सम्पादकीय
सुन विश्वव्यापी रुपमा बहुमूल्य चिज हो भन्ने कुरामा दुइ मत छैन । र त सुनको भाउ आज पनि प्रति तोला लाख भन्दा बढी छ । तर पनि यसको किनेबेचमा कमी आएको छैन । सुनको बैध खरिद बिक्रीमा मात्र होइन, सुनको अबैध आयात, खरिद बिक्री र भ्रष्टाचारमा पनि डरलाग्दो अवस्था दैनिक सार्वजनिक तथ्य र तथ्यांकहरुले देखाइहरेको छ । एक सय क्वीन्टल सुन प्रकरण होस् या प्रसिद्ध पवित्र पशुपतिनाथको जलहरी गायब प्रकरण होस् या अहिले पनि दैनिक अबैध सुन सहित पक्राउ परिरहेका घटना र समाचार होस् । यी सबैले सुन प्रति मानिसको आशक्ति मात्र होइन, यसबाट छिटो कमाउने लालसाले आफ्ना सारा इज्जत, प्रतिष्ठा लिलामी राखिरहेको पाइएको छ ।
पवित्र धार्मिक स्थल पशुपतिनाथमा त सुनबाट बनाइएको जलहरी गायब हुन्छ, भ्रष्टाचार हुन्छ भने मानिसले अरु कहाँ पाप धर्म सोच्छ होला ? यो निकै गम्भिर विषय र परिदृश्य अहिले देखा परेको छ । पशुपतिमा जलहरी बनाएर १०,९७६ ग्राम टुक्राटाक्री सुन बचेको थियो, जसबाट जलहरीमा राख्न रिङ बनाइएको मुचुल्का छ । तर, रिङ बनाउँदा न छुट्टै मुचुल्का गरियो न तौल खुलाइयो । रिङमा १,४९१.७१८ ग्राम सुन घटाएर चाँदी र तामाको मात्रा बढाउँदै डेढ केजी सुन हिनामिना भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठहर गरेको छ । यो भनेको एक करोड १७ लाख रुपैयाँबराबरको शुद्ध सुन हिनामिना हो । सुनकै चर्चित सय क्विन्टल सुन तस्कर प्रकरणको तीन महिना पछि अहिले बल्ल उच्च स्तरीय छानविन समिति बनाइएको छ । जसलाई अदालतसरह अधिकार, तीन महिना कार्यावधि, कानुनी र संरचनागत सुधारका साथै तस्करीमा संलग्न व्यक्तिमाथि थप अनुसन्धान तथा कारबाहीको सिफारिस कार्यादेश दिइएको छ ।
यी दुई प्रतिनिधि घटना र यसका अनेक आयाम, परिदृश्य हेर्ने हो भने देशमा बेथिति कुन तह र हद सम्म छ ? उदाहरण र दृष्टान्त काफी छ । ‘विदेशबाट इलेक्ट्रिक सिगरेट (भेप)मा तथा २ साउनमा ब्रेकसुमा राखी अवैध पैठारी (तस्करी) गरिएको सुनलगायत पटक–पटक सुन तस्करी भई मुलुकभित्र आइरहेको विषय गम्भीर हो । जसको स्वतन्त्र र निष्पक्ष अनुसन्धान, छानबिन अपरिहार्य छ । सरकार, यसका निकाय भित्रै बिद्यमान कमिसन, घुसखोर प्रवृत्तिले विमानस्थल बाहिर आएर मात्रै तस्कर पत्ता लाग्नुले यसमा ठुलो सञ्जाल र सेटिङ छ । पशुपति जलहरी प्रकरणमा पनि नियोजित रुपमा सुन गायब पारिएको छ । यसरी देश माथि कर्मचारीको भेषमा धावा बोल्ने र भित्र भित्रै खोक्रो बनाउने खेल भएको छ । अब पनि सरकारले यी र यस्ता विषयमा कडाइका साथ कदम नचाल्ने हो भने, पक्राउ परेकालाई पनि बिभिन्न दबाब र बाहनामा छोड्दै जाने हो भने त्यसले भोलिका दिनमा सुन तस्कर र अनियमितता मात्र होइन, अझ खुलेआम देश लुट्ने पात्र र प्रवृत्तिको बोलवाला हुनेछ ।