बारबार कसरी भइरहेछ सुन तस्कर ?

सम्पादकीय
एक क्वीन्टल सुन तस्कर नेपालको पछिल्लो चर्चित प्रकरण हो । जुन प्रकरणले सडकदेखि संसद र सामाजिक सम्म लामो समय विवाद र बहस जारी रह्यो । उक्त सुन ब्रेक सु बाट निकालेर गाल्दा करिब ६२ किलो भएको पाइएको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट यतिका ठुलो परिणामको सुन बाहिरिसके पछि सिनामंगल क्षेत्रबाट पक्राउ गरिनुको पछाडि सामान्य कारण अवश्य थिएन । यो ठुलो कमिसन, चलखेल र नियोजित योजना नभई सम्भब हुने कुरा थिएन भन्ने बुझ्न कुनै कठिनाइ छैन । अझ डरलाग्दो विषय त यतिका ठुलो परिणाममा सुन तस्कर पक्राउ गरेर सरकारले विमानस्थलमा थप कडाइ गरेको बताइरहँदा अहिले पनि पटक पटक सुन भित्राइरहने दुश्प्रयास भइरहनु सामान्य कुरा होइन ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार जाँच, सुरक्षा व्यवस्था कडा हुन्छ, हुनुपर्छ । तर, यही भन्सारबाट पार गरेर बाहिरिएको एक सय किलो सुन २ साउनमा बरामद भए पछि हाम्रो विमानस्थल सुरक्षा, भन्सार जाँच कुन हालतमा छ ? सबै उजागर मात्र होइन, उदांगो भएको छ । हङकङबाट क्याथे प्यासिफिक एयरलाइन्सको विमानमा १६० सेट ‘ब्रेक शु’ भित्र सुन ल्याइएको खबर सेलाउन नपाउँदै प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बारबार सुन सहित पक्राउ गरिरहेको छ । शुक्रबार साँझ मात्रै २.७ किलो सुन बरामद गरिएको छ । काठमाडौं अवतरण भएको फ्लाइ दुबईको जहाजमा आएकी फिलिपिन्सकी महिलाले भित्री वस्त्रमा लुकाएर सुन ल्याएकी थिइन् ।

नेपालको अन्तर्राष्ट्रिय विमानस्थलबाट जे पनि छिराइदिन सक्छु भनेर बिभिन्न आपराधिक कार्यमा सम्लग्न व्यक्तिहरुले बेला बेलामा भन्ने गरेका पनि छन् । यस्तो भनाइ सतही, आक्रोश र आवेगका बैजनी रंग मिश्रित मात्र होइन भन्ने घटना र तथ्यले देखाइरहेको छ । विमानस्थलमा सुन लगायतका तस्करजन्य कार्यमा सेटिङ अवश्य छ, बरु त्यो कुन स्तर सम्म छ भन्ने कुराको अब गम्भिर खोज, अध्ययन र अनुसन्धान आवश्यक छ । विमानस्थलमा सुरक्षा निकाय, कर्मचारी तहमा मात्रै सीमित छ कि मन्त्री, प्रधानमन्त्रीसम्म यसको सिधा सम्बन्ध गासिएको छ ? यसको रहस्य समयक्रममा अवश्य खुल्नेछ । विमानस्थलमा सुन लगायका अवैध सामग्री छिर्दा प्रहरीको भूमिका बरामद गर्नेसम्मको हुन्छ । थप अनुसन्धानको काम भन्सार कार्यालयबाट हुन्छ । यी दुइ निकायले कति प्रभावकारी र इमान्दार भूमिका निभाएका छन् ? सरकारले यसतर्फ पनि गम्भिरतापूर्वक सोच्नु र सचेततापूर्वक यथोचित कदम चाल्नुपर्छ । नत्र सरकार, यसका उच्चपदस्थ जिम्मेवार प्रधानमन्त्री, मन्त्री समेतकै प्रत्यक्ष अप्रत्यक्ष सम्बन्ध र सरोकार छ भन्ने जरुर बुझिने कुरा कतै छिपेको छैन ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *