थपिँदै डायलाइसिस मेसिन, मृगौला पीडितलाइ राहत

डम्मर बुढा मगर, बागलुङ
धौलागिरी अस्पताल बागलुङलाई थप पाँच वटा डायलाइसिस मेसिन प्राप्त भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले अस्पताललाई मेसिन उपलब्ध गराएको हो । मृगौलाको रोगबाट पीडित बिरामीहरूलाई सहज रुपमा डायलाइसिस सेवा दिनका लागि मन्त्रालयलाई माग गरेपछि उपलब्ध गराएको बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्तकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

श्रेष्ठले धौलागिरी अस्पतालसँगै बागलुङ नगर अस्पताललाई पनि मन्त्रालयलले आवश्यक औषधी तथा उपकरण गराउने बताउनुभयो । पछिल्लो समय धौलागिरी अस्पतालमा सेवा सुविधा सहज रुपमा प्रदान हुन थालेपछि बिरामीको चाप पनि उत्तिकै बढेको हुँदा सेवालाई थप प्रभावकारी बनाउनका लागि आवश्कय उपकरण माग गरिएको प्रमुख श्रेष्ठको भनाइ छ ।

उहाँले भन्नुभयो – “बागलुङका धेरै बिरामीहरु पहिले पोखरा काठमाडौँ पुगेर उपचारका लागि लाखौँ खर्च गर्नु पर्ने बाध्यता थियो, तर अहिले त्यो बाध्यता हटेको छ, सेवा लिनेको संख्या बढेपछि उपकरण बढी आवश्यक पर्ने देखियो, मन्त्रालयमा पुगेर मन्त्रीसँग माग गरेपछि उहाँले पाँच थान डायलाइसिस मेसिन र अन्य उपकरण उपलब्ध गराउनु भएको छ, उहाँ पनि केही दिनमा बागलुङ आएर यहाँको अवस्था बुझ्नु हुने छ ।”

धौलागिरी अस्पताल बागलुङ मेडिकल सुपरिटेण्डेन्ट डाक्टर रविरञ्जन प्रधानले हाल ४० जना मृगौला पीडित बिरामीले नियमित सेवा लिइरहेको बताउनुभयो । दैनिक तीन चरणमा डायलाइसिस सेवा दिने गरेको भन्दै थप पाँच वटा मेसिन संचालनमा आएपछि बिरामीले घण्टौँ कुर्नु पर्ने अवस्थाको अन्त्य हुने डा. प्रधानले बताउनुहुन्छ । अस्पतालमा हाल पाँच वटा डायलाइसिस मेसिन संचालनमा रहेको बताउनुहुन्छ ।

“अहिले हामीसँग पाँच वटा मेसिन सुचारु रुपमा छन्, ति मेसिनबाट बिरामीले दैनिक सेवा लिइ राख्नु भएको छ, तर उहाँहरुले अस्पताल आउँदा बित्तिकै सेवा पाइ राख्नु भएको छैन, केही बेर (वेटिङ) गर्नु पर्ने अवस्था छ,” मेडिकल सुपरिटेण्डेन्ट प्रधानले भन्नुभयो – “अब त्यो अवस्था आउने छैन, सेवा थप प्रभावकारी हुने छ भने बिरामीले तुरुन्तै सेवा पाउनुहुने छ, बिरामीको गुनासो पनि आउने छैन, हामीहरुले पनि सक्दो चाँडो सेवा दिएर उहाँहरुलाई खुसी बनाउने प्रयास गर्ने छौँ ।

धौलागिरी अस्पतालमा वि.सं. २०७६ सालदेखि निरन्तर डायलाइसिस सेवा प्रवाह हुँदै आएको डा. प्रधानले बताउनुभयो । पछिल्लो समय अस्पतालमा सेवा लिने बिरामीको संख्या पहिलेको तुलनामा झण्डै दोब्बर भएको अस्पतालले जननाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *