मुलपानी दुग्ध उत्पादक सहकारीको अध्यक्षमा हमाल

आदर्श अनलाइन, बागलुङ
मुलपानी दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड, बानपा–३, बागलुङको २२ औं वार्षिक साधारणसभा बुधवार सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन राष्ट्रिय सहकारी महासंघका सञ्चालक एवं जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष हुमा कुमारी जिसी (अञ्जु) ले गर्नु भएको थियो ।

सो अवसरमा बोल्दै उहाँले गाउँ गाउँका जनतालाई उत्पादनमा केन्द्रीत गरी आयआर्जन गर्नका लागि बागलुङमा दुग्ध सहकारीहरुले खेलेको भूमिका उल्लेखनीय रहेको बताउनुभयो । उहाँले दुग्ध उत्पादक कृषकहरुलाई प्रोत्साहन गर्नका लागि स्थानीय तथा प्रदेश संघीय सरकारले योजना बनाउन आवश्यक रहेको बताउनुभयो ।

उत्पादन बढाउन, उत्पादित वस्तुको संकलन, बजारीकरण र प्रशोधनका लागि राज्यको सहयोग बढाउन सकेमा बागलुङमा दुग्ध व्यवसायले अझ गति लिने भएकाले सरोकारवालाहरुको ध्यान जानु पर्नेमा जिसीको जोड थियो । कार्यक्रममा केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका सञ्चालक एवं बागलुङ दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष दिपक गौतमले दुग्ध सहकारी संस्थाहरुको संस्थागत विकासमा सहयोग गर्न सके जनताको उत्पादन बजार र बजारको पैसा जनताको हातमा पार्न सकिने बताउनुभयो ।

उहाँले धेरै चुनौतीहरुका बीच बागलुङमा सहकारी मार्फत दुग्ध व्यवसायलाई अगाडि बढाएको चर्चा गर्दै यो अभियानलाई कमजोर बनाउन विभिन्न क्षेत्रबाट समय समयमा प्रहार भैरहेको बताउनुभयो । राम्रो काममा साथ दिने भन्दा पनि हतोत्साही गराउने प्रवृति हावी भएको गौतमको भनाइ छ ।

साधारणसभाले राम बहादुर हमालको अध्यक्षतामा नयाँ सञ्चालक समिति सर्वसम्मत चयन गरेको छ । समितिको उपाध्यक्षमा गीता अधिकारी, सचिवमा उपेन्द्र गैरे, कोषाध्यक्षमा अरुणराज गौतम तथा सदस्यहरुमा देवा हमाल, हरि आचार्य, सावित्री खड्का, मित्रराज सापकोटा र टेक बहादुर केसी रहनु भएको छ ।

लेखा सुपरीवेक्षण समितिको संयोजकमा भूमिराज गैरे तथा सदस्यहरुमा सुमित्रा सिलवाल र धनराज गैरे चयन हुनु भएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *