चिसो बढेपछि बेसी झरे भेडीगोठ

डम्मर बुढा मगर, बागलुङ
जेठ महिनामा लेक चढेका भेडीगोठ धमाधम बेसी झर्न थालेका छन् । लेकबाट भेडीगोठ बेसी झर्न थालेपछि बागलुङको निसीखोला, तमानखोला र ढोरपाटन क्षेत्रका खाली जग्गा सेताम्मे भेडाबाख्राका बथानले ढाकिएका छन् । लेकमा जाडो बढ्न थालेको र चाडबाड नजिकिएसँगै भेडीगोड बेसी तिर झारिएको हो । जेठ पहिलो सातदेखिनै लेक उक्लिएका भेडीगोठ असोज पहिलो सातादेखिनै बेसी झरि रहेका छन् । करिब पाँच महिना लेकमा बसेर उनीहरु बेसी झरेका हुन् । बर्खाको समयमा बेसीमा घाँस अभाव हुने र लेकमा प्रसस्त पाइने हुँदा भेडी गोठाले हरेक वर्ष लेक–बेसी गर्ने गर्छन् ।

पश्चिम बागलुङको माथिल्लो क्षेत्रका अधिकांश किसान भेडाबाख्रा पालनमा आवद्ध रहेको हुँदा लेकबेसी गर्नु उनीहरुको परम्परानै हो । एकै परिवाले दुई सयदेखि एक हजार बढीसम्म भेडा पाल्दै आएका छन् । गोठालाहरु हप्तौँको यात्रा गरेर बुकी चढ्ने र बेसी झर्ने गर्छन् । बेसीमा भन्दा बुकी क्षेत्रमा भेडाबाख्राका लागि चरन क्षेत्र र पोषिलो घाँस पर्याप्त पाइने हुँदा जेठदेखिनै लेक चढ्न थाल्छन् । यतिबेला तिलाचन, रिग, पातीहाल्ने, सोलेडाँडा, भर्कोबाङ जगायतका क्षेत्रमा भेडाको ठूलो बथानहरु भेटिन्छन् । यो समय भेडाबाख्रा बेच्ने सिजन भएको हुँदा गोठालाहरु बेसी झरेर बजार तिर लाग्ने गर्छन् । बेसी झरेका गोठालेहरु अब केही दिनमै मुख्य–मुख्य सहरसम्म हप्तौँ दिन हिँडेर भेडाबाख्रा बेच्न जाने गर्छन् ।

बर्खाभरी लेकमा पोषिलो घाँस खाएर सप्रिएका खसी, बोका र भेडाको मूल्यसमेत राम्रो पर्ने हुँदा एउटै भेडापालक किसानले वार्षिक लाखौँ आम्दानी गर्ने गरेका छन् । बेसी झरिसकेका गोठालालाई बजारमा कुन–कुन खसी, बोका र भेडा लैजाने भनेर छनोट गर्न भ्याइनभ्याइ छ । उनीहरु अब केही दिनमै भेडा चराउँदै बेच्नका लागि केही बुर्तिबाङ, खर्बाङ, गुल्मीको वामी, रिडी, पाल्पा हुँदै बुटवलसम्म पुग्छ भने कोही गलकोट, बागलुङ, पर्वतको कुश्मा हुँदै पोखरासम्म पुग्ने तयारीमा छन् । गत बैशाखमा परेको बेमौसमी हिमपातले भेडा मर्दा यस वर्ष ठूलो नोक्सानी व्यहोर्नु परेको निसीखोलाका प्रेमबहादुर बुढा मगरले बताउनुभयो । चैतको अन्तिम साता लेकमा भेडा लिएर गएको भन्दै लेकमा पुगेको केही दिनमै लगातार एक सातासम्म परेको वर्षा र हिमपातले आफ्ना १७ वटा भेडा मरेको बताउनुहुन्छ ।

चिसोले भेडाहरु मर्दा एक सातामै साढे तीन लाखको नोक्सानी गरि दिएको भन्दै यस वर्ष थोरै मात्र भेडा विक्रीका लागि बजार लैजाने उहाँले बताउनुभयो । आफू असोज ९ गते बेसी झरेको भन्दै असोज अन्तिम सातासम्म गुल्मीको रिडी पुग्ने गरि तयारी रहेको बुढा मगर बताउनुहुन्छ । दसैंको सिजन सुरु हुन थालेको हुँदा लेकमा भएका सबै गोठालाहरु बेसी झरि रहेको उहाँको भनाइ छ । अब जेठसम्म बेसीमै रहने बुढा मगर बताउनुहुन्छ ।

“चाड पर्व पनि आउन थाल्यो, लेकमा चिसो पनि बढ्दै गएको हुँदा गोठ बेसी झारेका हौँ, अरुले पनि झार्दै छन्, अबको एक सातासम्म सबै भेडीगोठ तल झरि सकेका हुन्छन्, भेडाले धेरै चिसो खटाउन सक्दैनन्, बैशाखमा हिउँले धेरै मरे, फेरि पनि मर्लान् भन्ने डरले अल्ली छिटो झारेको हुँ” बुढा मगरले भन्नुभयो – “यसपाली पोहोर परार सालको जति त छैनन्, कम भए पनि दसैँका लागि बेच्न जानु पर्छ, केही दिनमै बजार जानु पर्छ, कति विक्री गर्ने भन्ने एकिन गरेको छैन, अहिलेको साल रिडीसम्म पुग्ने योजना बनाएको छु ।”

भेडापालक बलबहादुर घर्ती मगरले यस वर्ष भेडा बेसी झर्ने समय वर्षा हुँदा समस्या खेप्नु परेको बताउनुभयो । असोज ११ मा बेसी झर्न थालेको भन्दै वर्षाले गर्दा १७ गते मात्रै गाउँ झरेको सुनाउनुभयो । बुकी चढ्न एक साता लाग्ने गरेको भन्दै बेसी झर्न तीन दिन लागेको घर्ती मगरको भनाइ छ । करिब ४७ सय मिटरको उचाइमा अवस्थित बुकीमा ह्वात्तै चिसो बढेको उहाँले बताउनुभयो । अहिले आफ्ना रैथाने जातका ७० बोका तथा बाख्रा र करिब एक सय भेडा रहेको घर्ती मगरको भनाइ छ ।

उहाँले भन्नुभयो – “म जेठ महिना लाग्दा बित्तिकै बुकी गएको हुँ, बीचमा एक पटक बिरामी भएर साउन तिर गाउँ झरेको थिए, त्यसपछि अहिले आएँ, पहिले–पहिले त बुकी चढेपछि एकै पटक दसैँ लाग्ने बेला झर्ने गर्थे, यो वर्ष धेरै भेडाबाख्रा विक्री गर्दैन, १५÷१७ वटा मात्रै गर्ने योजना बनाएको छ, पहिला त मैले एकै लटमा ४० वटासम्म भेडा बेचेको छु, राम्रो आम्दानी हुन्थ्यो, त्यसैले घर खर्च चलाउँदै आएको छु, अब जेठ महिना लागेपछि मात्रै लेक लाग्ने हो, त्यस बेलासम्म यि सम्पत्ति सबैलाई यही पाल्ने हो, डाले घाँस, पिठो खुवाएर पाल्नु पर्छ ।”

स्थानीय कुलबहादुर विकले पछिल्लो समय भेडापालन गर्नेको संख्या कम हुँदै गएको बताउनुभयो । आफूहरुले धेरै भेडाबाख्रा पाल्न नसक्ने र युवा पुस्ताले यस तर्फ चसो नदिँदा भेडागोठालेको संख्या घट्दै गएको बताउनुभयो । ६७ वर्षीय विकले पहिले आफूले ८०० सम्म भेडापालेको अनुवभ सुनाउँदै अहिले डेढ सय मात्रै रहेको सुनाउनुभयो । आफ्ना दुई भाई छोरा र एउटी छोरी भए पनि उनीहरुले भेडापालनमा चासो नदिएको उहाँको भनाइ छ ।

“यही साता बेसी झारेको हुँ, यतिका सम्पत्ति छन्, छोराछारीले चासो दिदैनन्, मैले सक्न छोडे, पहिले लेक जाने र झर्ने बेला बाटो पाइँदैनथ्यो, भेडाको बथानले गर्दा, गोठालाहरु पनि थुप्रै हुन्थे, बुकी पुरै भेडाका बथाले ढाकिन्थ्यो, तर अहिले त आधाको आधा भएको छ,” उहाँले भन्नुभयो – “म त सानै उमेरदेखि भेडा गोठालो गर्न थालेको हुँ, अहिलेका त सहर बजार बस्ने भन्छन्, भेडाबाख्रा पाल्दैनौँ भन्छन्, नपाले कसरी जीवन चल्छ र ?, हामी त सक्दासम्म पाल्ने भन्छौँ ।”

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *