डम्मर बुढा मगर, बागलुङ
“अहिले त रोधी पनि बस्न छोडे, त्यस्ता गीत पनि हराए, आजभोली त कहीँ कतै सुनिदैनन् ति गीत, जमाना फेरिए, मान्छेका स्वभाव र चालचलन सबै फेरिएका छन् ।” ढोरपाटनकी ८३ वर्षीया मोतीकुमारी घर्तीले कहिलेकाहीँ एक्लै हुँदा पुराना गीत गुनगुनाउने गर्नु हुन्छ । उहाँले गुनगुनाउने गीत अहिलेका युवा पुस्ताले खास्सै बुझ्दैनन् । यानीमाया, सुनिमाया, शिरफुलेमाया लगायतका थुप्रै लोक भाकाहरु सुनिन छाडेको भन्दै मोतीकुमारी गुनासो गर्नुहुन्छ । रोधी बस्दा, बुकीँ चड्दा, झर्दा, मेलापात गर्दा, मेला महोत्सवमा यि गीत निकै गाउने गरेको स्मरण गर्दै अहिले हिन्दी र अंग्रेजी गीतले मौलिकतालाई हराई दिएको उहाँको भनाइ छ ।
गीत संगीतले मानिसको दुःख, बेदना र हर्ष बोल्ने भन्दै पुराना गीतसँगै संस्कृति पनि हराउँदै गएको उहाँ बताउनुहुन्छ । कुनै गीत चाडबाड विषेशत र कुनै बाह्रै महिना गाउन मिल्ने भन्दै पछिल्लो समय पश्चिमा संस्कृतिले गर्दा स्थानीय पहिचान हराएकोमा चिन्ता व्यक्त गर्नुहुन्छ । आधुनिकताले गर्दा धेरै मान्छेको पहिरन, खानपान र दैनिकी बदलिएको हुँदा उनीहरुलाई पुराना गीत संगीतको महत्व थाहा नभएको मोतीदेवी बताउनुहुन्छ ।
“हाम्रो पालामा अहिलेको जस्तो फोन थिएन, चिठी लेख्ने प्रचलन पनि धेरैपछि आएको हो, परिवारका मान्छे र कोही आफन्त टाढा भए, प्रदेश गए भने नफर्किदासम्म उसको हालखबर थाहा हुँदैनथ्यो, त्यति बेला मनको बह पोख्न गीत गाइन्थ्यो,” उहाँले भन्नुभयो – “अहिले त छिनछिनमा फोन गर्छन्, भिडियो हेराहेर गर्छन्, विदेश छ कि संगै छ थाहै हुँदैन, अहिलेका मान्छेलाई के थाहा त्यस बेलाका गीतको महत्व ?, उतिबेला हाम्रो सुख, दुःखको सारथी थियो गीत ।”
बागलुङमा बढी प्रचलित सोरठी, मारुनी पनि हराउँदै गएका छन् । एक दशक अगाडिसम्म ग्रामीण क्षेत्रमा गुञ्जिने बिना सालैजोको ठाडी भाका, सालैजो, झ्याउरे लगायतका दर्जन बढी भाका पनि अहिले सुनिदैनन् । मेलापात र महोत्सवमा गाइने गीतहरु एक जनाले सुरु गर्ने र समुहका महिला पुरुषले भाका समातेर गाउने गरिन्थ्यो । पुराना गीतहरु हराउँदै गएपछि बुढापाकाले चिन्ता व्यक्त गरेका छन् । युवा पुस्ताले पुराना भाका नसुन्दा मौलिकता बोकेका गीतहरु हराउँदै गएको स्थानीय ७७ वर्षीय टीकाराम रोका मगर बताउनुहुन्छ ।
रोका मगरलाई अहिले पनि बुढापाकाले पुराना भाका गाउनका लागि लगाउने गर्छन् । अरुलाई भन्दा बढी रोका मगरलाई बढी थाहा भएको हुँदा उहाँलाई यो भाका गाउन लगाएका हुन् । बिना सालैजोको ठाडी भाका, सालैजो, झ्याउरे लगायतका दर्जन बढी भाका मगर, गुरुङ लगायत आदिवासी जनजाति समुदायका मानिसले गाउने उहाँको भनाइ छ ।
“हाम्रा पाका पुर्खादेखि गाउँदै आइएको गीत संगीत अहिले लोप भए, धेरै वर्ष पुराना यो गीत अरु समुदायका मान्छेले गाउन जान्दैनन्, यो गीतमा हाम्रो पहिचान, हाम्रो कर्म र परम्परा बोलेको छ, यी गीतहरुको को लय पनि अरुभन्दा बेग्लै हुन्छ, अहिले त हराउँदै गयो, युवा पुस्ताले ¥याप÷झ्याप केके हो के गाउँ छन्, म मरे भने त यो गीत पनि मर्छ भन्ने पिर लाग्छ, संस्कृति बचाउनका लागि त राज्यले पनि भूमिका खेल्नु पर्छ, अहिले केटाकेटी जेन्मेको दुई÷चार वर्षपछि विदेशी गीत सुन्ने गाउने गर्छन्, हाम्रा छोरा नातिले मैले गाएको रुचाउन्न् ।”
गीतको राग र तालको भाव बुझेर टुक्कालाई पूर्णता दिनु पर्ने हुँदा यो यानीमाया, सुनिमाया र ठाडी भाका गाउन कठिन मानिन्छ । मेला, महोत्सव तथा विभिन्न कार्यक्रममा ठाडी भाका गाउने चलन छ । अर्मपर्म लाग्दा, घाँस दाउरा गर्दा, मेलापात जाँदा र लामो दूरीको यात्रा गर्दा मनोरञ्जनको माध्यम गीत संगीत नै थियो । आधुनिक सञ्चार माध्यमको विकास, पुराना पुस्ताका कलाकारबाट पुस्तान्तरण र नयाँ पुस्ताले चासो नदिँदा मौलिकता बोकेका गीत हराउन थालेको ७४ वर्षीय तुलबहादुर पाइजा मगरले बताउनुभयो ।
आफ्ना पालामा तरुनी तन्नेरी भेट हुँदा तथा नयाँ साथीभाईसँग भेट हुँदा यो गीतबाटै हालखबर, सञ्चो बिसञ्चो सोध्ने गरेको स्मरण गर्नुभयो । अहिले फोनले गर्दा दिनदिनै कुरा हुने हुँदा गीतमा हालखबर सोध्न छोडिएको पाइजा बताउनुहुन्छ । पुराना गीतहरु तीन रात, तीन दिन गाउँदा पनि नसकिने भन्दै अहिले त्यस्ता गीत गाउने मान्छे भेट्याउन मुस्किल पर्ने उहाँले बताउनुभयो । पछिल्लो समय रेडियो, टेलिभिजन तथा मोबाइलमा आउने आधुनिक, पप गीतले मौलिक भाका हराउन थालेको उहाँको भनाइ छ । यस्ता गीत अहिलेका कलाकारले पनि नगाउने उहाँ बताउनुहुन्छ ।
पाइजा भन्नुहुन्छ – “दिनभरी मेलापातमा व्यस्त भइन्थ्यो, थकाइ लाग्थ्यो, साँझ, ओल्लोपल्लो घरका तरुनी तन्नेरी भएर रोधी बसिन्थ्यो, पुराना गीत गाइन्थ्यो, रोधी बस्दा पुराना गीतहरुको संरक्षण हुन्थ्यो, अहिले त रोधी बस्ने चलननै छैन, हामी तन्नेरी हुँदा बेस्सरी रोधी बस्ने, गीत गाउने गरिन्थ्यो, अहिलेका त न रोधी बस्छन्, न पुराना गीत गाउँछन्, यसले गर्दा पुराना संस्कृति भोकेका गीत हराए, हाम्रो पालामा मोबेल, टिभी केही थिएन, के मा गीत सुन्नु ?”