क्षतीपूर्ती दिएर अछेते बजारका घर तथा टहरा भत्काइदै


खेमराज गौतम, बागलुङ
राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको मध्यपहाडी पुष्पलाल लोकमार्ग अन्र्तगत बागलुङ खण्ड अझै सम्पन्न हुन सकेको छैन ।

दश वर्षदेखि बागलुङमा कालोपत्रको काम थालिएपनि अझै सम्पन्न हुन सकेको हो ।
लोकमार्ग सम्पन्न गर्न निर्माण व्यवसायीको ढिलासुस्ती र लोकमार्ग छेउछाउका घर टहराहरुले समेत समस्या बनाएका छन् । नेपालमै सबैभन्दा लामो खण्डको रुपमा बागलुङमा १४२ किमि सडक लोकमार्गको पर्दछ ।

लोकमार्गको अत्यन्तै समस्याग्रस्त जिल्ला सदरमुकाम खण्डको अछेते बजार क्षेत्रमा रहेका घर तथा टहराका कारण लोकमार्ग विस्तार संगै कालोपत्र गर्न समस्या भइरहेपछि क्षतिपूर्ती दिएर घर टहरा भत्काउनका लागि अहिले मुल्याङ्कनको काम भइरहेको छ ।

बागलुङ बजार देखि बिहुँ सम्मको १३ किमि सडक खण्डमा अहिले कालोपत्रेका लागि पाँचौं पटक म्याद थप्न थालिएको छ । अन्तिम पटकलाई म्याद थप गर्नेगरी निर्माण कम्पनी काममा फर्किएपछि सडक चौडा पार्न घर टहरा भत्काउन क्षतिपूर्ती मुल्याङकनको काम भइरहेको मध्यपहाडी पुष्पलाल लोकमार्ग आयोजना कार्यालय पर्वतका सूचना अधिकारी तथा इन्जिनियर पवन सुवेदीले जनाकारी दिनुभयो ।

काठेखोला गाउँपालिकाको अछेते बजारमा घर टहरा भत्काउन नसक्दा लोकमार्ग विस्तार समेत हुन सकेको थिएन । सुवेदीका अनुसार लोकमार्गको मापदण्ड अनुसार सडक कालोपत्रे गर्न अछेते बजारका पाँच जनाको ८ वटा घर तथा टहरा भत्काउन थालिएको छ ।

अछेते बजारका घर टहरा भत्काउनका लागि आवश्यक क्षतिपूर्ती प्रदान गर्ने २०८० असार १९ गतेको नेपाल सरकारको मन्त्रीपरिषदको निर्णय अनुसार अहिले घर टहरा भत्काउदा प्रदान गर्नुपर्ने क्षतिपूर्तीको मुल्याङ्कनको काम भइरहेको सुवेदीको भनाई ।

“लोकमार्ग विस्तारमा घर तथा टहरा परेमामात्रै क्षतिपूर्ती दिने व्यवस्था छ, मन्त्रीपरिषदको निर्णय पछि मात्रै हामीले काम अगाढी बढाएका हौं, अहिले भत्काउने घरहरुलाई संकेत गर्ने, कच्ची वा पक्की छुट्टाउने र क्षति पूर्ती दिने रकम मुल्याङकन गरिरहेका छौं” सुवेदीले भन्नुभयो “बागलुङ जिल्लाको प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको क्षतिपूर्ती व्यवस्थापन समितिले सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालको संयोजकत्वमा अछेते बजारको घर टहरा भत्काउने प्रायोजनमा उपसमिति बनाइएको छ, मुल्याङ्कन पछि घर टहरा भत्काइनेछ र क्षतिपूर्ती प्रदान गरिने छ ।”

उपल्लाचौरदेखि अक्षेते–बिहुँ खण्ड २०७३ माघ १४ गते भारत÷सिद्धिसाई जेभीले १३ किलोमिटर बनाउन दुई वर्षका लागि गरेको ठेक्का सम्झौता पाँचौ पटक म्याद थपको चरणमा पुगेको छ । निर्माण व्यवसायीको लापरवाहीका कारण समयमा लोकमार्ग निर्माण नहुँदा घर तथा टहरा भत्काउने कार्य समेत हुँन सकेको थिएन । मुल्याङ्कनपछि सूचना दिएर घर टहरा हटाउन थालिने छ ।

उक्त घर टहराको मुल्य अहिलेको बजार मुल्य अनुसार भवन विभागको मापदण्ड अनुसार हुँने इन्जिनियर सुवेदीको भनाइ छ । ढुङ्गामाटो, कच्ची/पक्की, घर टहराको क्षेत्रफल, घर पुरानो अथवा नयाँका आधारमा मुल्याङकन गरेर घरधनीले क्षतिपूर्ती पाउनेछन् ।

घर टहरा भत्काउनका लागि स्थानीय आफैले सहजीकरण गरेकाले समस्या नुहुँने बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिनुभयो । लोकमार्गको अन्य खण्डमा कालोपत्रेको काम भइसकेकाले अहिले अछेते बजारमा मात्रै घर टहरा भत्काउन वर्षोदेखि बाँकी रहेको थियो ।

अछेते बजारका स्थानीय दिपक भण्डारीका अनुसार राज्यले दिने क्षतिपूर्तीका आधारमा घर टहरा भत्काउन दिने सहमती जनाइसकेको बताउनुभयो । भण्डारीका दुई वटा टहरा मापदण्ड भित्र परेर भत्काइदै छ । स्थानीयहरुले विकास निर्माणमा सहजीकरण गर्दै आवश्यक क्षतिपूर्ती पाएपछि घर टहरा भत्काउन दिनेभएपछि अछेतेमा लोकमार्ग विस्तार संगै कालोपत्रको काम अगाढी बढ्ने भएको हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *