सन्दर्भ संविधान दिवस : मौलिक हकको कार्यान्वयनमा जोड


आदर्श अनलाइन, बागलुङ


संविधान दिवस बागलुङमा त्रिदिवसीय रुपमा मनाइएको छ । संविधान दिवसको अवसरमा आज बागलुङ नगरपालिकाले आयोजना गरेको ‘संविधान अन्तरसंवाद’ कार्यक्रममा बोल्ने वक्ताहरुले मौलिक हक अझै कार्यान्वयन हुँन नसकेको, समानुपातिक र सकरात्मक विभेद ऋङ्गारिक भएको बताएका छन् ।

पहिलो दिन असोज २ गते बागलुङ बजार सरसफाई, असोज ३ गते प्रभातफेरी तथा असोज ४ गते संविधानको विशेषता विषयक अन्तरसंवाद कार्यक्रम आयोजना गरिएको हो । अन्तर संवाद कार्यक्रममा बागलुङ जिल्लाका निमित्त प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले नेपालको संविधान विश्वकै उत्कृष्ट संविधान भएको बताउनुभयो ।

उहाँले संविधानका विशेषताहरु, संघीयता, सामानुपातिक सिद्धान्त, राज्य शक्तिको बाँडफाड र सकरात्मक विभेद लगायतका विषयमा तयार पारिएको कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

जनतामा निहित सार्वभौम सत्ता, ३१ वटा मौलिक हक, नागरिकका कर्तव्य लगायका विशेष व्यवस्था संविधानका राम्रा पक्ष भएको बताउनुभयो ।

“नेपालको संविधान आवश्यकता अनुसार शंसोधन गर्न सकिने लचिलो र राम्रो संविधान हो” निमित्त प्रमुख जिल्ला अधिकारी बरालले भन्नुभयो “अब यस्को कार्यान्वयमा राजनीतिक दलहरुलाई जिम्मेवार बनाऔ, सामाजिक रुपमा आवाज उठाउन भने आवश्यक छ, धर्मनिरपेक्षता र संघीयता अहिलेको संविधानका प्रमुख विशेषता हुन् ।”

कार्यपत्र प्रस्तुतपछिको छलफलमा बोल्ने अधिवक्ता काजीगाउले श्रेष्ठले संविधान निर्माणको आठ वर्षमा मौलिकहरुहरुको पूर्ण कार्यान्वयन हुन नसकेको बताउनुभयो ।

उहाँले अन्य देश र नेपालमा अबलम्बन गरेको संघीयता फरक रहेको बताउनुभयो । उहाँले संविधानको असल कार्यान्वयन गर्नमा जोड दिनुभयो । “लिखितरुपमा संविधान निकै उत्कृष्ट छ, तर मौलिकहरुहरु कार्यान्वयनको अवस्था अझै फितलो छ, सबै मौलिकहकहरु कार्यान्वयमा जोड दिन आवश्यक छ” श्रेष्ठले भन्नुभयो “अहिलेको अवस्थामा संविधानको असल कार्यान्वयन महत्वपूर्ण हो ।”
सामाजिक अभियान्ता सिताराम थापाले संविधानको पहिचान संस्थागत गर्न तर्फ लाग्नुपर्ने सुझाव व्यक्त गर्नुभयो । उहाँले नेपालको संविधान नेपाल सुहाउदो रहेको बताउदै अन्य देशका संविधान संग दाज्न नहुँने बताउनुभयो ।

यस्तै कृष्ण प्रसाद न्यूरेले संविधान निर्माणको आठ वर्षमा कार्यान्वयनको अवस्थालाई मुल्याङ्कन गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले कार्यान्वयन गर्न बाँकी मौलिकहकहरुलाई ध्यान दिनुपर्नेमा जोड दिनुभयो । जिल्ला समन्वय समितिका प्रमुख अमर थापाले संविधान निर्माण ठूलो उपलव्धी भएकाले यसलाई विस्तारै संस्थागत बनाउदै लगिएको बताउनुभयो ।

संविधानको संस्थागत नै अहिलेको आवश्यकता रहेको उहाँको जोड थियो । कार्यक्रममा विभिन्न राजनैतिक दलका प्रमुख एवम् प्रतिनिधि लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा नेपाली कांग्रेसका सचिव हरिहर शर्मा, नेकपा एमाले नगर कमिटि सचिव रामकृष्ण शर्मा, माओवादी केन्द्रका नेता राजिव घिमिरे, नेकपा एकिकृत समाजवादीका जिल्ला अध्यक्ष लाल बहादुर थापा, राष्ट्रिय जनमोर्चाका नेता थानेश्वस सुवेदी लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रम जिल्ला समन्य समितिका प्रमुख अमर थापाको प्रमुख आतिथ्यता, बागलुङ नगरपालिकाका नगरउपप्रमुख राजु खड्काको अध्यक्षता, नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत धन प्रसाद पोख्रेलको स्वागत तथा युक्त प्रसाद सुवेदीको सञ्चालनमा सम्पन्न भएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *