आजदेखि म्याग्दीमा नेपाल जेसीज सम्मेलन

आदर्श अनलाइन, म्याग्दी
बेनीमा बिहीबारदेखि नेपाल जेसीजको क्षेत्र ख सम्मेलन सुरु हुँदै छ । असोज ४ गते सुरु भएर ५ गते सकिने जेसीजको सम्मेलनको बिहीवार बिहान बेनीमा भव्य उद्घाटन हुने आयोजकले जनाएको छ । सम्मेलनको सम्पूर्ण तयारी पुरा भएको आयोजकले पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । सम्मेलनको बिहीवार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गर्नुहुने छ ।

मुख्यमन्त्री पाण्डे सम्मेलन उद्घाटनका लागि म्याग्दी आइसक्नु भएको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । म्याग्दी जिल्लामा सामाजिक संस्था जेसीज स्थापना भएको २५ वर्ष पुरा भएको अवसरमा हुन लागेको यस सम्मेलनलाई जेसीजले म्याग्दी चिनाउने अवसरका रुपमा उपयोग गर्ने जनाएको छ । सन १९९८ मा स्थापना भएको म्याग्दी जेसीजले सन २००७ मा पहिलो पटक क्षेत्र ख सम्मेलन गरेको थियो । स्थापनाको कम अवधिमै क्षेत्र ख सम्मेलन सफलता पूर्वक सम्पन्न गरी म्याग्दी जेसीजले नेपाल जेसीजमा छुट्टै पहिचान बनाउन सफल भएको थियो ।

पहिलो सम्मेलन गरिसकेको म्याग्दी जेसीजले दोस्रो पटक आतित्यथा गर्न गएको सम्मेलनलाई थप व्यवस्थित, प्रभाबकारी र स्मरणीय बनाउनका लागि कुनै कसर बाँकी राखेको छैन । सम्मेलनमा क्षेत्र ख अन्तरगतका ४१ शाखाका छ सय भन्दा धेरैले सहभागीता जनाउने आयोजकले जनाएको छ । त्यसैगरि देशभरका नेपाल जेसीजका एक सय ७८ वटै शाखाहरुबाट समेत पर्यवेक्षकको रुपमा जेसीजका सदस्यहरुको सहभागीता रहने म्याग्दी जेसीज वर्ष २०२३ का अध्यक्ष सुमन बानियाँले जानकारी दिनुभयो ।

बेनीको खुलामञ्चमा सञ्चालन हुने सम्मेलनमा भाग लिन आउने जेसीजकर्मीहरुलाई स्वागत गर्न बेनी बजार सरसफाई गरिएको छ भने तुल, व्यानर र ध्वजापतकाले बजार सजावट गरिएको छ । अतिथिहरुको लागि आवास व्यवस्थापन, कार्यक्रम सञ्चालन हुने खुलामञ्च व्यवस्थापन, अतिथिहरुको आमन्त्रण र प्रचार प्रसारका काम सकिएको क्षेत्र ख सम्मेलनका निर्देशक तथा म्याग्दी जेसीजका पूर्व अध्यक्ष सुविन श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार सम्मेलनमा सहभागी हुन आउने अतिथिहरु बेनी आइसक्नु भएको छ ।

सम्मेलनलाई सफल बनाउन मायाँको चिनो, साँस्कृतिक झाँकीको वन्दोवस्त गर्नुका साथै अतिथिहरुलाई अल्लोको धागोबाट बुनेका झोला, बेनीको बजार लेखिएको रुमाल, पबित्र कालीगण्डकी नदीमा पाईने शालिग्राम मायाँको चिनोको रुपमा प्रदान गरिने छ । नेपाल जेसीजका कार्यक्रमका साथै जिल्लाको पर्यटन विकास, प्रवद्र्धन, उत्पादित बस्तु तथा उपजको प्रचार प्रसारका साथै कला, संस्कृतिको संरक्षणसंग जोडिएको म्याग्दी जेसीजका पूर्व अध्यक्ष प्रमोद श्रेष्ठको भनाई छ ।

सम्मेलन सम्पन्न गर्न ४२ लाखको खर्च अनुमान गरिएको जेसीजले जनाएको छ । सम्मेलन अवधिमा म्याग्दीमा एक करोडको कारोबार हुने अनुमान गरिएको म्याग्दी उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष समेत रहनुभएका सम्मेलन निर्देशक सुवीन श्रेष्ठको भनाई छ । प्रतिनिधिलाई म्याग्दीका पर्यटकीय र धार्मिक स्थलहरु लभ्लीहिल, गलेश्वरधाम, सिंगा तातोपानी लगायतका क्षेत्रमा भ्रमण गराउने समेत तयारी गरिएको छ । सम्मेलनको उद्घाटन पूर्व बेनीमा झाँकी सहितको ¥याली निकालिने छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *