एमाले गण्डकी प्रदेश अधिवेशनका लागि प्रतिनिधि चयन सुरु : प्रदेश कमिटिकै सदस्यनै प्रतिनिधि हुनबाट वञ्चित हुँदै

आदर्श अनलाइन, बागलुङ
नेकपा एमालेले गण्डकी प्रदेश अधिवेशनका लागि प्रतिनिधि चयन प्रक्रिया शुरु गरेको छ । असोज १५ र १६ गते पोखरामा हुने प्रथम प्रदेश अधिवेशनका लागि प्रतिनिधि चयन गर्ने प्रक्रिया शुक्रवारदेखि शुरु भएको हो । शुक्रवार गण्डकी प्रदेशका ८५ वटै पालिकामा प्रतिनिधि चयन गर्नका लागि गठित निर्वाचन कमिटिले मतदाता नामावली प्रकाशन गरेका छन् ।

६ गते शनिवार गण्डकी प्रदेशका ८५ वटै पालिकामा प्रतिनिधि हुन चाहनेहरुले उमेदवारी दर्ता गर्ने कार्यक्रम रहेको छ । ७ गते उमेदवारी उपर दावी विरोध र उमेदवारी फिर्ता तथा ८ गते उमेदवारको अन्तिम नामावली प्रकाशन गरिने छ । ८ गतेसम्म सर्वसम्मत रुपमा प्रतिनिधि चयन नभई निर्वाचन हुने अवस्था आएमा ९ गते मतदानको व्यवस्था गरिएको हो ।

पार्टी सदस्यहरुको सख्यामा आधारमा प्रतिनिधि चयन हुने भएकाले पालिकामा रहेका पार्टी सदस्यहरुको संख्याका आधारमा प्रतिनिधि चयन गर्ने व्यवस्था गरिएको छ । खुल्ला र दलित सदस्यहरुका आधारमा खुल्लातर्फ १ सय जना बराबर १ जना र दलिततर्फ ६० जना बरोबार एकजना प्रतिनिधि चयन हुनेछन् ।

खुल्ला र दलितर्फ प्रत्येक ३ जनामा एकजना महिला अनिवार्य र प्रत्येक ७ जनामा १ जना युवा अनिवार्य प्रतिनिधि हुने व्यवस्था गरिएको एमाले गण्डकी प्रदेश कमिटिका सचिव धनञ्जय दवाडीले जानकारी दिनुभयो ।

प्रदेशका सबै पालिकाबाट करिव ९ सय जना प्रतिनिधि प्रदेश अधिवेशनमा सहभागी हुने दवाडीले बताउनुभयो । गण्डकी प्रदेश कमिटिको निर्देशन अनुसार एमाले बागलुङले १० वटै पालिकामा निर्वाचन कमिटि चयन गरी निर्वाचन प्रक्रिया अगाडि बढाएको एमाले बागलुङका कार्यालय सचिव अमर बहादुर थापाले जानकारी दिनुभयो ।

सबै पालिकामा प्रदेशको निर्देशन अनुसार ६ गते उमेदवारी दर्ता गरी ७ र ८ गते निर्वाचनका अन्य प्रक्रियासंगै सर्वसम्मत गराउने प्रयास हुने र सर्वसम्मत नभई निर्वाचन गर्नु पर्ने अवस्था आएमा ९ गते मतदान गरिने थापाले बताउनुभयो ।

संघीय संरचनामा गएपछि पहिलो पटक हुन लागेको एमालेको प्रदेश अधिवेशनका लागि प्रतिनिधि बन्नका लागि धेरैले आकांक्षा देखाएका छन् । बागलुङ जिल्लाबाट खुल्लातर्फ ५० जना, दलिततर्फ १८ र मजुदर १ जना गरी ६९ जना प्रतिनिधि प्रदेश अधिवेशनमा सहभागी हुदैछन् ।

बागलुङबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिमा सबै भन्दा बढी बागलुङ नगरपालिकाबाट दलित ३ र खुल्ला १३ गरी १६ जना सहभागी हुनेछन् । काठेखोला गाउँपालिकाबाट दलित ४ र खुल्ला १० गरी १४ जना, जैमिनी नगरपालिकाबाट दलित २ र खुल्ला ५ गरी ७ जना, बरेङ गाउँपालिकाबाट दलित १ र खुल्ला ४ गरी ५ जना प्रतिनिधि सहभागी हुनेछन् ।

यस्तै गलकोट नगरपालिकाबाट दलित २ र खुल्ला ३ गरी ५ जना, ताराखोला गाउँपालिकाबाट दलित १ र खुल्ला २ गरी ३ जना, बडिगाड गाउँपालिकाबाट दलित १ र खुल्ला ५ गरी ६ जना, ढोरपाटन नगरपालिकाबाट दलित २ र खुल्ला ३ गरी ५ जना, निसीखोला गाउँपालिकाबाट दलित १ र खुल्ला ३ गरी ४ जना र तमानखोला गाँउपालिकाबाट दलित १ र खुल्ला २ गरी ३ जना प्रतिनिधि चयन हुने भएका छन् । मजदुरतर्फ जिल्ला कमिटिबाट १ जना प्रतिनिधि प्रदेश महाधिवेशनमा प्रतिनिधि हुनेछन् ।

एमालेले प्रदेश अधिवेशनमा सहभागी हुनका लागि आफ्नो भुगोलबाट अनिवार्य प्रतिनिधि हुने व्यवस्था गरेपछि प्रदेश कमिटिमै भएका धेरै सदस्यहरु नै प्रदेश अधिवेशन प्रतिनिधि हुनबाट वञ्चित हुने अवस्था सिर्जना भएको छ ।

पालिकाबाट दलित र युवा सहितको प्रतिनिधित्व हुने व्यवस्थाका कारण करिव ५ सयको सख्यामा रहेको प्रदेश कमिटिका अधिकांश सदस्य प्रतिनिधि बन्नबाट वञ्चित हुने अवस्था आएको हो ।

प्रदेश कमिटिले मनोनित गरेका सदस्यहरु एउटै पालिकाबाट धेरै जना भएका कारण पनि छुट्ने अवस्था सिर्जना भएको हो । बागलुङ जिल्लाबाट मात्रै हालको प्रदेश कमिटिमा ७४ जना सदस्य रहेका छन् ।

बागलुङ नगरपालिकाबाट मात्रै ३७ जना प्रदेश कमिटि सदस्य रहेका छन् । बागलुङ नगरपालिकाले दलित, महिला सहित जम्मा १६ जना मात्रै प्रतिनिधि पठाउन पाउने भएपछि वर्तमान कमिटिका धेरै सदस्यहरु प्रतिनिधि बन्नबाट वञ्चित हुने भएका हुन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *