‘खराब’ जनप्रतिनिधि, बदनाम व्यवस्था

सम्पादकीय
यो देशमा जनताको अभिमतबाट निर्वाचित भए पछि देखिने अनुभूति हुने गरी काम गर्ने जनप्रतिनिधि कति छन् ? के ७५३ पालिकाको स्थानीय सरकार यसमा काबिल देखिएका छन् त ? अवश्य छैनन्, परिवर्तित व्यवस्थामा जनअपेक्षा अनुसार काम नगरेकाले जनतामा तिब्र आक्रोश, गुनासा छन् । सीमित जनप्रतिनिधिहरुले मात्रै असल नियत र प्रयासमा केही अनुभूति हुने खालका काम गरिरहेका छन्, जनताको मन जितिरहेका छन् । यसमा स्वतन्त्रबाट उम्मेदवारी दिएर जितेका काठमाडौंका मेयर बालेन शाह, धरानका मेयर हर्कराज साम्पाङ, धनगढीका मेयर गोपाल हमाल लगायत चर्चामा छन् । तर, राजनीतिक दलबाट निर्वाचित भएकाहरु भने खासै चर्चा, प्रशंसा हुने गरी काम गर्न सकेका छैनन् ।

बागलुङ जिल्ला पनि यस्तो जिल्ला हो, जहाँका जनप्रतिनिधिका कारण सिंगो देशको व्यवस्था र जनप्रतिनिधि बदनाम हुनु परेको छ । कुनै बेला पैसा बाँडेर जयजकार गरिएका ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली सहकारीका नाममा ठगी गरेर फरार भए पछि अहिले घृणा र आक्रोश तिब्र छ । तर, सरकारले अहिले सम्म उनी कुन देशमा, कुन अवस्थामा छन् ? केही पत्ता लगाउन सकिरहेको छैन । यता, सहकारीमा बचत गरेका सर्वसाधारण जनता लाखौं रकम डुबे पछि भोक निद्रा सबै हराएको अवस्थामा छन् । यही कारण कति व्यक्ति र परिवारको सम्बन्धमा चिसोपन मात्रै होइन, बिघटनको अवस्था सिर्जना भएको छ । दुःख र मेहेनत गरेर आर्जन गर्दै जोगाएको पैसा खाएर मेयर नेपाली फरार भए पछि बचतकर्ता डिप्रेशनको सिकार समेत भएका छन् । पश्चिम निसीखोला गाउँपालिका अध्यक्ष लागुऔषध गाजा मुद्वामा दोषी ठहर भएका छन् । गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीलाई लागुऔषध गाँजाचरेस (लागूऔषध नियन्त्रण ऐन, २०२३) अन्तर्गत ३ तीन वर्ष छ महिना कैद फैसला भएको छ । उच्च अदालत पोखरा, बागलुङ इजलाशको फैसलाले जिल्ला अदालत बागलुङकै फैसलालाई सदर गर्दै गाउँपालिका अध्यक्ष घर्तीलाई कैदसँगै ५० हजार रुपैयाँ जरिवाना फैसला गरेको हो । हाल गाउँपालिका अध्यक्ष रहेका रहेका घर्ती निसीखोला ६ को वडाध्यक्ष हुँदा २०७७ असार १२ गते ८० केजी गाँजासहित आफ्नै घरबाट पक्राउ परेका थिए ।

जिल्लाका एक कथित वाहवाही पाएका मेयर ठगी पश्चात फरार र अर्को लागुऔषध मुद्धामा कैद र जरिवारको फैसला सार्वजनिक छ । यी दुई घटनाले जनप्रतिनिधि त बदनाम छन् नै, अहिले बिद्यमान संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था समेत फगत बदनाम भइरहेको छ । अब जनताले पनि सोच्नुपर्ने र समीक्षा गर्नुपर्ने बेला भएको छ, हामीले कस्तो जनप्रतिनिधि जितेर पठायौ ? के खराब उम्मेदवार मध्ये राम्रो रोजेको कि बिभिन्न दबाब र प्रभाबमा राम्रो छोडेर खराब रोजेको हो ? तत्कालीन समयमा जे जस्ता कारण, परिवेश र परिस्थितिले ढोरपाटनको मेयर र निसीखोला गाउँपालिकाको अध्यक्ष चुनिए पनि यिनीहरुको नियत गलत भएको कुरा अब छिपेन । निसीका पालिका अध्यक्षलाई त अदालतले नै सजाय किटान गरिसकेको छ, सो अनुसार भोग्लान् । तर, सयांैं सर्वसाधारणको पैसा झ्वाम पारेर फरार ढोरपाटनका मेयर नेपालीको खोजीमा सरकार किन उदासीन छ ? यो निकै रहस्यको गर्भमा छ । यसको यथार्थ खोजी र सार्वजनिकमा सरकारले अब ढिलाई नगरोस् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *