ठेकेदारले अलपत्र पारेको सडक श्रमदानद्वारा मर्मत


खेमराज गौतम, बागलुङ

बागलुङको काठेखोला गाउँपाकिलाको केन्द्र देखि वडा नम्बर ७ रेश पुग्ने सडक पछिल्लो एक वर्षदेखि अलपत्र थियो । सोलिङ गरेर ढलान गर्न रड समेत विच्छाएको सडक निर्माण कम्पनी सम्पर्क बिहीन बनेपछि अलपत्र परेको थियो ।

चाडवाडको मुखमा अलपत्र सडकले दुर्घटनाको जोखिम निम्ताएको भन्दै स्थानीयले श्रमदान गरेर सडक मर्मत गरेका छन् ।

एक वर्ष अघि रेहको रेशको कुँवरचोक मुहान भन्ने ठाउँमा सडक ढलानका लागि ठेकेदारले विच्छाएको ढुङ्गा र रडका कारण दुर्घटनाको जोखिम निम्ताएको भन्दै रड हटाएर पुनः सोलिङ गरिएको हो ।

घुम्ती र उकालो सडकमा सोलिङ र विच्छाएको रडमा एक वर्षसम्म ढलान नभएपछि स्थानीयको सक्रियतामा सडक मर्मत गरिएको काठेखोला गाउँपालिका–७ रेशका वडा अध्यक्ष प्रेम लामिछानेले बताउनुभयो ।

“२०७७ सालमा ठेक्का सम्झौता भएको सडक अहिलेसम्म कालोपत्रे भएन, उल्टै सडकमा बिच्छाएको रडले दुर्घटनाको जोखिम बढ्यो, ढलान हुन्छ कि भनेर एक वर्ष कु¥यौ, निर्माण कम्पनी सम्पर्कमै नआएपछि स्थानीयको श्रमदानमा सडकमा बिच्छाइएका रड हटाएर सोलिङ गरेका छौं” वडा अध्यक्ष लामिछानेले भन्नुभयो “दुई दिनको श्रमदानमात्रै १०० मिटर सडक सोलिङ गरेर मर्मत गरेको र अन्य १५० मिटर भन्दा बढी सडक पहिलै मर्मत गरिसकेको छ ।”

ठेक्का सम्झौता भएको उक्त सडक मर्मत गर्न वडामा बजेट नभएकोले श्रमदान मार्फत सडक मर्मत गरिएको हो । स्थानीय प्रेम कार्की र नेत्र शर्मा सहित १२ जनाको दुई दिनको श्रमदानमा सडक मर्मत गरिएको हो ।

अहिले सडक ढलान र कालोपत्रे लागि थप गरिएको सम्झौता मिति सकिएको छ भने निर्माण व्यवसायी सम्पर्कमा नआएको स्थानीयको गुनासो छ ।

स्थानीयले सडक कालोपत्रे नगरेर अलपत्र छोड्ने निर्माण व्यवसायीको ठेक्का रद्दकोलागि काठेखोला गाउँपालिका समक्ष पटक पटक माग गर्दै आएका छन् ।

स्थानीयले ठेक्का रद्दको माग सहित रेशका वडा अध्यक्ष प्रेम लामिछाने, वडा सदस्य तथा स्थानीयहरुले काठेखोला गाउँपालिकामा ज्ञापन पत्र समेत गत असारमा बुझाएका थिए । निर्माण व्यवसायीलाई कानूनी दायरामा गाउँपालिकाले ल्याउन नसकेको स्थानीयको आरोप छ ।

रेश जाने चार किलोमिटर सडक कालोपत्रेको जिम्मा पाएको निर्माण व्यवसायीले सडक अलपत्र छोडेपछि स्थानीय तथा जनप्रतिनिधिलेनै श्रमदान गरेर मर्मत गरी चाडवाडको समयमा सहज तरिकाले यात्रा गर्न मिल्ने बनाएका हुन् । वडा कार्यालयले अन्य स्थानमा कच्ची नाली काट्ने, खाल्टा पुर्ने काम गरेपनि २५० मिटर उकालो सडम स्थानीयको सक्रियतामा मर्मत गरिएको हो ।

२०७७ सालमा ठेक्का सम्झौता गरेको निर्माण व्यवसायीले म्याद थप्दा समेत कालोपत्रेका लागि कुनैपनि काम गर्न नसकेको स्थानीय गोबिन्द बहादुर कार्कीले बताउनुभयो ।

संघीय सरकार र स्थानीय काठेखोला गाउँपालिकाको साझेदारीमा चार किलोमिटर सडक कालोपत्रे गर्न रु. नौ करोड लागत अनुमान गरिएको सडकको कालोपत्रकोरु. ६ करोड ७१ लाखमा २०७७ सालमा ठेक्का सम्झौता भएको थियो ।

दुई वर्षमा सडक कालोपत्र सक्ने गरी एक्लेखेतदेखि काफलबोटसम्मको सडक कालोपत्रको जिम्मा पाएको जोशी÷निशान÷आचार्य जेभीको २०७९ साल जेठ २६ गते म्याद सकिएपछि पुनः २०८० साल असार मसान्तसम्म म्याद थप गरेको थियो । तर उक्त थप गरेको म्यादभित्र समेत निर्माण व्यवसायीले काम नथालेपछि रेशका स्थानीयहरु निर्माण व्यवसायी प्रति आक्रोशित हुँदै आएका छन् ।

ठेक्का सम्झौता पश्चात् सडक चौडा पार्ने, नाली बनाउने कार्य गरी सडकको जम्मा ४५ प्रतिशत मात्रै काम मात्रै सकेर निर्माण व्यवसायी सम्पर्क बिहिन भएको हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *