेका छन् भने धेरै चाडपर्वमा विकृति बढेको छ ।
इतिहासलाई फर्केर हेर्ने हो भने धार्मिक ग्रन्थमा लेखिएका चाडपर्व मनाउने पद्धतिभन्दा अहिले आएर मनाउने गरिएको चाडपर्वहरु निकै नै फरक हुँदै गएका छन् । त्यस्तै, हाम्रो सामाजिक कार्यसमेत पुरानो शैलीबाट फेरिएर नयाँ तरिकाले मनाउने गरिएको छ । पछिल्लो समय नेपाली मौलिक चाडपर्व तथा सांस्कृतिक पर्वहरू मनाउने शैली फेरिएसँगै भड्किलो हुँदै गएका छन् । समाजका मानिसहरुको दैनिक जीवन पद्दतीबाट उत्पन्न भएका क्रियाकलापहरु नै संस्कृति हुन जस अन्तर्गत सामाजिक मूल्य मान्यता, परम्परा, धर्म, शैली, उत्पादनको तरिका, प्रविधि लगायत सम्पूर्ण भौतिक तथा अभौतिक पक्षहरु पर्ने गर्दछन् । जस अन्तर्गत हाम्रा मूल्यमान्यता, प्रथा, भाषा, रितिरिवाज, कला तथा हाम्रा धार्मिक क्रियाकलाप र यस अन्तर्गतका चाडपर्वहरु आदि समावेश छन ।
हाम्रो देश नेपाल भौगोलिक रुपमा जति विविधता बोकेको छ । यहाँको धर्म, संस्कृति, रितीरिवाज, भेषभूषामा पनि उत्तिकै विविधताले भरिएको छ । यहाँ १४२ जातजाती र १२४ भाषाभाषी त्यो भन्दा बढी धार्मिक तथा सांस्कृतिक विविधता रहेको छ । नेपाली जनताको जीवनस्तर सुधार गर्नमा विदेशबाट कमाईका रुपमा आउने रेमिटान्सको उल्लेख्य भूमिका उल्लेख्य रहेको छ । जति विदेशको कमाई देश भित्र भित्रिएको छ त्यो भन्दा बढी आधुनिकताको नाममा विकृतिहरु समेत भित्रिएको पाईन्छ । आधुनिकतावाद विकृतिले हाम्रा मौलिक र परम्परालाई ओझेलमा पार्ने त होइन प्रश्न चिन्ह खडा भइसकेको छ आधुनिकताको नाममा हाम्रा परम्परागत चाडपर्व मनाउने तरिकामा हाम्रा गीत संगीतमा, हाम्रा खानपानमा, हाम्रो बोलचाल गर्ने तरिकामा अनि हाम्रा लगाउने कपडामा विकृति प्रवेश गरेको सजिलै अनुमान गर्न सकिन्छ । कतिपय अवस्था हाम्रा कलाकारले सिर्जना गर्ने सिर्जनामा प्रयोग भएका शब्दमा मौलिकता होइन आर्थिक र सस्तो लोकप्रियता प्रवेश गरेको पाइएको छ ।
कतिपय अवस्थामा तिजका गितमा समेत मौलिकता झल्कल्ने खालको हुँदैन छाडा उच्छृङ्खल जहाँ हामीले परिवारसँग सँगै बसेर सुन्न नसकिने गीतसगीत हुनु त्यस्तै खालका दृश्य सामग्री बनाउने कार्यले दिन प्रतिदिन प्रश्रय पाएको पाईन्छ । अर्कोतिर चार्डपर्वको नाममा विकृति विसंगति र प्रतिस्पर्धा भइरहेको छ हाम्रो समाजमा कस्तोसम्म फेसन चल्यो भने तिज आउनु अगावै हाम्रा चेलिहरु एक महिनादेखि नै दर खान सुरु गर्छन । महंगो लुगा सुन गहना प्रदर्शन गरेर हजार २ हजार तिरेर पार्टि प्यालेसमा तिज मनाउछन जसले गर्दा हाम्रो समाजमा विकृति विसंगति निकै बढेको छ । यस्ता खालका विकृतिलाई उच्चित व्यवस्थापनमा राज्यका निकायहरु तत्काल लाग्न जरुरी छ ।
त्यस्तै गीत संगितका सन्दर्भमा बजारमा आउनु भन्दा पहिला हरेक गीतसंगीत लगाएतको सेन्सर हुनुपर्दछ भने बढ्दो आधुनिकता र प्रर्दशनका कारण हाम्रो भान्सामा मौलिक खानकुरा समेत पाक्न छोडिसकेका छन्न अर्कोतिर परम्परागत कपडाको स्थान आधुनिक र विभिन्न देशमा बनेका विदेशी संस्कृति झलकाउने कपडाले हाम्रो संस्कृति माथि धावा बोलेको अनुभूति भइरहेको छ । साच्चै नै हामीले मान्ने यी हाम्रा चाडपर्व मनाउने तरिकामा पनि अछुतो रहन सकेको छैन । दुर्गम गाउँ घरमा यस्ता पर्वले मौलिकता बोकेको पाईन्छ भने शहर तिर यो खर्चिलो र भड्किलो बन्दै गइरहेको पाईन्छ । विषेशगरि दर खाने दिन नेपाली संस्कृति परम्परा अनुसार एकदिन हुन्छ जसमा दुधबाट बनेका मिठा–मिठा परिकारहरु पर्ने गर्द छन । चाम्रे अचार जस्ता वा परिकारहरु दर भित्र पर्ने गर्दछन् । तर, आजभोली दर भित्र यस्ता परिकारहरु समावेश नभै बाह्य देशका परिकारसँगै मादक पदार्थ लगाएतका वस्तुहरु खाने चलन बढ्दै गएको देखिन्छ ।
यस पर्वलाई भनेर निकालिएका केहि कलाकारका गीत संगीत तिज गीत हो की रतौली गीत हो छुट्टयाउन समेत निकै अप्ठयारो परिरहेको हुन्छ । यी विविध पक्षलाई हेर्दा हाम्रो परम्परागत मौलिक चाडमा विकृतिलाई प्रश्रय गरेको प्रष्ट देखिन्छ । यस प्रवृत्तिबाट एकातिर हाम्रा मौलिक कुरा छोड्दै गएका छौ भने अर्को तर्फ आर्थिक परनिर्भरता र गरीबीलाई वृद्धि गर्दै जाने देखिन्छ । आम्दानीको मूख्य स्रोतको रुपमा नेपालीका घर–घरमा रेमिटान्स भित्रनु जसको कारण नेपालीको जीवनस्तर ह्वातै माथि उकासिनु, प्रविधि र सञ्चार माध्यमको अत्याधिक प्रयोग हुनु जसको कारण आधुनिकताको नाममा यी र यस्ता खालका संस्कृती भित्रिनुले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सांस्कृतिक अतिक्रमण, हाम्रो परम्परागत मूल्य मान्यतामा आएको परिवर्तन, पुस्ता हस्तान्तरणका कारण युवामा आएको परिवर्तन आदि हाम्रा धर्म संस्कृतिमा आधुनिकताको नाममा विकृत्ति भित्रनुका मूख्य कारणका रुपमा लिन सकिन्छ ।
हाम्रा धर्मसंस्कृति अपनाउँदै गर्दा भित्रयाइएको आधुनिकताले एकातिर आर्थिक परनिर्भता बढाएको पाइन्छ भने अर्कोतर्फ आयात व्यापारमा वृद्धि गरी व्यापार घाटाको अशंमा झनै वृद्धि गरेको देखिन्छ । देखासिकीको नाममा हामीसँग भएका कुराहरुलाई छोड्दै जाने होइन तिनिहरुलाई झनै राम्रो परिस्कृत बनाउदै लानु जरुरी देखिन्छ । यी हाम्रा मौलिक परम्परालाई अन्त्य गर्नका लागि देश भित्र सञ्चालन भएका विदेशी मिडियाहरु, डलर र विकासका नाममा खोलिएका यस्ता खालका विकृति रोक्नु पर्छ किनकि सामाजिक, साँस्कृतिक विविधताको पक्षमा नेपाल एक जीवित संग्राहालय नै हो जहाँ एउटा फुलबारीको विविधता जस्तै यहाँ हरेक विषयमा, हरेक क्षेत्रमा विविधताले भरिएको छ ।
तसर्थ, मौलिक स्वरुपमा कुनै आँच नआउने गरी हरेक कुरामा समय अनुसार परिवर्तन र परिस्कार आवश्यक र स्विकार्य हुन्छ । तर, परिवर्तनको नाममा यसरी मौलिक स्वरुपै नाश गर्ने कसैलाई पनि हक र अधिकार छैन यदि यसरी नै हामीले स्वतन्त्रता र आधुनिकताको नाममा आफ्नो संस्कृतिलाई भुल्दै जाने हो भने आउँदो पुस्तालाई वा हाम्रो सन्ततिलाई कुन संस्कृति छोडेर जाने त ? भोलिको त कुरै छाडौँ, आजका किशोर–किशोरीलाई नै सोधौं न तिजको बारेमा दर खाने प्रथा बारेमा, हामी सबैलाई थाहा छ, उनीहरूको जवाफ के हुन्छ भनेर । जसरी कुनै स्वच्छ सफा जलाशयलाई जलकुम्भीले सखाप पार्न लाग्यो भने बेलैमा सचेत र सतर्क भएर जलकुम्भीलाई हटाउनुपर्छ रे नत्र त तालको अस्तित्व नै गुम्छ । त्यसरी नै तीजको मौलिक स्वरुपलाई विग्रारन्न खोज्नेहरु विकृति–विसङ्गतिको जालोलाई समय रहँदै हटाउनु सबैको कर्तव्य हो ।
यस सम्बन्धि सम्बन्धित निकायले बेलाबेला कार्यान्वयन भए–नभएको अनुगमन गर्नु अत्यन्त जरुरी देखिन्छ । हामीले बचाए संस्कृति जीवन्त रहन्छ, संस्कृति हाम्रो पहिचान हो । यस्ता विशेष पर्वहरूलाई बचाउनु आजको आवश्यकता पनि हो भने सरकारले पनि हाम्रो संस्कृति हाम्रा अमूल्य गहना हुन भन्ने बुझ्न जरुरी छ ।