भुजीखोला क्षेत्रमा हराउँदै मगर भाषा

डम्मर बुढा मगर, बागलुङ
दशक अगाडिसम्म बागलुङको पश्चिम भुजीखोला क्षेत्रमा मगर भाषा बोल्ने गरिथ्यो । तर पछिल्लो समय यहाँ मगर भाषा बोल्न छोडिएको छ । बुढापाकाले कहिँकतै बोल्ने गरेको सुनिए पनि युवा पुस्तामा मगर भाषको ज्ञानै छैन । पुर्खौँदेखि बोल्दै आएको मगर भाषा हराउँदै गएपछि स्थानीयले संरक्षण गर्न सरकारसँग माग गरेका छन् । अहिले बागलुङको निसीखोला गाउँपालिका–५ र ६ मा मात्रै ‘मगर खाम भाषा’ बोल्ने गरिन्छ । त्यस बाहेक अन्य क्षेत्रमा मगर भाषा बोलेको पाइँदैन ।

भुजीखोलामा मगर भाषा बोल्न छोडेपछि परम्परागत मौलिक संस्कृति पनि हराउने जोखिम बढेको छ । ढोरपाटन नगरपालिका–९ का ८० वर्षीय भैरम बुढा मगरले आफुहरुको भाषा हराउने अवस्थामा पुगेको भन्दै यसको संरक्षणमा स्थानीयर सरकारले ध्यान दिनु पर्ने बताउनुभयो । बालबालिकाहरु विद्यालयमा जान थालेपछि भुजीखोला क्षेत्रमा बोलिने मगर भाषा हराउँदै गएको बुढा मगरको बुझाइ छ ।

“हाम्रो पालमा स्कूल जाने, पढ्ने, लेख्ने जमाना थिएन, हामीहरु सानैदेखि गाई गोरु पाल्ने, गोठमा बस्ने गरियो, आफ्नै भाषामा बोल्ने गरियो, केही बर्ष अघिसम्म गाउँमा धेरै जनाले मगर भाषा बोल्थ्यौँ, मगर भाषामा नै गीत गाउँथ्यौँ, अहिले मगर भाषा बोल्ने कोही पनि छैनन्, नयाँ पुस्ताले त झन सिक्दै सिकेनन्” बुढा मगरले भन्नुभयो – “१२ ÷१५ वर्ष अघिसम्म धैरै मानिस मगर भाषा बोल्थे तर अहिले धेरैले मगर भाषा नै बुझ्दैनन्न्, जुन बेलादेखि केटाकेटीहरु विद्यालय जान थाले त्यस बेलादेखि मगर भाषा पनि हराउँदै गयो, सरकारले भाषा संरक्षण गर्न तर्फ ध्यान दिन जरुरी छ ।”

ढोरपाटन नगरपालिकाको वडा नम्बर ४ देखि ९ सम्म बाक्लो मगर बस्ती छ । आधुनिक प्रविधिको विकास र अरुको देखासिकीका कारण आफ्नो मौलिक भाषा हराउँदै गएको बुढा मगरको भनाइ छ । त्यो क्षेत्रमा बोलिने मगर भाषालाई स्थानीयले ‘भुजेल भाषा’ भन्ने गर्दथे ।

ढोरपाटन नगरपालिका–६ कि खिम कुमारी बुढा मगरले मगर भाषासँगै संस्कृति पनि हराउँदै गएकोमा चिन्ता व्यक्ति गर्नुभयो । मगर जातिको भाषा र संस्कृति संरक्षणको लागि स्थानीय सरकारले ध्यान दिनु पर्ने उहाँको भनाइ छ । अघिल्लो पुस्ताबाट अब नयाँ पुस्तालाई भाषा सिकाउनका लागि नगरपालिका र अन्य सरोकारवाला निकायले ध्यान दिनु पर्ने उहाँको भनाइ छ । भाषा एउटा समुदायको पहिचान भएको हुँदा यसको संरक्षण गर्नका लागि आफूहरु तयार गरेको बुढा मगरले बताउनुभयो ।

“पहिला–पहिला हामी सानो हुने बेलामा मगर भाषा धेरै बोलिन्थ्यो, अरु बोलेको पनि सुनिन्थ्यो, तर अहिले कहीँकतै सुनिदैन, हामीले बोल्ने भाषा हराउँदै गएको छ, बुढापाका बाहेक अरुले बुझ्दैनन्, केटाकेटीलाई सिकाउन पाए भाषा संरक्षण हुने थियो, अब युवा र केटाकेटीले सिक्नु पर्छ”’ बुढा मगरले भन्नुभयो– “भाषा सिक्नका लागि नगरपालिकाले सहयोग गर्नु पर्छ, विदेश जान भाषा सिक्न हुने हाम्रो आफ्नै भाषा सिक्न नहुने भन्ने हुन्छ र ?, त्यही र हाम्रो भाषा सिकाउन र सिक्नु पर्छ ।”

पश्चिम बागलुङको निसीखोला, तमानखोला र भुजीखोलामा दुई दशक अघिसम्म मगर भाषा बोलिने गरिए पनि पछिल्लो समय तमानखोला र भुजीखोलामा लोप भइसकेको छ । त्यस क्षेत्रमा बोलिने भाषालाई निसेल भाषा, भुजेल भाषा र भल्कोटे भाषा भनिने गरिन्छ । पछिल्लो निसीखोला गाउँपालिका भाषा संरक्षणका लागि ‘मगर खाम भाषा’को पाठ्यक्रम बनाएर पठनपाठन सुरु गरेको छ । ढोरपाटनमा पनि त्यसै गर्नु पर्ने स्थानीयको माग छ ।

ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायत (कल्याण)ले मगर भाषासँगै अन्य मौलिक संस्कृति पनि हराउँदै गएको भन्दै यसको संरक्षणका लागि नगरपालिकाले योजना बनाएर लाग्ने बताउनुभयो । अहिले गाउँमा बुढापाकाहरु बोल्नु गरे पनि युवा पुस्ताले त्यो भाषा नबुझ्ने उहाँको भनाइ छ । भाषा जान्नेहरुबाट युवा र बालबालिकालाई सिकाउने वातावरण तयार गर्ने उपप्रमुख कायतको भनाइ छ ।

उपप्रमुख कायत भन्नुहुन्छ – “अहिलेका नयाँ पुस्ता कसैले पनि मगर भाषा बुझ्दैनन्, हामीले यो भाषाको संरक्षण गर्न जरुरी छ, यसको संरक्षणका लागि विभिन्न समुदायसँग छलफल गरेर नयाँ पुस्तामा पनि मगर भाषा सिकाउने गरि योजना बनाएका छौँ, भाषा संरक्षणसँगै हराउन थालेका अन्य संस्कार संस्कृतिको पनि जगेर्णा गर्ने तयारीमा छौँ ।”

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *