बडा दसैँको रमझम र पिरलो

सम्पादकीय
नेपाली समुदायका माझ चाडपर्वहरुको लहर छाएको छ । विशेषतः हिन्दु धर्मालम्बीले धुमधामका साथ मनाउने बडादसैँ आइतबारदेखि सुरु भएको छ । पहिलो दिन घटस्थापनामा विजयादशमीको दिन लाउने जमारा राखिएको छ । बडादसैँ सुरु हुँदै गर्दा वर्षभर सुनसान जस्तो रहेका गाउँ घरमा चहल पहल बढेको छ । देश भित्रै अध्ययन, पेशा, व्यवसाय लगायतको शिलशिलामा शहर झरेका मानिसहरु देखि अध्ययन र बैदेशिक रोजगारका लागि परदेश पुगेकाहरु समेत धमाधम पुख्यौंली थातथलो फर्किने क्रम जारी छ । गाउँमा पिङ चमच्चादेखि अनेक रंग र रमझम सुरु भएको छ । उसो त शहर बजार भने बिजया दशमीको दिन नजिकिँदै क्रमशः खाली र सुनसान बन्ने गर्दछ ।

दसैंको घटस्थापना सँगै प्रसिद्ध बागलुङ कालिका भगवती मन्दिरमा पुजाअर्चना गर्नेको भिड लाग्न थालेको छ । देशभरबाट भक्तजन पुग्दा कालिका मन्दिरमा दसैंको रौनक देखिएको छ । प्रसिद्ध शक्तिपिठ भएकोले दसैँ र चैतेदसैँमा यहाँ धेरै भक्तजन आउने गर्छन् । दसैंका लागि भनेर मुस्ताङी च्याङ्ग्रा खसी धमाधम आउन थालेको छ । कोसेलीका लागि र दशैंमा च्यांग्राको मासु खाने पुरानो प्रचलन हो । पहिले हिमाली जिल्लाको सीमा नाका हुँदै चीनबाट ल्याइने गरे पनि यसवर्ष भने उताबाट आएन । मुस्ताङबाटै च्यांग्रा थोरै मात्र निर्यात भएको छ । जसका कारण मुल्य आकासिएको छ । उसो त यसपटक एकातिर आर्थिक मन्दीको समस्याले पहिले जस्तो दसैको रौनकता छैन । अर्को तर्फ चरम रुपमा बढेको महँगीले गरिब, विपन्न, श्रमिक मजदुर बढी मारमा छन् । यसपटकको दसैंको खर्च के कसरी जोहो गर्ने भन्ने पिरलो सर्वत्र देखिएको छ ।

दसैँ भन्न साथ हरेकजसो मानिसमा छुट्टै उत्साह र खुसीको सञ्चार हुने गर्दछ । दसैँ मान्नेहरुका लागि त स्वभाविक खुसीको विषय हुने भयो नै, अरु धर्मालम्बीहरु पनि यस अवधिमा लामो विदा भएकाले दसैंलाई भिन्न रुपमा सेलिब्रेसन गर्दछन् । बडादसैँ मात्र होइन, अब लगत्तै दीपावली, छठ, नेपाल संवत लगायतका पर्व पनि सन्निकट छ । तर, यस्ता पर्वको सम्मुखमा आर्थिक मन्दीको मार एकातर्फ छ भने अर्को तर्फ दैनिक उपभोग्य सामग्री देखि अरु सामानको मुल्यमा चरम बृद्धि गरिएको छ । यसतर्फ सरकारले प्रभावकारी कदम चाल्न सकेको छैन । दसैंको सम्मुखमा केही अनुगमनहरु त संघीय र स्थानीय सरकारका तर्फबाट भइरहेका छन् । तर, यसरी गरिने अनुगमन पनि खासै प्रभावकारी बन्न सकेको छैन । बिभिन्न स्वार्थ समूहको चलखेल रोकेर मुल्यबृद्धि नियन्त्रणमा पनि सरकार चुकिरहेको छ । दसैँको रमझम सुरु हुँदै गर्दा दैनिक काम गरेर विहान बेलुकी हातमुखी जोड्नेहरुको पिरलोमा पनि सरकार संवेदनशील बन्नुपर्छ । सबै नागरिकलाई दसैँ हासी खुसी साथ मनाउने बातावरण बनाउन सरकारका साथै नागरिकले पनि असल नागरिकको दायित्व निर्वाह गर्नुपर्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *