‘सहकारीमा देखिएका समस्या भन्दा हल्ला बढी भयो, सदस्यहरुका बीचमा जाउ’


आदर्श अनलाइन, बागलुङ

वित्तीय क्षेत्रको संकटका कारण हरेक क्षेत्रमा समस्या देखिएको र त्यसको असर सहकारी क्षेत्रमा समेत परेको बागलुङमा आयोजित एक कार्यक्रमका सहभागीहरुले बताएका छन् ।

सहकारी विभागले बिहीवार आयोजना गरेको सहकारी संघ संस्थाका व्यवस्थापकहरुका लागि सम्पत्ती शुद्धिकरण विषयक प्रवोधीकरण कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन् ।

वित्तीय क्षेत्रको असर हरेक क्षेत्रमा परेको छ तरसहकारी क्षेत्रमा मात्रै परेको जस्तो गरी बजारमा प्रचार भएको सहभागीहरुको भनाइ छ । केही सहकारीहरुले नियम विपरित काम गरे, केही सहकारीहरुका सञ्चालकहरु वचतकर्ताको रकम भुक्तान नगरेर वेपत्ता भए, केही सहकारीका कारण सबै सहकारी खराव हुन् भन्ने तरिकाले प्रचार भएको गुनासो सहभागीहरुको छ ।

बागलुङमा इमेज वचत तथा ऋण सहकारी संस्था र शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाका सञ्चालकहरु सम्पर्क विहिन भएका छन्, ति सहकारीले वचतकर्ताको रकम फिर्ता नगरेको विषयलाई लिएर आफ्ना सदस्यहरुसंग कारोबार गरेका, आफ्ना सदस्यहरुलाई ऋण लगानी गरेका सहकारीहरुका बारेमा पनि गलत प्रचार भएको सहभागीहरुको भनाइ थियो ।

कार्यक्रमका सहभागीहरुले सहकारीमा जम्मा भएको वचत रकम फिर्ता नगरेर सम्पर्क विहिन हुने सञ्चालकहरुलाई कार्वाहीको माग गर्नुका साथै सहकारीबाट ऋण लगेर नतिर्नेहरुलाई पनि सस्थाका तर्फबाट सहज रुपमा कार्वाही गर्न सकिने गरी कानुनमा संशोधन गर्नु पर्नेमा जोड दिएका थिए ।

कार्यक्रम समापनका क्रममा बोल्दै बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले सहकारीलाई समुदायको आर्थिक सामाजिक रुपान्तरणका लागि बढी भन्दा बढी उपयोग गर्नका लागि यसमा आवद्ध सञ्चालक, व्यवस्थापन र शेयर सदस्यहरुको सक्रियता र गतिशिलता आवश्यक रहेको बताउनुभयो ।

संसारमा सबै भन्दा उन्नत खालको लोकतन्त्रको अभ्यास सहकारी क्षेत्रमा मात्रै भएको चर्चा गर्दै बरालले सहकारीलाई बलियो बनाउन राज्यका सबै क्षेत्रको सहयोग र समन्वय आवश्यक रहेको बताउनुभयो ।

सहकारी विभागका उपरजिष्ट्रार टोलराज उपाध्यायले सहकारीमा जति समस्या छ, त्यो भन्दा बढी प्रचार भएका कारण सबै सहकारी खराव हुन कि ? भन्ने आशंका देखिएको बताउनुभयो । उहाँले सहकारीको साख बढाउन, सहकारी प्रति देखिएको नैरास्यता हटाउन तथा सहकारीमा देखिएका समस्या समाधान गरी प्रभावकारी रुपमा संस्था सञ्चालनका लागि अभियान र राज्य मिलेर अगाडि बढ्नु पर्ने बताउनुभयो ।

राष्ट्रिय सहकारी महासंघका सञ्चालक तथा जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष हुमा कुमारी जि.सी.(अञ्जु) ले सहकारीमा देखिएको समस्या समाधानका लागि सदस्यहरुका बीचमा छलफल, अन्तरक्रिया र समन्वय आवश्यक रहेको बताउनुभयो । सहकारी जोगाउने सदस्यहरुले हो, चोक चोकमा सहकारी खत्तम भए भन्नेहरुका पछि नलागी आफ्ना सदस्यहरुलाई संस्थाको यथार्थ अवस्था बुझाउन र संस्थामा रहेको रकम सुरक्षित छ र हुन्छ भन्ने प्रत्याभूति दिन आवश्यक रहेको बताउनुभयो ।

बागलुङ नगरपालिका सहकारी शाखाका प्रमुख प्रेम प्रसाद शर्माले सहकारी सम्बन्धी नीति नियमको पूर्ण पालना गर्न सकेमा बाहिर हुने हल्लाले सहकारीमा समस्या नआउने बताउनुभयो ।

कार्यक्रममा सहकारी विभागका उपरजिष्ट्रार टोलराज उपाध्याय, उपसचिव तोपनाथ उप्रेती, शाखा अधिकृत प्रेम शर्माले सहजीकरण गर्नु भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *