ढोरपाटनमा व्यवसायी : एक सुखद संकेत

सम्पादकीय
उद्योगी व्यवसायीको साझा र छाता संगठन हो उद्योग बाणिज्य सघं । यसकै पुरानो मध्येको एक शाखा हो बागलुङ । यसले जिल्लाको व्यवसायिक प्रवद्र्धन र व्यवसायीको हकहितका खातिर उल्लेख्य कार्य गर्न नसकेको आरोप छ । उद्योग बाणिज्य सघंलाई जिल्लामा प्रमुख जिल्ला अधिकारी या प्रहरी प्रमुख या अरु कुनै उच्च पदस्थ कर्मचारी आउँदा स्वागत र जाँदा विदाई गर्नमा केन्द्रित गरेको आरोप विगत लामो समयदेखि लाग्दै आएको छ । उसो त उद्योग बाणिज्य सघंले महोत्सवदेखि अरु केही रचनात्मक कार्य भने जरुर गरेको छ । तर, यसको नेतृत्वका लागि उद्योगी व्यवसायी बिच हानथाप हुन्छ । दलिय देखि अरु बिभिन्न कारणले प्यानलगत रुपमा चुनाव नै हुन्छ । नेतृत्व लिने बेला अनेक कसरत गरेर बिजयी भए पनि कार्यकाललाई सम्झन लायक काम गर्नमा भने नेतृत्व पटक पटक चुक्दै आएको छ ।

बागलुङ उद्योग बाणिज्य सघंको केही महिना अघि सम्पन्न अधिवेशनमा नेतृत्वका लागि तिब्र हानथाप चल्यो । समूहगत निर्वाचनमै जाने चर्चा परिचर्चाका बिच अन्ततः नरेश कंडेलको नेतृत्वमा सर्वसम्मत रुपमा कार्यसमिति चयन भयो । नेपाल पत्रकार महासंघका अध्यक्ष समेत रहेका कंडेल महासंघको नेतृत्व कौशलमा फिक्का देखिए पनि उद्योग बाणिज्य संघको अध्यक्षको भुमिकामा भने एक कदम र कार्यक्रमले पृथक देखिने संकेत गरेका छन् । सम्भवतः जिल्लाको इतिहासमै पहिलो पटक नेपाल उद्योग बाणिज्य सघंको केन्द्रीय कार्यकारिणी बैठक नेपालकै एक मात्र सिकार आरक्ष ढोरपाटनमा गरियो । प्रचुर सम्भावना भएर पनि पूर्वाधार र प्रचारप्रसारको अभावमा ओझेलमा परेको ढोरपाटन क्षेत्रको प्रचार गर्ने उद्देश्यले महासंघको तेस्रो बैठक बागलुङ उद्योग बाणिज्य संघको आतिथ्यता, ढोरपाटन उद्योग बाणिज्य संघको संयोजनमा गरियो, जसले ग्रामिण क्षेत्रको विकास, पर्यटन पूर्वाधार र प्रवद्र्धनमा महत्वपूर्ण टेवा पुग्नेछ नै, निजी क्षेत्रको सबैभन्दा ठूलो संगठन नेपाल उद्योग वाणिज्य महासंघले संस्थागत सदस्यहरुमा अपनत्वको भावना र ढोरपाटन प्रति आकर्षण र भ्रमण उत्सुकता पैदा गरेको छ । स्थानीय तहमा लगानी वृद्धि गर्न देशका ठूला व्यवसायीलाई जोड्ने लक्ष्यसहित महासंघको बैठकहरु देशको ग्रामिण क्षेत्रमा गर्ने कार्यले आशाको सञ्चार समेत गराएको छ । यस बैठकबाट लिइएको देशका ७ वटै प्रदेशमा लगानी सम्मेलन गर्ने निर्णय समेत आफैमा महत्वपूर्ण छ ।

बागलुङको मात्र नभइ नेपालकै एक महत्वपूर्ण पर्यटकीय गन्तव्य हो ढोरपाटन । जहाँ देशभरका उद्योग व्यवसायीका केन्द्रीय स्तरका नेताहरुको आगमन हुनुले केवल भौतिक उपस्थिति मात्र जनाउदैन, यस क्षेत्रको पर्यटकीय विकास, व्यावसायिक सम्भावना, पूर्वाधार लगायतका विषयमा नजिकबाट नियाल्ने अवसर समेत मिल्यो । अहिलेको आर्थिक मन्दीको कठिन समयमा ढोरपाटनमा नेपाल उद्योग बाणिज्य संघले कार्यकारिणी बैठक आयोजना गर्ने प्रस्ताव हार्दिकतापूर्ण हिसाबले स्वीकार गर्नु पनि जिल्लाका लागि सुखद कुरा हो । ढोरपाटनमा आवश्यक पर्यटकीय पूर्वाधार, सुविधा सम्पन्न होटल सहित अन्य व्यवसायीक लगानी भित्राउन बैठक र प्रतिष्ठित उद्योगी व्यवसायीको उपस्थितिले सहयोग पु¥याओस् । हुन त एउटा केन्द्रीय कार्यकारिणी बैठक आयोजनाले ढोरपाटनको विकासमा धेरै चिज हुन्छ भन्ने कुरा होइन तर, यो कदम र अभियान भोलिका लागि सुखद सुरुवात र एक कोशे ढुंगा बन्न सक्छ । उद्योग बाणिज्य संघले आज जे पहल र प्रयास ग¥यो, यी र यस्ता पहल प्रयासहरु निरन्तर भइरह्यो भने ढोरपाटन र सिंगो जिल्ला पर्यटकीय तथा व्यावसायिक सम्भावनाका हिसाबले लगानी भित्राउने अवस्था र अवसर बन्न सक्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *