स्याउ उत्पादनमा कमी आएपछि ढोरपाटनका किसान चिन्तित

डम्मर बुढा मगर, बागलुङ
स्याउ लागि प्रसिद्ध मानिने बागलुङको ढोरपाटन क्षेत्रमा यस वर्ष उत्पादनमा कमी आएको छ । स्याउका बोटमा फूल फूलेर दाना लाग्ने बेला परेको असिनाका कारण स्याउ उत्पादनमा गिरावट आएको किसानको भनाइ छ । जिल्लाको निसेलढोर, ढोरपाटन उपत्यका क्षेत्रका नबी, भुजी लगायतका ठाउँमा वर्षेनी लाखौँको स्याउ उत्पादन हुने गरे पनि यस वर्ष झण्डा आधाभन्दा कम स्याउ उत्पादन भएको छ । स्याउ उत्पादनमा कमी आएपछि किसानहरु चिन्तित बनेका छन् ।

अघिल्ला वर्षहरुमा यति बेला यहाँका किसानलाई स्याउ टिप्न र बजारीकरण गर्न भ्याइनभ्याइ हुने गथ्र्यो । तर यस वर्ष बगानमा खास्सै स्याउ टिप्ने चटारो छैन । केही किसानले बारीमा थोरै भए पनि उत्पादन भएका स्याउ टिप्न थालेका छन् । अघिल्लो वर्षहरुमा किसानलाई स्याउ बेच्नका बजारको समस्या थियो । अहिले स्याउ कम हुँदा माग अनुसार बजारमा पु¥याउन नसक्ने अवस्थामा उनीहरु छन् । भदौदेखि नै ग्राहकहरु बगानमै आएर स्याउ किन्न थालेका थिए ।

स्याउको दाना लाग्ने बेला परेको बिनासकारी असिनाले लाखौँको स्याउ नोक्सना गरि दिएको ढोरपाटनका किसान विरबहादुर विकले बताउनुभयो । आफूले १२ वर्षभन्दा बढी समयदेखि स्याउ खेती गर्दै आएको सुनाउँदै यस वर्ष ठूलो क्षति व्यहोर्नु परेको गुनासो गर्नुभयो । असिनाले ढोरपाटन क्षेत्रका सयौँ किसानको स्याउ बगानमा क्षति पु¥याएको बताउनुभयो । राज्यले आफू जस्ता पीडित किसानलाई राहतको व्यवस्था गर्नु पर्ने विकले माग गर्नु भयो ।

“अहिले त बेसी तिरबाट आफन्त आए बने पनि सबैलाई पु¥याउन गाह्रो भएको छ, पोहोर साल धेरै उत्पादन भएर विक्री कहाँ गर्ने भन्ने चिन्ता थियो, अहिले अवस्था यस्तो बन्यो,” विकले भन्नुभयो – “मैले अघिल्लो वर्षहरु ढेड दुई लाखको स्याउ बेच्ने गर्ने अहिले त ५० हजार पार्न पनि गाह्रो हुने भयो, असिना नपरेको भए यसपाली स्याउ उत्पादन धेरै बढ्ने थियो, आम्दानी पनि राम्र्रै हुने थियो के गर्नु, दाना लाग्ने बित्तिकै झारि दियो ।”

ढोरपाटन नगरपालिका–९ का रामबहादुर घर्तीले यस वर्ष ढोरपाटनमा करिब ६० प्रतिशत कम स्याउ उत्पादन भएको बताउनुभयो । अघिल्लो वर्षहरुमा बुर्तिबाङ, बुटवल, अर्घाखाँची लगायतका बजारहरुमा बेच्नका लागि लैजाने गरेकोमा यस वर्ष गाउँ घरमा पनि विक्री गर्ने स्याउ उत्पादन नभएको गुनासो गर्नु भयो । हरेक वर्ष डेढ लाखको स्याउ विक्री गरेकोमा यस वर्ष ४०÷५० हजारको पनि उत्पादन भएको गुनासो पोख्नुभयो ।

“स्याउ राम्रो उत्पादन भएपछि नयाँ विरुवा पनि थपेँ तर यस वर्ष निकै कम उत्पादन भयो, असिनाले सबै दाना बैशाखमै झारि दियो, बाँकी रहेको अलिअलि फलेको छ, यस वर्ष धेरै किसान मर्कामा परेका छन्,” घर्तीले भन्नुभयो – “यो स्याउ टिप्ने सिजन हो, थोरै फल पनि टिप्न परि हाल्यो, अहिले किसानलाई पोहोर परारको जस्तो चटारो छैन, पहिले त स्याउ टिप्नै ५÷७ दिन लाग्थ्यो, अहिले त्यो अवस्था छैन, धेरै फलेको भए पो धेरै दिन लाग्ने थोरै फलेको हुँदा एक÷दुई दिनमै सकिन्छ ।”

ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायत (कल्याण)ले पीडित किसानको विवरण संकलन गरेर आवश्यक सहयोग गर्ने बताउनुभयो । पछिल्लो समय ढोरपाटन बाहेक निसीखोला, ताराखोला र तमानखोलाको माथिल्लो क्षेत्रमा पनि स्याउ खेती गर्न थालिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *